२३ कात्तिक २०८३, सोमबार

सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रममा सहकारीले पायो उच्च प्राथमिकता

२०८० असार ७, बिहिबार
सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रममा सहकारीले पायो उच्च प्राथमिकता

काठमाडौं : भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाले सहकारी क्षेत्रलाई उच्च प्राथमिकता दिँदै वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । नगरसभाको चौधौं अधिवेशनमा  नगर प्रमुख बासुदेव थापाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नगरपालिकाले सहकारी क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । सूर्यविनायक नगरपालिका नेपालका ७५३ स्थानीय तह मध्ये सबै भन्दा पहिला सहकारी ऐन स्वीकृत गर्ने पालिका पनि हाे ।

यस्ताे छ, नीति तथा कार्यक्रम

– प्रत्येक वडामा सहकारी मार्फत कम्तीमा एउटा सुपथ मुल्य पसल संचालनमा ल्याईनेछ ।

– सहकारी ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम सहकारी संस्था दर्ता तथा सञ्चालित सहकारीहरुको नियमित अनुगमन र नियमन गरिनेछ ।

– नगरपालिका र सहकारी संस्थाबीचको सहकार्यमा स्थानीय उत्पादनको प्रवद्र्धन गरी रोजगारी र आय आर्जन वृद्धिमा जोड दिइनेछ । सहकारी मार्फत जनताको जीवनस्तरमा सुधार गर्न सहकारीको समुचित व्यवस्थापन गरी उत्पादित बस्तुको बजारीकरणमा जोड दिइनेछ ।

– सहकारी संस्थाको प्रवद्र्धन र संस्थागत क्षमता विकासको लागि विविध सीपमूलक तालिम कार्यक्रम संचालन गरिनेछ । प्रत्येक सहकारीले वार्षिक रुपमा कम्तिमा दुईवटा सामाजिक कार्य गरी सोको प्रतिवेदन सम्बन्धित वडा कार्यालय र नगरपालिकामा पेश गर्नुपर्ने कार्यलाई कडाइका साथ लागू गरिनेछ ।

– संस्था दर्ता सम्बन्धी कानून तर्जुमा भईसकेको सन्दर्भमा नगरपालिकामा दर्ता एवं संचालनमा रहेका संस्थाहरुको नियमन प्रभावकारी बनाइनेछ ।

– सहकारी संस्थासँग सरोकार राख्ने राष्ट्रिय सहकारी बैक, नेफ्स्कुन, सहकारी संघ तथा सहकारी अभियानकर्ताहरुसँगको समन्वयमा यस क्षेत्रसंग सम्बन्धित समस्या समाधान गर्न सवलीकरण कार्यक्रम संचालन गरिनेछ ।

– सहकारीको मूल्य, मान्यता र सिद्धान्त बमोजिम यस क्षेत्रको सञ्चालन एवं व्यवस्थापन गरिनेछ ।

– सहकारी संस्थाहरुको संस्थागत विकासका लागि तालिम, मानव संसाधन विकास र प्रविधिकोउपयोगमा जोड दिइनेछ ।

– सहकारीको उद्देश्य बमोजिम बचत तथा ऋण लगानीको संरक्षण गरिनेछ ।

– सहकारी संस्थाहरुको तथ्याङ्क तथा विवरणहरुलाई व्यवस्थित गरिनेछ ।

– सहकारी तथा गरिवी निवारण सम्वन्धी व्यवस्थापन सूचना प्रणालीलाई अझ व्यवस्थित गरिनेछ ।

– सहकारी संस्थाहरुको बचतलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ ।

– सहकारी संस्थाको दिगो विकासको लागि कर्जा सुरक्षण केन्द्र तथा कर्जा सूचना केन्द्रको स्थापनाको लागि आवश्यक पहल गरिनेछ ।

– सहकारी संस्थाको क्षमता विकास गर्न सहकारीको योगदानमा आधारित सहकारी प्रवद्र्धन कोष स्थापना गरिनेछ ।

– स्थानीय तहमा कार्यक्षेत्र बनाइ संचालित भएका सहकारी संस्थाहरुलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ ।

– सहकारी तथा निजीक्षेत्रसँगको साझेदारीमा नगरक्षेत्रभित्र कृषिमेला, हाटबजार, कृषि उपज संकलन केन्द्र, दुध चिस्यान केन्द्र, कृषि प्रयोगशाला आदि निर्माण तथा कृषि प्रदर्शनी
आयोजना गरिनेछ ।

– सूर्यविनायक नगरपालिका र कृषि सहकारीको समन्वय र सहकार्यमा स्थानीय बिउ बैंकको स्थापना गरिनेछ ।

– निजी, सहकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा प्राविधिक तथा सीपमूलक तालिम मार्फत युवा लक्षित रोजगारमूलक कार्यक्रम संचालन गरिनेछ ।

अभिलेख

लोकप्रिय