सहकारीको समस्या मुख्यत: सहकारिता बिर्सनु हो
राधेश्याम श्रेष्ठ
हामी आजको दिनमा सहकारी क्षेत्रमा देखिएका समस्याको कारण भनेर जे जे विषयलाई फोकस गरिरहेका छौं, ति मुख्य कारण हैनन् । ती त सहकारीता माथि आएको विचलनको उपउत्पादन (byproduct) हुन् । विचलन मुख्य समस्या हो । आज जुन घटना वा विषयलाई सहकारीमा समस्या आउनुको कारण भनेर व्याख्या गरिरहेका छौं, सहकारी त वास्तवमा यिनै जस्ता घटनाहरु आई पर्दा समाधानको लागि भनेर गरिने सहकार्य न हो । तर, यो विषयमा नेपाली सहकारी क्षेत्र एक हिसाबले असफल भएकै हो । यसलाई स्वीकार गरियो भने बल्ल सुधार गर्न सम्भव होला । समस्या बोध नभई सुधार सम्भव हुँदैन ।
सहकारी ऐन, २०७४ को प्रस्तावनामा नै सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप देशका कृषक, कालिगड, श्रमिक, न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पूूँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गदै सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्न, समुदायमा आधारित, सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्त र स्वशासित संगठनको रूपमा सहकारी संस्थाहरूको प्रवद्र्धन नियमन गर्न, सहकारी खेती, उद्योग, वस्तु तथा सेवा व्यवसायका माध्यमबाट आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको विकास गर्नको लागि सहकारी भन्ने परिकल्पना गरेको छ ।
प्रस्तावनामा परिकल्पना गरिए जस्तो हाम्रा सहकारी समुदायमा आधारित भए, भएनन्? सदस्य केन्द्रित रहे, रहेनन्? सदस्यहरुद्वारा लोकतान्त्रिक नियन्त्रण स्थापित भयो, भएन? स्वायत्त र स्वशासित रह्यो, रहेन? सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नयन गर्न प्रतिवद्द भईयो, भईएन? यिनै प्रश्नहरु र यिनका उत्तर भित्र खोज्ने हो भने सहकारी क्षेत्र कहाँ चुकेको हो भन्ने प्रष्ट रुपमा देखिन्छ ।
सामुहिकताको भावना किन छोडियो? पारस्परिकता किन बिर्सिईयो? सहकारी व्यक्तिगत अर्थोपार्जनको माध्यम होईन, सामुहिक समाधानको थलो हो । व्यक्तिगत अर्थोपार्जन र ठाँटिएको जीवनशैलीको लागि त व्यक्ति आफैले निजी व्यवसाय गर्दा पनि भईहाल्थ्यो । सदस्यहरुको बचत सदस्यहरुको सहमति र जानकारी बेगर व्यक्तिगत व्यवसायमा लगानी गरी दु्रत्त गतिमा धन आर्जन गर्ने विषय त सहकारीको कुनै पनि मुल्य, मान्यता र सिद्धान्तमा छैन । अनि केही सिमित यस्ता व्यक्तिहरुको कारण समग्र सहकारीकर्मीहरुले शीर निहुराउनुपर्ने?
सहकारीको मुख्य समस्या सहकारीताको विचलन हो । संख्यात्मक रुपमा हेर्ने हो भने थोरै मात्र सहकारीहरु समस्या ग्रस्त भएका छन्, धेरै चाहीँ अन्य सहकारीहरुमा आएको समस्याबाट सिर्जित वातावरणबाट प्रभावित भएका छन् । मतलव, केही सहकारीहरु (सञ्चालक, व्यवस्थापन) मा सैद्धान्तिक विचलन आएकै हो । सबै सहकारीहरुलाई दोष थोपर्नु उचित हुँदैन, तर गुमेको विश्वास वर्करार राख्नु पक्कै पनि सबैको लागि चुनौतीपूर्ण विषय हो ।
एक पटक आफुले आफैलाई सोधौं । हामी सहकारीकर्मीको जीवनशैली किन ठुला कर्पोरेट घरानाको जस्तो देखिँदैछ? हामी बचतमार्फत धन सिर्जना हुन्छ भन्ने कुरामा विस्वास गर्छौं, त्यसो हो भने हामी कति मित्तव्ययी बन्यौं, कति छौं? कहाँ कहाँ मित्तव्ययीता भएन, कहाँ कहाँ के के दुरुपयोग भए, यि विषयमा धेरै चर्चा भईरहेकै छ । थप, चर्चा आवश्यक नहोला । तर पनि एक पटक कम्तिमा आफुले आफैलाई सोध्नैपर्छ- यि फुरमास खर्च, महँगा गाडी, घर, घरेडी तिमीलाई कल्ले किन्दियो?
यसो भन्दै गर्दा, विश्वव्यापी महामारी, अर्थतन्त्रको संकुचन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना, परिघटनाहरुले सहकारी क्षेत्रलाई प्रभाव पर्दैन भन्न खोजेको होईन, अझ वित्तीय सहकारी क्षेत्रमा त यसको धेरै नै प्रभाव पर्छ । पुर्वानुमान नभएको पनि पक्कै होईन, तर, हामी सचेत बनेनौं । सबैले म म भनौं ।
अब सैद्धान्तिक विचलनको विषयमा धेरै ठुलो गफ, लेख, सोच आवश्यक नै छैन । सहकारीको विश्वव्यापी ७ वटा सिद्धान्तलाई सहकारीकर्मीहरुले एक पटक पढेर हेरौं, के हामीले साँचै सहकारी संस्था चलायौं कि सहकारी शब्दको उपभोग मात्रै गर्यौं? यो मुख्य विषय हो ।
आत्मसहयोग, स्वउत्तरदायित्व, प्रजातन्त्र, समानता, न्याय र ऐक्यबद्धतालाई विश्व सहकारीको आधार मुल्यको रुपमा स्वीकार गरिएको छ भने इमान्दारिता, खुलापन, सामाजिक उत्तरदायित्व र अरुको हेरचाहलाई नैतिक मुल्यको रुपमा अंगिकार गरिएको छ । सहकारीको आधार मुल्य र नैतिक मुल्य मान्यतालाई व्यवहारिक प्रयोग गर्नको लागि सहकारीका ७ सिद्धान्तहरुले मार्गनिर्देश गर्दछन् ।
सिद्धान्त नं. १ स्वेच्छिक तथा खुला सदस्यता : यो विषयमा धेरै भनीरहनै पर्दैन, सदस्य भन्दा बढी गैह्र सदस्य, ग्राहक बनाएर कारोबार गर्ने संस्थाहरुमा नै यस्ता समस्या आएको देखिन्छ । साथै यो सिद्धान्तको मर्म लैंगिक, सामाजिक, जातीय, राजनीतिक वा धार्मिक कुनै पनि विषयमा विभेद नगरी सदस्यता खुला रहनुपर्दछ भन्ने हो । व्यवहारिक प्रयोग के कति भएको छ? सोचनीय विषय हो ।
सिद्धान्त नं. २ सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण : के यो सिद्धान्तलाई व्यवहारिक अभ्यास गरिएको छ त? यो प्रश्न पाठकबृन्दहरुलाई । उत्तर आउँदो सञ्चालक समितिको बैठकमा छलफल गरौं । सदस्यहरुबाट प्रजातान्त्रिक तवरले सञ्चालकहरुको चयन भएको छ? निर्णयमा सदस्यहरुको सहभागीता वा प्रतिनिधित्वको अवस्था कस्तो छ? संस्था र सदस्यहरुको सह–सम्बन्ध कस्तो छ? यो सिद्धान्त अवलम्वन परिक्षण गर्दा तपाई हाम्रो सहकारीको नतिजा १० अंक मध्ये कति अंक पाउला? सहकारीहरुलाई कडाइका साथ नियमन गर्नुपर्यो भन्ने आवाज किन गुञ्जयमान भईरहेको छ? यसको उत्तर खोजौं, समाधान त्यही भित्र छ ।
सिद्धान्त नं. ३ सदस्यहरुद्धारा आर्थिक सहभागीता : सहकारीको आर्थिक स्रोत, परिचालन एवम् प्रतिफलमा सदस्यहरुको सहभागीता हुनुपर्दछ । सदस्यहरुको आर्थिक सहभागीता स्तर कस्तो छ? सहकारी बिभागले २०७५ सालमा स्वीकृत गरेको सदस्य केन्द्रियता सुचकांक अवलम्वन गरिएको छ? शेयर, बचत, ऋणमा सदस्यहरुको सहभागीता कस्तो छ? केन्द्रिकृत जोखिम के कति छ? कति प्रतिशत सदस्यहरुले नियमित बचत गर्दछन्? कति प्रतिशत सदस्यहरुले संस्थामा नै आफ्नो बचत जम्मा गर्दछन्? कति प्रतिशत सदस्यहरुले ऋण सेवा उपभोग गरेका छन्? प्रति सदस्य औषत ऋण कति छ? प्रति परिवार औषत ऋण कति छ? चाहे शेयर होस, बचत होस वा त ऋण, थोरै व्यक्तिहरुको मात्र सहभागीता हुनु जोखिमपूर्ण हुन्छ । सिद्धान्तले निर्देश गर्ने विषय यही हो ।
सिद्धान्त नं. ४ स्वायत्तता र स्वतन्त्रता : सहकारीहरु स्वायत्त र सदस्यहरुद्वारा नै नियन्त्रित हुनुपर्ने संगठन हुन् । तर सहकारीमा सहकारीहरुको नियन्त्रण प्रणाली स्थापिन हुन सकेन । आन्तरिक नियन्त्रण प्रणाली कमजोर भयो । हाल सबै भन्दा बढी दुरुपयोग भएको सिद्धान्त सम्भवतः यही हो ।
सिद्धान्त नं. ५ शिक्षा, तालिम र सूचना : सहकारीको मुल्य, मान्यता, सिद्धान्त, यसका फाईदाहरुको बारेमा सञ्चालक एवम् कर्मचारीहरुले सदस्यहरु तथा समुदायमा सर्वसाधारणलाई नियमित रुपमा सुसुचित एवम् शिक्षित गराउनु पर्दछ । यो विषयमा ध्यान दिएका संस्थाहरु हाल समस्यामा छैनन् ।
सिद्धान्त नं. ६ सहकारी सहकारीबीच सहयोग : सहकारी सञ्जाल भित्र ठाडो (Vertical) र तेर्सो (Horizentol) सम्बन्धहरु छन् । सहकारी संरचना भित्र ति दुबै थरी सम्बन्धहरुलाई प्रभावकारी बनाउन नसक्नु पनि आजको परिस्थितिको कारक हो । सहयोग, सहकार्य भन्दा पनि अनावश्यक प्रतिश्पर्धा किन, कसका लागि गरिएको हो? सदस्यकै लागि हो, होईन? चिन्तन गरौं ।
सिद्धान्त नं. ७ समुदायप्रति चासो : सदस्यहरुद्वारा स्वीकृत कार्यविधिको अधिनमा रही समुदायको दिगो विकासका लागि सहकारीले योगदान पु¥याउन सक्ने क्षेत्रमा पहल गर्नुपर्दछ । त्यही समुदाय नै सहकारीको जग हो, केन्द्र हो, सबै थोक हो । अहिले समस्याग्रस्त भनिएका संस्थाहरु के तिनै समुदायका अंग बनेको थिए त?
यि विषयहरु उठान गर्दा समग्र सहकारी जगतलाई आक्षेप लगाएको कदापी होईन, परन्तु, कमीकमजोरीलाई सबै पक्षले आत्मसाथ गर्नुपर्दछ, जसले आगमी दिनमा यो क्षेत्रलाई शुद्धिकरण र सुदृढिकरण गर्न प्रष्ट मार्गचित्र देख्न सहज हुन्छ भन्न खोजेको हुँ । हाम्रो संस्थामा त समस्या आएको छैन भनेर ढुक्क हुन सक्ने अवस्था छैन, ढुक्क सँग सदस्य केन्द्रित भई संस्था सञ्चालन गर्न सकियोस भन्ने अभिप्राय राखेको हुँ ।
आगे, सहकारीकर्मी महानुभावहरुको मर्जी ।
जय सहकारी ।
(श्रेष्ठ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का सहायक कार्यकारी अधिकृत हुन्।)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार