२३ कात्तिक २०८३, सोमबार

नेफ्स्कूनको सिईओमा शिवजी सापकोटा फर्कर्दै

२०८० साउन ३०, मङ्गलबार
नेफ्स्कूनको सिईओमा शिवजी सापकोटा फर्कर्दै

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शिवजी सापकोटा फर्कर्ने भएका छन् । नेफ्स्कून सञ्चालक समितिको बैठकले निवर्तमान सिईओ प्रकाश प्रसाद पोखरेलको करार अवधि नथपेपछि रिक्त उक्त पदमा उनी अघिका सिईओ सापकोटालाई नै ल्याउन लागेको हो । आज बसेको नेफ्स्कून बोर्ड बैठकमा सापकोटालाई ल्याउने विषयमा सहमति जुटेको संघका प्रबक्ता एवम् बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी खबरलाई जानकारी दिए ।

उनका अनुसार २०८० भदौं १ गतेदेखि लागू हुने गरी सापकोटालाई सिईओको रुपमा सञ्चालक समितिले निर्णय गरी पत्र दिने तयारी गरेको हो । २०६३ सालदेखि नेफ्स्कून प्रवेश गरेका सापकोटा २०७२ सालदेखि २०७७ सालसम्म ५ वर्ष सिईओको रुपमा कार्यरत थिए । वर्तमान सञ्चालक समितिले नै उनको ५ वर्षे कार्यकाल सकिएपछि करार नवीकरण नगरेका कारण बाहिरिएका थिए ।

जुन सञ्चालक समितिले सापकोटालाई नेफ्स्कूनबाट बिदाई गर्यो त्यही सञ्चालक समितिको कार्यकाल अन्तिम समयमा पुग्न लाग्दा उही व्यक्तिलाई सिईओको रुपमा पुनः प्रवेशको निर्णय गरेको हाे ।
पूर्व सिईओ पोखरेलको बहिर्गमनसँगै संघका प्राचार्य एवम् सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिना हाल व्यवस्थापन प्रमुखको रुपमा कार्यरत छन् । नेफ्स्कून बोर्डभित्र केही सञ्चालकहरुले तिमल्सिनालाई नै सिईओको रुपमा अघि बढाउन चाहेका थिए । तर, बहुमत सञ्चालकहरुले अनुभवी सापकोटालाई नै सिईओ नियुक्त गरी संघलाई थप बलियो बनाउँदै लानुपर्ने धारणा राखेका थिए । आजको बैठकमा शिवजी सापकोटालाई नै पुनः सिईओमा ल्याउने पक्षमा पल्ला भारी भएको थियो ।

सिईओ नियुक्तिको विषयमै आज संघको बोर्डले सल्लाहकारहरुसँग समेत छलफल गरेको थियो । सबैको राय सुझावका आधारमा सापकोटालाई नै पुनः फर्काउन लागिएको हो । आसन्न अकू फोरम र चुनावी साधारण सभालाई समेत ध्यानमा राखी नेफ्स्कून बोर्डले सिईआको तत्कालै आवश्यकता महसूस गरी यो निर्णय गरेको बुझिएको छ ।

अभिलेख

लोकप्रिय