२३ कात्तिक २०८३, सोमबार

सहकारी बैंकलाई लक्षित गरी भएका केही गतिविधिबाट भ्रमित नहुन आग्रह

२०८० साउन १७, बुधबार
सहकारी बैंकलाई लक्षित गरी भएका केही गतिविधिबाट भ्रमित नहुन आग्रह

काठमाडौं : पछिल्लो समय सहकारीमा भएका केही गतिविधिहरु सदस्य संस्था तथा सरोकारवालामा भ्रम पैदा गर्ने खालका भएकोले त्यस्ता गतिविधिबाट भ्रमित नहुन राष्ट्रिय सहकारी बैंकले अनुरोध गरेको छ ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारसँग सहकारी अभियानका तर्फबाट विभिन्न तरिकाले पहलकदमी गरिरहेकाले देशभरका सहकारी संघ/संस्था, नियामकीय निकाय तथा सम्पूर्ण सरोकारवालाहरुलाई भ्रममा नपर्न बैंकले अनुरोध गरेको हो ।
बैंकले आज प्रेस विज्ञप्ती जारी गरी सबैको विश्वासबाट सञ्चालित सहकारी बैंकलाई लक्षित गरी भएका केही गतिविधिहरुबाट भ्रम सिर्जना हुनसक्ने भएकाले सरोकारवालाहरुलाई भ्रममा नपर्न आग्रह गरेको हाे । विज्ञप्तीमा भनिएको छ, `देशभरका सहकारी संघ/संस्थाको विश्वास, साथ र सहयोगद्वारा स्थापित, सञ्चालित सहकारी बैंक नेपाल राष्ट्र बैंक समेतको नियमनमा रही नियमनकारी निकायका निर्देशनहरु पूर्ण रूपमा पालना गर्दै आएको छ ।´
विज्ञप्तीमा बैंक संस्थागत सुशासनसहित सञ्चालित सहकारी क्षेत्रको प्रवद्र्धन र विकासमा केन्द्रीत रहदै आएको उल्लेख छ ।

`सहकारीहरुको संस्थागत विकास, वित्तीय व्यवस्थापन लगायत सहकारीको समग्र विकासमा बैंकले आफ्नो तर्फबाट सक्दो पहल, प्रयत्न र संयोजनकारी भूमिका निर्वाह गर्दै आइरहेको छ´, विज्ञप्तीमा भनिएको छ ।विभिन्न समयमा बैंक र बैंकको अध्यक्षलार्ई लक्षित गरी सार्वजनिक हुने गरेका समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

बैंकका ५ वटा सदस्य सहकारी संस्थाहरु एकिकरण हुँदा साविकको सदस्य संस्था हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थामा बैंकको कर्जा रकम २८ करोड रहेको र बैंकको नीति बमोजिम सबै सहकारीको एकल कर्जा सीमा भित्रै रहेको अवस्थामा एकीकरण भएका सबै संस्थाले लिएका कर्जाको कूल रकम एक अर्ब नजिक रहन पुगेको विज्ञप्तीमा उल्लेख छ ।

सहकारी विभागले सम्बन्धित संस्थाहरुले नै बैंकको कर्जा सिमा भित्र ल्याउने योजनाका साथ एकीकरण गर्न अनुमति दिएको र बैंकको नीति अनुसार आगामी तीन वर्षभित्र एकीकृत संस्थाले कर्जालाई सिमा भित्र ल्याउनु पर्ने व्यवस्था रहेको समेत बैंकले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।

पछिल्लो समय विस्तारै अर्थतन्त्र चलायमान भई तरलता संकटको अवस्थामा सुधार हुँदै गएको परिस्थितिमा असार मसान्तसम्मकोे वित्तीय विवरण अनुसार बैंकको तरलताको अवस्था ३६.९९ प्रतिशत कायम रहेको जनाइएको छ ।

अभिलेख

लोकप्रिय