३ वैशाख २०८३, बिहिबार

यस कारणले समस्यामा छन् सहकारी ! (सहकारीकर्मीले पढ्नै पर्ने)

२०८० कात्तिक १६, बिहिबार
यस कारणले समस्यामा छन् सहकारी ! (सहकारीकर्मीले पढ्नै पर्ने)

अर्थतन्त्रको प्रणालीगत कारण
कोभिड पश्चात विप्रेषण आप्रवाहको दर घटेका कारण अर्थतन्त्रमा मुद्रा आपुर्तिमा कमी आई अर्थतन्त्रसिथिल हुनु,
अर्थतन्त्रमा देखिएको संकुचनका कारण सहकारी र समग्र बैंकिङ्ग प्रणालीमा समेत भाखानाघेका कर्जाहरु वृद्धि हुनु,
सरकारको पुँजीगत खर्चमा कमी आउनु,
भुक्तानी असन्तुलन र सोधनान्तर घाटाका कारण वित्त प्रणालीमा समस्या सृजना हुनु,
कोभिड लगायतका कारण मुद्रास्फिती दर आर्थिक वर्ष ०७७।०७८ मा रहेको ३.६० प्रतिशतबाट बढेर आर्थिक वर्ष ०७९ । ८० मा ७.७४ प्रतिशतसम्म पुग्नु,
सहकारीको भाखा नाघेको कर्जा मापनको स्थापित प्रणाली नहुनु,
अनौपचारिक क्षेत्र मार्फत विप्रेषण रकम स्थानान्तरण हुनु,
बन्दावन्दी (lockdown ) पश्चात व्यापार व्यवसाय सञ्चालनमा आएपछि कर्जाको माग अत्याधिक बढनु,
कोभिडका कारण गुमेको रोजगारीका अवसरहरु विस्तारै पुरानैलयमा फर्कनेक्रममा रहे पनि पर्यटन तथा यातायात व्यवसायले गतिलिन नसक्नु, आदि ।

अर्थतन्त्रको गैर प्रणालीगत कारण
सहकारी अभियानमा छवि र विश्वास कमजोर भएर जानु,
वित्तीय उत्पादन र सेवाहरुको मूल्य निर्धारणमा समस्या रहनु,
बजारीकरणमा नैतिक अभ्यासको कमी हुनु,
प्रवाहित कर्जामा खराब कर्जाहरु अत्याधिक हुनु,
घर जग्गा जस्ता नकमाउने स्थिर सम्पत्तिमा अत्याधिक लगानी हुनु,
कर्जा व्यवस्थापनमा व्यवहारिकता हेरिनु,
कतिपय संस्थाहरुमा संस्थाका संचालक समिति, लेखा सुपरिबेक्षण समिति एवं व्यवस्थापनमा रहने जिम्मेवार पदाधिकारी / व्यक्तिहरुको स्वार्थ बाझ्ने गरी कर्जा लगानीले समस्यामा पर्नु,
सम्पत्ति तथा दायित्व व्यवस्थापनको कार्यमा प्रक्रियागत जटिलताहरु रहनु,
गुणस्तरको आधारमा कर्जाको वर्गिकरण नहुनु,
ऋण जोखिम कोषको पर्याप्ततामा ध्यान नदिनु,
तरलता जोखिमको मापन नगरी वित्तीय असन्तुलन कायम गर्नु,
सहकारीको नियमित वित्तीय स्वास्थ्य जाँच नहुनु,
बचतको अनुपातमा तरलता कायम गर्ने पर्याप्त र ठोस योजना नहुनु,

नीतिगत कारण
जग्गाको वर्गीकरण र कित्ताकाटमा समस्या देखिदा घरजग्गा कारोबारमा संकुचन भएका कारण तरलता वृद्धि हुन नसक्नु,
कर्जा सूचना केन्द्र स्थापना नभएका कारण कर्जा असुलीको कानुनी प्रक्रिया लम्बिनु,
ऋण असुली न्यायाधिकरणको गठनमा ढिलाई हुनु,
नियामकीय सुपरिवेक्षणमा कमि कमजोरीहरु रहनु,
सन्दर्भ व्याजदर स्वचालित हुन नसक्नु,
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार काठमाडौं उपत्यकाको धितोमा तिस प्रतिशत र उपत्यका बाहिरको धितोमा चालिस प्रतिशतमा त्रैकर्जा प्रवाह गर्न सकिने हुँदा कतिपय अवस्थामा सहकारी संस्थाको कर्जामान बढ्दा तरलतामा चाप परेको,
मुद्राको आपूर्ति कम हुँदै गएपछि बैंक तथा वित्तीय संस्थाहरुले आक्रामक रुपमा बजारीकरण गरे, व्याजदरमा छिटोछिटो परिवर्तन गरे सोको कारण सहकारी संस्थाका सदस्यहरुले सहकारी संस्थामा रहेको बचत अन्यत्र स्थानान्तरण हुने अवस्थाको सिर्जना हुनु,
अन्तर सहकारी कारोबार समेत गरिनु,
सदस्यबन्धनमा (Common Bond) कमी हुनु,
सदस्यहरुलाई प्रदान गर्ने सहकारी शिक्षाका कार्यक्रमहरु प्रभावकारी नहुनु,
वित्तीय कारोवार गर्ने सहकारी संस्थाहरुका लागि पूँजी निर्धारण, वचत र शेयरको अनुपात, सदस्यता लगायत वित्तीय अनुशासन, वित्तीय विश्लेषण, ऋण लगानीमा मार्ग दर्शनका विषयहरु स्पष्ट नगरी समग्र सहकारी संस्थाहरुलाई एउटै कानूनबाट निर्देशित गरिनु,
राज्यले धान्न नसक्ने गरी सहकारी संस्था दर्तामाग गर्नु र मागलाई सुक्ष्म विश्लेषण नगरी संस्था दर्ता गरिनु,
प्रारम्भिक सहकारी संस्थाहरुले धान्न नसक्नेगरी कार्य क्षेत्र माग गरिएको र स्वीकृति दिईएको कारण एकअर्को सहकारी संस्थाको कार्य क्षेत्र माथि अतिक्रमण हुनु
सहकारी संघ/संस्थाहरुका समितिका पदाधिकारीहरु को पदावधि किटान भएपनि अधिकांश नेतृत्व परिवर्तन नहुनु,
स्थिरिकरण कोषमा स्वेच्छिक योगदानको व्यवस्था रहेको कारण सहकारी संस्थाहरु सहभागितामा उदासिन हुनु,
बचत तथा ऋण सहकारी संस्थाहरुको वासलात वमोजिम कूल सम्पतिको आधारमा निश्चित प्रतिशत कोषमा योगदान तोकिनु पर्नेमा जगेडा कोष पछिको नाफाको पाँच प्रतिशत योगदान तोकिनु,
संचालक समितिमा रहेको संरचनागत कमजोरीका कारण कार्यात्मक नहुनुलगायतका कमजोरीले स्थिरिकरण कोष पूर्ण कार्यान्वयनमा ल्याउन नसकिनु,
सहकारी ऐनमा सहकारी संस्थाहरुको अनुगमनमा बहुनिकायहरुको उपस्थिति रहेको कारण जिम्मेवार सवै व्यवहारमा कोही पनि हैन जस्तो देखिनु,
वित्तीय क्षेत्रका सहकारीहरुको निरीक्षण, सुपरिवेक्षण तथा अनुगमनका लागि संघ प्रदेश र स्थानीय गरी तिनवटै तहहरुमा आवश्यकता अनुरुपको संयन्त्र र प्राविधिक जनशक्ति न्यून रहनु,
उत्पादनमा संलग्न सहकारीहरुको लागि उत्पादको बजारीकरण गरी उपभोक्ता सम्मपूर्याउनका लागि सहकारी ऐनसँग बाझेको कानूनहरु परिमार्जन हुन नसक्नु ।
विषयगत सबै सहकारी संस्थाहरुले आफ्नो वित्तीय स्रोतमा बचत संकलनलाई नै केन्द्रीत गरेका कारण वित्तीय संरचनामा असन्तुलन भई समस्या सृजना हुनु, आदि ।

 

बचत तथा ऋण परिचालनमा समस्याका कारणहरु
सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई नियमित र अनिवार्य बचत गर्न लगाउनु पर्नेमा गैर सदस्यहरु समेतबाट ठूलो ठूलो रकमहरु खोजी गरीजम्मागर्नु तथा बचत संकलनमा संस्थाहरु बिचमै अस्वस्थ प्रतिस्पर्धा गर्नु,
सदस्यहरुलाई क्रमिक स-सानो र कम वचत गराउने अभ्यासमा ध्यान नदिनु,
पूँजि निर्माणको नाममा अन्धाधुन्ध र कम जम्मा गर्ने होडवाजीले गर्दा दीर्घकालीन दायित्व भन्दा अल्पकालिन दायित्व बृद्धि भई संस्थाहरुमा जोखिम बढ्नु,
पर्ल्स अनुगमन प्रणाली अनुरुप जगेडा कोषमा रकम कायम नगरी रुग्ण जगेडा कोष अर्थात कूलसम्पत्तिको आधारमा पाँच प्रतिशत भन्दाकम जगेडा कोष रहेका संस्थाहरुको संख्या करिव पचास प्रतिशत भन्दा वढीको संख्यामा रहनु,
केही सहकारी संस्थाहरुले वित्तीय विश्लेषण विना अत्याधिक लाभको लोभमा घरजग्गा र अन्य व्यवसायमा लगानी गरेका कारण संस्थाहरुमा नकमाउने सम्पति अधिक रहनु,
सहकारी संस्थाहरुले ऋणी सदस्यहरुसँग सदस्यहरुले सन्चालन गरेको व्यवसाय एवं ऋण रकमको सदुपयोग बारे यथेष्ट विश्लेषण नगरी विनाधितो ऋण लगानी गरेका कारण ऋण असुलीमा समस्या देखिनु,
एकभन्दा बढी सहकारी संस्थाहरुमा सदस्य बन्नेर संस्थाबाट ऋण लिई अपचलन गरी हिड्ने ऋणीका कारण संस्थाहरुमा तरलता चाप पर्यो यसबाट संस्थाको समग्र वित्तीय स्थितिमा विचलन आएको,
केही सहकारी संस्थाहरुले सदस्यको वचत रकम घर जग्गा लगायतका गैह्र वित्तीय क्षेत्रमा लगानी गर्दा समस्या परेको,
सहकारी संस्था संचालन गर्ने कतिपय सरकारी संस्थाका जिम्मेवार पदाधिकारीहरुमा आफ्नो जिम्मेवारी प्रति बेवास्ता बढनु,
राष्ट्रिय, केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीयस्तरमा समेत राजनीतिक भागवण्डाका आधारमा संचालक समिति निर्माण भई कार्य संचालन गरिनु तथा समितिमा रहने पदाधिकारीहरुको आधारभूत योग्यता निर्धारण नहुनु,
अधिकांश संघ,संस्थाहरुको लेखा सुपरिवेक्षण समिति निष्क्रिय रही नाम मात्रको अवस्थामा रहनु आदि ।

 

व्यवस्थापकीय कमजोरीको कारण
धेरै जसो संघ/संस्थाहरुमा व्यवस्थापनमा रहने कर्मचारीहरु आफ्नो विषयमा दक्ष नहुनु,
अधिकांश संस्थाहरुमा सम्वन्धित विषयको तालीम प्राप्त व्यवसायिक कर्मचारीको अभाव रहनु,
सहकारी संघरसंस्थाहरुका लागि कर्मचारी नियुक्ति सम्वन्धी छुट्टै निकायको व्यवस्था नहुनु आदि ।

सहकारी क्षेत्रमा देखिएका माथि उल्लेखित विविध समस्याहरुका कारण सहकारी संस्थाहरुमा संकट सिर्जना हुन पुगेको अवस्था छ जसले आम नागरिकमा सहकारिताप्रति नै अविश्वास पैदा गरिरहेको छ । यी समस्याहरु समयमानै सम्बोधन गर्न सकिएन भने अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको सहकारी क्षेत्र थप समस्यामा पर्नगई समग्र अर्थतन्त्रलाई नै गम्भीर असर पर्न जाने देखिन्छ ।

(सहकारी सुधार सुझाव कार्यदल २०८० को प्रतिवेदन)

अभिलेख

लोकप्रिय