६ जेठ २०८३, बुधबार

सहकारीले सदस्य-सम्बन्ध कसरी बलियो बनाउने?

२०८० साउन २३, मङ्गलबार
सहकारीले सदस्य-सम्बन्ध कसरी बलियो बनाउने?

सुमनराज घिमिरे
धेरै वर्षअघि सहकारीको नियामकीय भूमिकाका बारेमा एक जना बरिष्ठ सहकारी अभियन्ताले भनेको कुरा कसैबाट सुनेको थिएँ, ‘सहकारीका लागि ब्रम्हा, बिष्णु र महेश्वर भनेकै रजिष्ट्रार हो ।’ यो सत्य हो । विभागीय मन्त्री र सचिवभन्दा पनि सहकारी अभियान सोझै ठोक्किने ‘ब्यूरोक्रेट’ रजिष्ट्रार नै हो । फेरि सहकारी ऐन २०७४ ले पनि रजिष्ट्रारलाई बढी अधिकारसम्पन्न बनाएको छ । विभागीय मन्त्रालयसम्म सहकारीका विषय बोध गराउने अधिकारसम्पन्न अधिकारी हो रजिष्ट्रार । सहकारी अभियानसँग निरन्तर सम्पर्कमा रहने, सहकारीका मूलभूत विषयहरुमा दैनन्दिन काम गर्ने र अन्य विभागीय जिम्मेवारीको कार्यचापमा रहने सचिव र मन्त्रीलाई सहकारीबारे तथ्यबोध गराई आवश्यक उपल्ला नीतिगत तथा कानूनी निर्णयहरु गराउन नेतृत्वदायी भूमिका खेल्ने व्यक्ति हो रजिष्ट्रार । तर, यही विषयलाई संस्थाको सञ्चालन प्रक्रियासँग जोडेर हेर्ने हो भने कुनै पनि सहकारीको लागि ब्रम्हा, बिष्णु र महेश्वर भनेको सदस्य हो । सहकारीको सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता भनेकै सदस्य हो । ‘मेम्बर इज द क्रिएटर, प्रोटेक्टर एण्ड डिस्ट्रोयर’ । सहकारी सदस्य केन्द्रीत सामाजिक उद्यम भएकाले सहकारीको आत्मा (सोल) भनेको सदस्य हो । सहकारीको सुरु र अन्त्य नै सदस्य हो भन्दा अत्युक्ति नहोला ।
शरीर र आत्माको सम्बन्ध जस्तै हो, सहकारी–सदस्य सम्बन्ध । सहकारी शरिर हो भने सदस्य आत्मा । सहकारीको भौतिक उपस्थितिमा आत्मारुपी सदस्यले प्राण भर्दछन् । सहकारी मुटु हो भने सदस्य स्पन्दन । एकपटक सोचौं त–सहकारीमा तरलता बढ्यो वा कम भयो, ऋणको भाखा नाघ्यो वा नाघेन, बचत वृद्धि भयो वा कमी भयो, ऋण लगानी भएन वा बढी भयो, संस्थागत पुँजी सबल छ वा कमजोर छ, सेयर पुँजी कम छ वा बढी छ, कुल सम्पत्ति बढ्यो वा घट्यो, आदि सबैको कारण के हो ? उत्तर एउटै आउँछ वा कारण एउटै निस्कन्छ- सदस्य । सदस्यले विश्वास गर्दा वासलात बढ्छ, अविश्वास गर्दा घट्छ । ‘नो वन क्यान सेभ कोअपरेटिभ बट वन्ली मेन्बर्स’ । मेम्बर्स आर अल इन अल इन कोअपरेटिभ । सदस्य छ त सहकारी छ । सदस्य छैन त सहकारी पनि छैन । त्यसकारण, सहकारी बोक्रा हो सदस्य गुदी । सहकारी आवरण हो सदस्य आभूषण । सदस्य सुखी हुँदा आफु पनि सुखी हुने अनि सदस्य खुसी हुँदा आफु पनि खुसी हुने सहकारीले सदस्यसँग के कस्तो र कसरी सम्बन्ध राख्नुपर्दछ भन्ने अहम् प्रश्न हो ।

पछिल्लो समय धेरै सहकारीमा देखिएको समस्याको जड पनि यही हो । सहकारीमा समस्या तब सिर्जना हुन्छ जब सदस्य सम्बन्ध बिग्रन्छ । सहकारी र सदस्यबीच नङ र मासुको सम्बन्ध हुनुपर्छ । तर, सदस्य सम्बन्धका तौरतरिकाहरु जब स्वार्थपरक, देखावटी, फितलो र द्रव्यमुखी हुन्छन् तब समस्याहरु एकपछि अर्को गर्दै बढ्दै जान्छन् । सहकारीले सदस्य सम्बन्धको धागो बलियो बनाउन सकेन भने उध्रिएको समाज रुपान्तरणका लागि सिउने अभियान फगत निष्काम हुन्छ । सहकारीले समस्या पर्दा ‘कनेक्ट’ गर्ने सदस्यसँग हो भने उनीहरुमार्फत नै विगतमा भएका कमजोरीहरु ‘करेक्ट’ पनि गर्ने हो । नियमित सदस्य शिक्षाका कार्यक्रममार्फत सदस्यहरुसँगको सम्पर्कलाई बाक्लो बनाइराख्नुपर्छ जुन हुन नसकेका कारण आज समस्याहरु झांगिएका हुन् । सहकारी सदस्य केन्द्रीत व्यवसाय भएकोले सदस्य सम्बन्ध व्यवस्थापन र सदस्य हेरचाहमा विशेष ध्यान दिनुपर्दछ जुन विषयहरु निम्नानुसार छन्:

१) आतिथ्य सत्कार तथा अभिबादन:
धेरै मानिसहरु सम्मानका लागि आतुर हुन्छन् । यो कुरा सहकारीमा पनि लागु हुन्छ किनकी सहकारीमा सदस्यहरु संस्थाको स्वामित्व लिने मानिस भएको हँुदा सदस्यहरुले पनि संस्थाको व्यवस्थापन, संचालक समिति तथा उपसमितिबाट यथोचित आतिथ्य सत्कार तथा अभिवादनको अपेक्षा राखेको हुन्छन् । भनिन्छ पहिलो व्यवहार नै अन्तिम हो । त्यस्तै सहकारी अनुहार भनेको व्यवस्थापन हो । संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति सहकारी संस्था संचालन प्रक्रियामा नियमित उपस्थित रहन सक्दैनन् । व्यवस्थापन संस्थामा सदस्य सेवामा नियमित उपस्थित भएका हुन्छन् । त्यसैले संस्थाका कर्मचारीले सदस्यलाई आतिथ्य सत्कार गर्ने र अभिवादन गर्ने सहकारी संस्कृति बनाउन आवश्यक रहेको हुन्छ । त्यस्तै सहकारी सामुदायिक व्यवसाय हो । हामी सदस्यको उपलब्धी, खुसी तथा दुःखमा जानकार रहिरहेका हुन्छौ । त्यसैले सदस्यको उपलब्धी तथा खुसीमा खुसी व्यक्त गर्ने र दुःखमा दुःख व्यक्त गर्नुपर्दछ । यसले सदस्य सम्बन्धमा ईटा थप गर्ने काम गर्दछ र सहकारीप्रति अपनत्व वृद्धि गर्दछ । सहकारीमा सदस्यको अपनत्व हुने किसिमको वातावरण हामीले तय गर्नुपर्दछ । सदस्यको अपनत्व जनाउनको लागि आतिथ्य सत्कार र अभिवादन पहिलो शर्त हो । सहकारी संस्थाले सहकारी संस्कृतिहरुलाई आन्तरिक कार्यविधिमा व्यवस्था गरी सेवा प्रवेश तालिम मार्फत कर्मचारीलाई सिकाउनु पर्दछ साथसाथै आचारसंहिता र कार्यसम्पादन मूल्याङ्कनमा पनि निश्चित मूल्याङ्कनको आधार बनाउनु पर्दछ । त्यसैले सहकारीमा सदस्य हेरचाह र सदस्य सम्बन्ध दर्विलो बनाउने पहिलो आधार भनेको यथोचित आतिथ्य सत्कार, अभिवादन र मुस्कान सहित सेवा नै हो ।

२) समान व्यवहार:
अन्तराष्ट्रिय सहकारी महासंघले सहकारीका दश वटा मूल्यहरु तय गरेको छ । सहकारीको मूल्य भनेको सदस्यहरु र समुदायको विश्वास हो । सदस्यहरुले संस्थालाई गर्ने विश्वासलाई ६ वटा आधार मूल्यमा राखिएको छ भने समुदायले संस्थालाई गर्ने विश्वासलाई ४ वटा नैतिक मूल्यमा राखिएको छ । उक्त आधार मूल्यको चौथो मूल्यमा समानता रहेको छ । उक्त मूल्य अनुसार सदस्यले लिङ्ग, पेशा, धर्म, जातजाती, आयस्तर, उमेर, वर्ण आदि केहीका आधारमा भेदभाव हुदैन भनेर संस्थालाई विश्वास गरेको हुन्छ । त्यस्तै सहकारी संस्थाले पनि एकै सेवा प्रयोग गर्दा फरक मूल्य लगाउनु हुदैन । संस्थाका वस्तु तथा सेवाको लाभ वितरण गर्दा आनुपातिक रुपमा वितरण गर्नु पर्दछ । संचालक समिति र सदस्य विच बचत सेवा वा ऋण सेवा वा अन्य सेवा उपयोग गर्दा फरक व्याजदर वा शुल्क लगाउनु हुदैन । त्यस्तै सहकारी सदस्यहरुले सहकारी संस्थाबाट समान व्यवहार गरीन्छ भन्ने अपेक्षा राखेका हुन्छन् । सहकारी संस्थाले संस्थाको सुशासन आन्तरिक कार्यविधिमार्फत सहकारीमा पक्षपातपूर्ण व्यवहार र असमानता नहुने कुराको सुनिश्चीतता गराउनु पर्दछ । सदस्य हेरचाहको लागि सहकारी संस्थाले सदस्यप्रति समान व्यवहार, समान वितरण, समान अधिकार जस्ता विषयमा संवेदनशिल हुनु पर्दछ ।

३) गुनासो सुनुवाई तथा विवाद समाधान:
सदस्य सहकारीको लागि महत्वपूर्ण रहेका हुन्छन् । सहकारीको व्यवसायमा सदस्यको भूमिका अहम् रहेको हुन्छ । सदस्य सहकारीको सुख दुःखका सहयात्रि हुन् । सदस्यले आफ्ना सुख पनि सहकारीमा साटासाट गर्दछन् भने दुःख, गुनासा पनि संस्थामा आइ व्यक्त गर्दछन् । सदस्यले सुझाव तथा गुनासाहरु संस्थामा राखिरहेको हुन्छन् । तर सहकारी संस्थाका कर्मचारी तथा संचालकहरुले सदस्यका गुनासा तथा सुझावलाई स्वीकार्न सकिरहेको हुदैनन् र त्यसलाई टार्ने प्रयास गरिरहेको पाइन्छ । https://ww.1stfinancialtraining.com ले गरेको अध्ययन अनुसार ९६ प्रतिशत असन्तुष्ट ग्राहकले गुनासो गर्दैनन् । जसमध्ये ९१ प्रतिशत ग्राहक पुन दोहोर्याउदैनन् । त्यस्तै The White House Office of Consumer Affairs का अनुसार करिब १३ प्रतिशत असन्तुष्ट ग्राहकले २० जना भन्दा बढि व्यक्तिलाई र अन्यले ९ देखि १५ जनालाई उक्त असन्तुष्टी व्यक्त गर्दछन् । सदस्यको गुनासा तथा असन्तुष्टि सुनुवाई नहुनु नै सदस्यले संस्था त्याग दर वृद्धि गर्ने प्रमुख कारण हो । सदस्यका गुनासो तथा सुझावले संस्थाको वस्तु तथा सेवाका गुणस्तर, सदस्य सन्तुष्टि, कर्मचारी उत्पादकत्व, सेवाको प्रभावकारीता आदिमा वृद्धि गरिरहेको हुन्छ । त्यसैले सहकारीमा गुनासो सुनुवाई सम्बन्धी आन्तरिक कार्यविधिको निर्माण गरी गुनासो सुनुवाई तथा विवाद निरुपण कार्यदल निर्माण, सुझाव पेटी व्यवस्थापन, गुनासो सुनुवाई सम्बन्धि स्पष्ट संयन्त्रको विकास गर्नु पर्दछ । त्यस्तै संस्थाले दिएका सेवाहरुको विवाद आएमा उक्त विवाद समाधानको लागि स्पष्ट विवाद समाधान संयन्त्रको विकास भएको हुनुपर्दछ । त्यसैले सहकारीमा सदस्य सुझाव, गुनासो खुला रुपमा स्वीकार गर्ने र त्यसलाई शिघ्र सुधार गर्ने संयन्त्र बनाउनु पर्दछ जुन सदस्य सम्बन्ध व्यवस्थापन गर्ने अर्को महत्वपूर्ण आधार हो ।

४) पारदर्शिता तथा उचित मूल्य:
सहकारी व्यवसाय सदस्यको व्यसाय हो । सहकारीका सदस्यलाई संस्थाको वित्तीय अवस्था, आय व्यय विवरण, वस्तु तथा सेवाको व्याजदर आदिको सुचना लिन सक्ने अधिकार रहेको हुन्छ । तर यसो भन्दैमा सदस्यलाई अन्य सदस्यको जानकारी दिनुपर्दछ भन्ने होइन । सहकारीले संस्थाका महत्वपूर्ण सुचना तथा व्यक्तिगत गोपनियता कायम गर्न सक्दछ । नेपालको संविधान २०७२ ले सम्पूर्ण नेपाली नागरीकलाई गोपनियताको हक प्रस्ट व्यवस्था गरेको हुँदा सदस्यका व्यक्तिगत सुचनाहरु सदस्यको सहमति बिना सार्वजनिक गर्नु हुन्न । तर सदस्यलाई संस्थाको सेवाहरुको दर, सेवा शुल्क, हर्जना, जरिवाना, खाता खोल्दा वा वन्द गर्दा लाग्ने शुल्क आदि शुल्कहरुको सदस्य बडापत्र बनाइ सुचना दिनुपर्दछ । त्यस्ता सदस्यले लिने सेवाको विषयमा पर्याप्त सुचना दिनुपर्दछ । सहकारीको पाँचौ सिद्धान्तले शिक्षा, तालिम र सुचना रहेको छ । उक्त सिद्धान्त अनुसार सदस्यलाई नियमित वित्तीय शिक्षा प्रदान गर्नुपर्दछ साथसाथै वित्तीय सुचनाहरु पनि पर्याप्त दिनुपर्दछ । यसरी सदस्यले आफुले उपयोग गर्ने वस्तु तथा सेवाको विषयमा सुचना माग्न सक्ने अधिकार रहेको हुन्छ भने संस्थाले त्यसको विषयमा पर्याप्त सुचना दिनु संस्थाको दायित्व हो । त्यस्तै सहकारी संस्थाले प्रदान गर्ने वस्तु तथा सेवाहरु उचित तथा सदस्य मैत्रि मूल्यमा प्रदान गर्नुपर्दछ । सहकारी पिछडिएको लिङ्ग तथा वर्गलाई मूलधारमा ल्याउनको लागि न्याय वा समता पनि कायम गर्न सक्दछ । सहकारीमा पारदर्शिता कायम गर्नु तथा उचित मूल्य वा दरमा सेवा प्रवाह गर्नु सदस्य सम्बन्ध व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो ।

५) नैतिकता तथा व्यावसायिकता:
नैतिकता भन्नाले हामीले गर्ने कार्यसम्पादन र कार्यसम्पादन गर्दा देखाउने व्यवहारलाई व्यावसायिक र सदस्यमुखी बनाउने मूल्य, सिद्धान्त र मानकहरूको अवलम्बन हो । सहकारीको संचालक, उपसमिति तथा व्यवस्थापन संस्थाको सदस्य प्रति नैतिक, इमानदार र सदाचारीका साथै योग्य, इमान्दार र जवाफदेही पनि हुनुपर्छ । व्यक्तिका हरेक व्यवहारले नैतिकता पुष्टि गर्ने, सदस्यहरुको मन जित्ने र संस्थाभित्र निष्ठाका साथै सामाजिक रहनसहन पनि सदाचारी हुनुपर्छ । सदस्यमा प्रस्तुत हुदाँ मीठो र विनम्र हुनैपर्छ । सहकारी सामाजिक व्यवसाय भएको हुँदा सामुहिक हितलाई महत्व दिनुपर्दछ । सदस्यबाट अनुचित लाभ लिने गर्नुहुदैन । संचालक तथा कर्मचारीले गर्ने कार्यसम्पादन मनोमानी ढंगले गर्नुहुदैन तथा आफुले गरेको कामको जिम्मेवारी र उत्तरदायित्व सम्बन्धीत व्यक्तिले लिनुपर्दछ । आफुले लिएको जिम्मेवारीमा उच्च पेशागत इमान्दारिता कायम गर्नुपर्दछ । सहकारीका संचालक तथा कर्मचारीको व्यवहार, आचरण, कार्य तथा प्रस्तुतीमा उदाहरणीय बन्नुपर्दछ ।

केही वर्षअघिको विश्व सदाचार प्रतिवेदनमा उल्लेख भए अनुसार नेपालको इन्टिग्रिटी इन्डिकेटर स्कोरकार्ड कमजोर (१०० मा ६० भन्दा न्यून) देखिएको छ । त्यस्तै विश्वमा भष्ट्राचार हुने देशमा नेपालले ३४ अंक ल्याइ १८० देशमध्ये ११० औ स्थानमा रहेको छ । सहकारी क्षेत्रमा असहकारी प्रवृति बोकेका संचालक तथा व्यवस्थापनबाट व्यक्तिगत लोभ, लालच र स्वार्थ बोकी सदस्यको पैसा अपचलन गर्ने क्रम वृद्धि भइरहेको छ । सहकारी अभियानमा असहकारी प्रवृतिले गर्दा नैतिकता संकट र नैतीकताको खडेरी परिरहेको छ । त्यसैले सहकारीमा संचालक, उपसमिति तथा व्यवस्थापनमा उच्च नैतिकता कायम गर्न नीतिगत सर्वोच्चता र कार्यगत एकरुपता कायम गर्नुका साथसाथै स्वार्थरहितता, सदाचार, जवाफदेहिता, इमान्दारिता, पारदर्शिता र नमुनायोग्य जस्ता कुरामा ख्याल गर्नुपर्दछ । सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५, संस्थाको विनियम तथा आन्तरिक कार्यविधि प्रति संस्थाका संचालक समिति तथा व्यवस्थापन प्रतिवद्ध हुनुपर्दछ । जसले सहकारीलाई व्यावसायिकता तर्फ उन्मुख गराउदछ । सदस्य समन्ध व्यवस्थापमा सहकारीका संचालक तथा कर्मचारीले उच्च नैतिकता तथा व्यावसायिकता कायम गर्नु आजको आवश्यकता रहेको छ ।

६) भूमिका परिवर्तन:
प्रायः सहकारीमा कार्यरत कर्मचारी पनि धेरैजसो सहकारी सदस्यहरु नै हुने गरेको पाइन्छ । त्यस्तै सहकारीको संचालक, लेखा सुपरिवेक्षण समिति तथा उपसमितिमा अनिवार्य सदस्यबाट नै प्रतिनिधित्व हुनु पर्दछ । त्यसैले संस्थाको संस्थाको संचालक र व्यवस्थापन पनि संस्थाको सदस्य नै भएको हुँदा आफु सदस्य हुँदा कस्तो किसिमको व्यवहारको अपेक्षा गरिन्छ सोही अनुसारको सदस्य व्यवहार गर्नु आवश्यक हुन्छ । सामान्यतया संचालक समिति तथा व्यवस्थापनले आफ्नो भुमिका परिवर्तन गरी सदस्य व्यवहार गरीएमा उत्कृष्ठ सदस्य सम्बन्ध कायम गर्न सकिन्छ ।

७) सदस्य सुरक्षा र वित्तीय साक्षरता:
बचत तथा ऋण सहकारी (साकोस) को विश्वको सर्वोच्च संजाल विश्व ऋण परिषद्ले साकोसका चार सिद्धान्तहरु प्रतिपादन गरेको छ । जसमध्ये पहिलो सिद्धान्त सदस्य सुरक्षाको सिद्धान्त रहेको छ । त्यसैले साकोसले विकास गरेको वस्तु तथा सेवा सदस्यमैत्रि हुनुपर्दछ र सेवा विकास गर्दा सदस्य केन्द्रीत सेवा विकास गर्नुपर्दछ । सहकारीले सेवा प्रवाह गर्दा लाग्ने शुल्कका दरहरू सदस्यहरूसँग कारोबार सम्पन्न गर्नुअगावै सदस्यमैत्री माध्यमहरूको प्रयोग गरी जानकारी गराउनुपर्दछ । त्यस्तै कम्तीमा पनि त्रैमासिक रूपमा सदस्यसँग गरिएको कारोबारहरु जस्तै ब्याजदर, लाभांश, शुल्क आदिका विवरण उपलब्ध गराउनुपर्नेछ । सदस्यहरूलाई निष्पक्ष र समान व्यवहार गर्नुपर्दछ । व्यक्तिगत सामीप्यता र चिनजानका आधारमा सेवा प्रवाहमा विभेद गर्नुहुँदैन । सदस्यहरूलाई संस्थासँग कारोबार गर्ने निर्णय गर्नुपूर्व पर्याप्त सूचना उपलब्ध गराउनुपर्दछ । सदस्य संघ/संस्थाहरूले वास्तविकतामा आधारित, तुलनात्मक, पारदर्शी र सम्पूर्ण ऋणसँग सम्बन्धित सूचनाहरू सदस्यलाई उपलब्ध गराउनुपर्नेछ । क्षमतामा आधारित ऋण लगानीको सिद्धान्तमा रहेर ऋणको अभ्यास गर्नुपर्दछ । सहकारीले ऋण असुली गर्दा कानुनसम्मत र सम्मानजन व्यवहार तथा विधिहरूको मात्र प्रयोग गर्नुपर्दछ । सदस्यको व्यक्तिगत सूचना नियामक निकायले कानुनबमोजिम मागेबाहेक कोही कसैलाई कुनै पनि प्रयोजनमा दिनुहुँदैन । त्यस्तै सहकारीले सदस्यलाई नियमित रुपमा बचत परिचालन, ऋण सदुपयोगिता र वित्तीय साक्षरतासम्बन्धी शिक्षा प्रदान गर्नुपर्दछ । अतः सहकारीले वस्तु तथा सेवा विकास, उपयोग, वितरण आदिमा नियमित वित्तीय साक्षरता प्रदान गरी सहकारी सदस्य सुरक्षा प्रति प्रतिवद्ध छ भन्ने कुरा विश्वस्त गराउन सकेमा सदस्य सम्बन्ध दीगो र प्रगाढ हुन सक्दछ ।

उपसंहार
सदस्य सम्बन्ध तथा हेरचाहका विषयमा अहिंसावादी भारतीय राष्ट्रपिता महात्मा गान्धीका अनुसार हामीले के कुरा बुझ्नु जरुरी छ भने सदस्य हाम्रो लागि सबैभन्दा महत्वपूर्ण पाहुना हो, ऊ हामीमाथि निर्भर छैन तर हामी उमाथि सदा निर्भर छौँ । त्यसैले एउटा सदस्यलाई सन्तुष्ट बनाउन सक्यौं भने उसले गर्ने बजारीकरण लाखौँ करोडौँ रुपैयाँ खर्च गरेभन्दा बढी प्रभावकारी हुन्छ । सहकारीका संचालक तथा कर्मचारीको पहिलो लक्ष्य तथा उद्देश्य भनेकै उच्च स्तरको सदस्य सेवा प्रदान गरी सदस्यहरुमा आफ्नो संस्थाप्रति सकारात्मक सोचको धारणा विकसित गर्ने हुनुपर्दछ । सदस्य सम्बन्ध व्यवस्थापनका लागि सहकारी संस्थाले आन्तरिक कार्यविधि निर्माण गरी लागु गर्नु आवश्यक रहेको हुन्छ भने सदस्यहरुसँग प्रत्यक्ष जोडिने कर्मचारीहरु जस्तै नगद परिचालक, रिसेप्सनिष्ट, बजार प्रतिनिधिलाई वार्षिकरुपमा सदस्य हेरचाह सम्बन्धि तालिम प्रदान गर्नु राम्रो मानिन्छ ।

जसरी सामान्य बोलीचालीको भाषामा व्यापारीहरुले आफ्ना ग्राहक वा अतिथीहरुलाई भगवान भन्छन् ठीक त्यसरी नै सहकारीका लागि पनि सदस्य भगवान सरह हुन् । त्यसैले संस्कृतको तल उल्लिखित श्लोकले सहकारीका लागि सदस्यको महत्व प्रष्ट पार्दछ भन्ने लाग्दछ । यही महत्तालाई ध्यानमा राखेर सहकारीले सदस्य सम्बन्ध व्यवस्थापनका लागि नवीन र प्रभावकारी तौरतरिका अपनाउनु दुबैका लागि श्रेयश्कर मानिन्छ ।

त्वमेव माता च पिता त्वमेव त्वमेव बन्धुश्च सखा त्वमेव ।
त्वमेव विद्या च द्रविणं त्वमेव, त्वमेव सर्वम् मम देव देवं ।।

(नेफ्स्कूनको दोलखास्थित कार्यालयका अनुगमन अधिकृत घिमिरे सहकारी सुशासन, अन्तर्राष्ट्रिय असल अभ्यास तथा वित्तीय व्यवस्थापनमा विशेष रुचि सहित कलम चलाउँदछन् ।)

अभिलेख

लोकप्रिय