२३ कात्तिक २०८३, सोमबार

चिसापानी गढी साकोसको चौँथो साधारणसभा सम्पन्न

२०८० कात्तिक १२, आईतवार
चिसापानी गढी साकोसको चौँथो साधारणसभा सम्पन्न

मन्थली : रामेछापको मन्थली नगरपालिका-८, स्थित चिसापानी गढी बचत तथा ऋण सहकारी संस्थाको चौँथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा बुधबार संस्थाका अध्यक्ष कुमार श्रेष्ठको सभापतित्व तथा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

२०७६ सालमा स्थापित चिसापानी गढी साकोसमा हाल ४३७ जना शेयर सदस्य रहेका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष कुमार श्रेष्ठले २०७९/०८० को वार्षिक प्रगती प्रतिवेदन तथा २०८०/०८१ को वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए। उनका अनुसार संस्थाले २०८०/०८१ मा ६१६ जना शेयर सदस्य पुर्याउने लक्ष्य लिएको छ ।

संस्थाको शेयर पूँजी गत आर्थिक वर्षमा ६२ लाख ३४ हजार ४ सय रहेकोमा यस आ.व. मा ६४ लाख १३ हजार ४०० पुर्याउने लक्ष्य लिएको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

त्यसैगरी कार्यक्रममा संस्थाका कोषाध्यक्ष समिल कर्माचार्यले वार्षिक प्रतिवेदन र आगामी प्रस्तावित बजेट प्रस्तुत गरेका थिए । साकोसले २ करोड कारोबार गरेर १० लाख नाफा कमाएको छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले सहकारीले सदस्यको सन्तुष्टिमा ध्यान दिनुपर्ने बताए । सदस्यहरूले पनि सहकारीप्रती उत्तरदायी हुनुपर्ने बताए । उनले वित्तीय साक्षरता विस्तार गर्नुपर्ने बताउँदै सदस्यहरूलाई सहकारीकोबारेमा पूर्ण शिक्षा दिनु अहिलेको आवश्यकता भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष गोपाल श्रेष्ठले सहकारी जवाफदेही र सदस्य उत्तरदायी हुनुपर्ने बताए । उनले सरकारले लिएको समृद्व नेपाल सुखी नेपालीको लक्ष्यलाई सार्थकता तुल्याउन सहकारीले विशेष भूमिका खेल्नुपर्ने बताए।

त्यस्तै रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालले चिसापानी गढी साकोसले आफ्नो स्थापनाकालको तीन वर्षमा नै जिल्लाबाट उत्कृष्ट साकोसमा सम्मानित भएकोमा बधाई दिए । उनले सदस्यको वित्तीय आवश्यकतालाई परिपूर्ति गर्न सक्ने र वित्तीय सुशासन सहितको गुणस्तरीय सेवा दिँदै समुदाय र सदस्यहरूको बीचमा आर्थिक विकासमा टेवा पुर्याउन समुदायको दीगो र सक्षम साकोस बन्न सकोस भन्ने कामना गरेेका थिए ।

साधारण सभाको अवसरमा जेष्ठ शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, असल कर्जाकर्ता, असल बचतकर्तालाई सम्मान गरिएकाे थियाे । त्यस्तै एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका छात्र र छात्रालाई समेत सम्मान गरिएकाे थियाे ।

अभिलेख

लोकप्रिय