सहकारीमा विश्वास जगाउने कसरी ?
स-सानो पूँजीलाई एकीकृत गर्दै बचत परिचालनमार्फत समुदायमा रहेका सदस्यको आर्थिक रुपान्तरणमा सहकारी क्षेत्रको दरिलो उपस्थिती छ । विशेषगरी ग्रामिण भेगमा आर्थिक रुपान्तरणसहित महिला शसक्तिकरण, नेतृत्व विकाससँगै घरेलु तथा साना उद्योग विकास गर्दै आत्मनिर्भर बनाउन सहकारीको भूमिका अतुलनिय छ । यस महत्वलाई आत्मसात गर्दै राज्यले आर्थिक रुपान्तरणको एक दरिलो खम्बाको रुपमा परिकल्पना समेत गरेको छ ।
राज्यले आर्थिक विकास सम्वाहकको परिकल्पना गरेको सहकारी क्षेत्रको उपस्थिती अन्य खम्बाको तुलनामा कमजोर देखिएको छ । सहकारी संघ संस्था सञ्चालनमा भए गरेका कमी कमजोरीका कारण आर्थिक मन्दिको प्रभाव यस क्षेत्रमा बढी देखिएको छ । कोभिड-१९ को विश्वयापी महामारीको समयमा आर्थिक गतिविधिहरु हुन सकेन । कोभिडको मार सेलाउन नपाउँदै रुस-युक्रेनको युद्धले थप मारमा पारेको अवस्था छ । यसले विश्व अर्थतन्त्रमा नै विकराल अवस्था सिर्जना गराएको छ । विभिन्न मुलुकमा द्धन्द्ध र विनासको अवस्थाले अन्तर्राष्ट्रिय रुपमा आर्थिक मन्दि देखा परेको छ भने नेपालमा समेत यसको प्रभाव नराम्रोसँग परेको छ ।
मुलुकमा वित्तीय अवस्थालाई सन्तुलन र स्थिरता कायम गर्न सकिएको छैन । स्थानिय स्रोत साधानको उचित परिचालन गर्दै अर्थतन्त्र सुधारमा आफ्नो भूमिका मजबुद गराउन पर्ने सहकारीहरु नै अहिले चुकेका छन् ।
मुद्रास्फीति र राजनीतिक अस्थिरताका कारण आर्थिक उत्पादनमा निरन्तर गिरावट आएको छ । पर्यटक आगमन र रेमिट्यान्स बढ्दै जानु अर्थतन्त्रको लागि सुखद् भएपनि बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको संकट, घर जग्गाको मन्दीले सहकारी क्षेत्रलाई नै झनै गाजेकोे छ । वित्तीय बजार अहिले तरलता संकटको चपेटामा छ । विशेषगरी वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुलाई तरलता व्यवस्थापनमा सकस परेको छ ।
तरलता अभावले निम्त्याएकोे ब्याजदरमा वृद्धिले सहकारी संस्थाहरुमा रहेको बचत बैंक तथा वित्तीय संस्थामा जानबाट रोक्न सकिएको छैन । बचत गर्ने भन्दा फिर्ता माग्ने सदस्यहरुको भीड हुन थालेपछि एकपछि अर्को गर्दै अधिकांश सहकारी संस्थाहरु समस्यातर्फ उन्मुख भएका छन् । बचत फिर्ता गर्न नसकेपछि सहकारी संस्थाहरुले विस्तारै आम विश्वास गुमाउँदै गएको पाईन्छ । एकपछि अर्को संस्थाहरु थला पर्दा समग्र सहकारी क्षेत्र कै बदनाम भएको अवस्थालाई नकार्न सकिदैन ।
जता हेर्यो समस्या छ । बचत आउँदैन । कर्जा उठ्दैन । लगानी उचित नहुँदा उत्पादन ठप्प प्रायः छ । जसले सहकारीलाई मुलधारमा ल्याउनको लागि चुनौती दिएकोे छ । सरकार तथा सहकारी अभियानले सबै सहकारीमा समस्या छैन, सिद्धान्त विपरित चलेका केही संस्थामा समस्या भएको भन्दै आँखा चिम्लिदा सहकारी क्षेत्र नै धराशायी हुन पुगेको छ । यस्तो अवस्थामा सरोकारवालाहरुको ध्यान अझै पुग्न सकिरहेको छैन । समस्याको वास्तविक समाधान खोज्न कुनै निकायले चासो देखाएको पाइदैन ।
समस्याले सहकारीको अस्तित्वनै संकटमा पर्नुको पछाडी राज्यको नीति, अभिभावकीय भूमिकामा कमी, सहकारी संचालनमा अपचलन, अपारदर्शिता तथा सदस्यहरुको उदासिनता प्रमुख रुपमा देखापरेको छ । सहकारीमा विश्वासको वातावरण भएन, सदस्यले बचत गर्न मानेनन्, मुद्दती बचत नविकरण भएन भन्ने गुनासाहरु बढेका छन् ।
सहकारीको विषयमा देखिएका वा सहकारी क्षेत्रमा उब्जिएका यी कुराहरुलाई राज्यको तर्फबाट, अभिभावकिय भूमिका निर्वाह गर्ने महासंघदेखि अन्य संघहरुले र स्वंय सहकारी संस्थाका संचालकहरुले गहन अध्ययन र विश्लेषण गर्नुपर्ने थियो । राज्य तर्फबाट नत सहकारी अभियानबाट ठोस कदम चाल्न सकेको नै छ ।
सहकारीहरू आफ्नै मूल्य, मान्यता र आदर्शबाट विचलित हुँदैछन् । सहकारी सबै सिद्धान्त अक्षरस पालना गरेर सञ्चालित हुने हो भने सहकारीमा यस्तो कठिन परिस्थिती नआउने सबैमा जग जाहेरै छ । तर मनन गर्ने कसले? समस्या हामी मै छ । खुल्ला तथा ऐच्छिक सदस्यता, सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरुको आर्थिक सहभागिता, स्वायत्तता र स्वतन्त्रता, शिक्षा तालिम र सूचना, सहकारीहरु बीच पारस्परिक सहयोग र समुदाय प्रति जिम्मेवारी जस्ता सर्वमान्य सिद्धान्तहरुलाई नकारी रहेका छौं ।
मुलुकले संबिधानमा नै उच्च प्रथामिकता दिँदै सरकार, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीब्र आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । दिगो आर्थिक विकास गर्ने र समाजमा देखिएका आर्थिक असमानताको अन्त्य गरी शोषण रहित समाजको निमार्ण गर्न सहकारीको अहम् भूमिका रहने समेत स्वीकार गरिएको छ ।
अहिले सहकारी संघ/संस्थाहरु प्रतिको चरम नकारात्मकताले यस क्षेत्रले समाजमा पुयार्एका योगदान र त्यसका सबल पक्षहरु पनि ओझेलमा परेका छन् । सहकारी संस्थाहरुले वित्तीय साक्षरता, वित्तीय पहुँच एंव वित्तीय समावेशीकरण, महिला सशक्तीकरण, लोकतान्त्रिक अभ्यास वा सामाजिक पूँजी निर्माणमा धेरै ठूलो योगदान गरेको छ । तर, अहिलेको आवश्यकतालाई मध्यनजर गरेर सहकारी संघहरु सदस्य सहकारीहरुको वृृत्ति, बिकास र प्रर्बद्धनमा जुट्न सकिरहेका छैनन । सहकारी संस्थाहरु नीति, नियम र सिद्धान्त बमोजिम छैनन् । सहकारी संस्थाहरुले सदस्य केन्द्रित भएर इमान्दारिता पूर्वक कार्य गर्न सकिरहेका छैनन् । सदस्यहरु सदस्य भन्दा ग्राहक बढी भएका छन् भने सबै विषयगत सहकारी संघ/संस्थाहरु वित्तीय कारोबारमा नै रमाएका छन् । सहकारी संस्थाका सञ्चालक स्र्वाथ केन्द्रित हुने र संस्थाको सम्पत्ति दायित्व दुरुपयोग तथा अपचलनमा लिप्त भएका खबरहरु छरपस्ट छन् । जसको कारण सहकारी क्षेत्रमा विश्वसनियताको कमी भएको देखिन्छ ।
राज्यले अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा महत्व दिए झै सहकारीको बृद्धि विकासको लागि आवश्यक क्रियाकलापहरु संचालन गर्न सकिरहेको छैन । तीनै तहका नियमक निकायबाट प्रभावकारी नियमन हुन सकिरहेको छैन । सहकारी संस्थाहरुमा नियमनको पक्ष अत्यन्त कमजोर रहेको छ । अनुगमन, नियमन कमजोर हुनु सहकारी संकटको मुख्य कारण हो । तर, स्वनियममा चल्ने सहकारी संस्थालाई वास्तवमा अन्य निकायको नियमनको खाँचो नै नपर्ने हो । पाएको स्वनियम सहकारीले भरपुर मात्रामा प्रयोग नगरी स्वनियम शब्दको नै दुरुपयोग गरिएको छ ।
सहकारीमा अपारदर्शीता छ, संस्थागत सुशासन छैन भन्नेमा नियामक निकाय बेखबर छैनन । फतलो नियमनमा सहकारी संस्थामा ठूलो वित्तीय समस्या आउने हेक्का नगरिएको पनि होईन । तर सहकारीको ठूलो हिस्सा वित्तीय कारोबार गर्दछ । बचत तथा ऋण सहकारी बाहेक अन्य विषयगत संस्थाको पनि वित्तीय कारोबार नै मुख्य कारोबार हुने गरेका छन् । सहकारीमार्फत हुने वित्तीय कारोबारको जोखिम न्यूनिकरण गर्नको लागि कुनै बलियो सयन्त्र बनाउन सकिएको छैन ।
वास्तवमा भन्ने हो भने सहकारी ऐन नै सहकारीमा देखिएका समस्या समाधान गर्नको पर्याप्त छ । सहकारी ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसक्दा सहकारीमा समस्या उत्पन्न भएको हो । सहकारीको समस्या प्रति सरकार उदासिन भएता पनि सहकारी अभियान्ताहरुमा पनि समस्या समाधानको लागि उचित कदम चाल्न सकिरहेको छैन । सहकारी ऐनमा व्यवस्था भए बमोजिम कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण स्थापना लगायतका नीति नियम निर्माण र कार्यान्वयनमा सहकारी अभियानको दवाव अझै पुगेको छैन ।
राज्यको समावेशी आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्ने भन्ने कुरा राज्यले प्राथमिकता दिनुपर्नेमा त्यसमा कमजोरी देखिएको छ । सहकारी क्षेत्रको नियमन गर्ने भूमिकामा रहेका संघ, प्रदेश र स्थानिय तह बीचमा तालमेल हुन सकिरहेको छैन । साथै आवश्यकता र स्पष्टता नभई थप सहकारी खोल्ने र कार्यक्षेत्र बिस्तार गर्ने, नीति नियम निर्माण र संसोधनमा उदासिन हुनु, गैरकानुनी क्रियाकलापलाई समयमै कानुनको दायरामा ल्याउन असमर्थ हुनु, सुरक्षा, वृति बिकास र प्रर्बद्धनमा जोड नदिनु आदि सहकारी क्षेत्र प्रति विश्वास घट्नुका मुख्य कारकहरु बनेका छन् ।
सहकारी संघहरु उद्देश्य बाहिरका गतिविधिलाई जोड दिँदै छन् । संघहरुमा सुशासित र मर्यादित सहकारी निमार्णका गतिबिधि कम देखिन्छ । सहकारीको प्रबद्र्धन र विकास, शिक्षा, तालिमका कार्यहरु प्राथामिकता पर्न सकिरहेका छैनन् भने नेतृत्व चयनदेखि क्रियाकलाप संचालनमा राजनितिको दबदबा धेरै छ । संघहरुले नै वित्तीय कारोबारमार्फत अनुत्पादक क्षेत्रमा लगानी गर्न सदस्य सहकारी संस्थाहरुलाई नै उत्प्रेरित गरिरहेका छन् ।
वर्तमानमा सहकारी क्षेत्रले गुमाउँदै गरेको साख जोगाउनको लागि ढिला भैसकेको अवस्था छ । यस्तो अवस्थामा सहकारीसंग सम्बन्धित सबै पक्षहरु जिम्मेवार भएर लाग्न जरुरी छ । संस्थागत शुसासन, पारदर्शिता तथा ऐन नियमको परिपालना संस्थामा आबद्ध सदस्यको आर्थिक वृद्धिसँगै सामाजिक, साँस्कृतिक र मुलुकको आर्थिक उन्नती गर्नुपर्ने आजको आवश्यकता हो ।
समाजको आर्थिक उपार्जनको लागि सहकारी अपरिहार्य छ । अब यसलाई सबै पक्ष मिलेर सवल र सक्षम बनाउनतर्फ अग्रसर हुनुपर्ने अवस्था आएको छ । आम सर्वसाधारणमा गुमेको विश्वास फिर्ता ल्याउन राज्यले नेतृत्व गर्नेपर्ने हुन्छ । सहकारी क्षेत्रमा देखिएको वेथितीलाई कुनै सम्झौता नगरी कानुनी उपचार गरेर सहकारीलाई मर्यादित गराउन राज्य पछि हट्न हुँदैन । साथै सहकारी संस्थाहरु रहे मात्रै अभियान रहन्छ भन्ने बुझेर सहकारी जोगाउनतर्फ समग्र अभियान केन्द्रित हुनुपर्ने देखिन्छ ।
सहकारी अभियानले संघ/संस्थाहरुको भूमिका प्रस्टयार हालको अवस्थामा अभिवावकत्व निर्वाह गर्न निर्देशित गर्नुपर्छ । सहकारी संघ संस्थाका सञ्चालकहरु व्यक्ति केन्द्रित लामो समयसम्म हुनु र सामान्य सदस्यले प्रजातान्त्रिक तवरबाट संस्थाको नेतृत्वमा पुग्ने आधार नदेख्नु पनि अविश्वासको प्रमुख कारण हो । त्यसैले, सहकारी संघ/संस्थामा सञ्चलकको नेतृत्व प्रजातान्त्रिक तवरबाट आम सदस्यहरु पनि क्षमता र दक्षताको आधारमा चयन हुने अवस्था सिर्जना गर्नुपर्छ । कर्मचारीहरुले इमान्दारिता, पारदर्शिता तथा कानुनको परिपालना गर्दै गम्भिर भएर सदस्यहरुको विश्वास सधै कायम गर्ने गरी काम गर्नुपर्ने हुन्छ ।
समग्रमा सहकारी सिद्धान्तको व्यवहारिक रुपमा पालना गर्दै ऐन नियमको उचित परिपालन, सुशासन, पारर्दशिता, जिम्मेवारी बोध तथा सुरक्षा सहित प्रजातान्त्रिक तवरबाट नेतृत्व चयन गर्दै सहकारी सञ्चालित हुनुपर्छ । त्यस्तै सरकारले प्रभावकारी नियामकिय भुमिका सहित गलत गर्नेलाई दण्ड जरिवाना मार्फत सहकारी क्षेत्र प्रति गुमेको आम सर्वसाधारणको विश्वास जागृत गराउन सकिन्छ ।
(लेखक राष्ट्रिय सहकारी बैंकका वरिष्ठ अधिकृत हुन्)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी संघ काभ्रेको ४५औँ साधारण सभा सम्पन्न, विभिन्न विधामा पुरस्कार तथा सम्मान
१७ आश्विन २०८३, शनिबार
मनोज रायमाझी काभ्रेकै सर्वोत्कृष्ट सहकारी व्यवस्थापन प्रमुख
१७ आश्विन २०८३, शनिबार
ज्येष्ठ सदस्यको आँखामा खुसी, बुडोल सामुदायिक साकोसको सम्मानमा आत्मीयता
१५ आश्विन २०८३, बिहीबार