२३ कात्तिक २०८३, सोमबार

वर्ष २०७९ /०८० बाट सहकारी सञ्चालकले पाएकाे शिक्षा !

२०८० साउन १, सोमबार
वर्ष २०७९ /०८० बाट सहकारी सञ्चालकले पाएकाे शिक्षा !

– केशवप्रसाद दाहाल
१) हामीले बचतकर्ता होइन सदस्यसँग कारोबार गर्नु पर्ने रहेछ । सदस्यलाई ग्राहक होइन मालिकको व्यवहार गर्नु पर्ने रहेछ ।
२)  हाम्रो आवश्यकताको लागि होइन आम सदस्यको आवश्यकताको लागि सहकारी संस्था सञ्चालन गर्नु पर्ने रहेछ ।
३) आज मज्जाले चल्नु हाम्रो सफलता होइन भोली पनि निरन्तर चल्न सक्नु मात्रै सफलता रहेछ ।
४) हामीले संकलन गरेको रकम हाम्रो होइन सदस्यको रहेछ । उनीहरुले मागेको बेला निशर्त फिर्ता दिनु पर्ने रहेछ ।
५) सदस्यलाई संस्थाको सबै विषयमा समयमा नै जानकारी दिने तथा सुख दुःख सबै सदस्यसँगै साट्नु पर्ने रहेछ ।
६) ऋण लगानी प्रकृया प्रभावकारी बनाउनु पर्ने रहेछ । अप्ठेरो परेको बेला लगानी भएको ऋण सहजै असुली नहुने रहेछ । कमजोर ढंगबाट लगानी भएको ऋण अशुलीमा कतैबाट सहयोग पनि पाइन्न रहेछ ।
७) सेवा निवृत जीवन, अरु काम नभएको फुर्सदको समय यसो दिन कटाउने माध्यम हुन्छ, साथीभाइ भेटेर चिया खाने मेसो हुन्छ, भनेर सामान्य बुझाइबाट जिम्मेवारी स्वीकार गर्दा बाँकी जीवन र परिवारको जीवन पनि वर्वाद हुँदो रहेछ ।
८) हामी जतिसुकै हाई प्रोफाइलको मान्छे भए पनि कमजोरी फेला परे सामान्य सदस्यले पनि बाँकी नराख्ने रहेछ । मानिसमा बैंश, शक्ति र सम्पत्ति स्थायी होइन रहेछ ।
९) वित्तीय क्षेत्र भएको कारण सबै क्षेत्रका मानिसको चासो सहकारीतर्फ उतिकै पर्ने रहेछ ।
१०) आफुले जे जान्यो त्यो नै सहकारी सञ्चालन पद्धती होइन रहेछ, सहकारी सिद्धान्त, मूल्य मान्यता र विश्वव्यापी असल अभ्यासलाई जहिले पनि आत्मसाथ गर्नु पर्ने रहेछ ।

यी सिकाईबाट अब आ.व‍. २०८०/०८१ लाई सफल बनाउन आजैदेखि हामी तनमनले लागौं । बिग्रेकाे केही छैन्, हामीबाट कोही र केही बिग्रने छैन । यस आर्थिक वर्षलाई सदस्य जागरण वर्षको रुपमा मनाऔं । सदस्य हाम्रो सर्वस्व हो । सदस्य सन्तुष्टी हाम्रो सफलता र विश्वास हो । अप्ठेरोमा हाम्रो रक्षा गर्ने सदस्य मात्रै हो । प्रचलित ऐन, कानुन, नियम कार्यान्वयन हाम्रो कर्तव्य हो ।

(दाहाल बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) का प्रमुख कार्यकारी अधिकृत हुन्)

अभिलेख

लोकप्रिय