२३ कात्तिक २०८३, सोमबार

अन्तत: एकता बुद्ध सहकारीका अध्यक्षसहित ६ सञ्चालक पक्राउ

२०८० जेठ १७, बुधबार
अन्तत: एकता बुद्ध सहकारीका अध्यक्षसहित ६ सञ्चालक पक्राउ

काठमाडौं : बुढानिलकण्ठ नगरपालिका-९, स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ६ सञ्चालक पक्राउ परेका छन् । ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रूपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको  हाे।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-९, बस्ने ७२ वर्षीय भानु कुमार शर्मा, ६७ वर्षीय प्रमोद कुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीर बहादुर तामाङ, ३४ वर्षीय शम्भु कार्की र गोरखा पालुङटार नगरपालिका-७ घर भएका ५८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् ।

भानु कुमार शर्मा संस्थाका कार्यकारी अध्यक्ष हुन् । उक्त संस्थाका सदस्यहरुबाट मुद्दती तथा बचत खातामा करोडौं रुपैँया निक्षेप संकलन गरी संस्थाका संचालकहरुले व्यक्तिगत लाभका लागि प्रयोग गरेकाे आराेप लागेकाे छ ।

आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाबाट पत्रचार भएपछि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त रकम ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ।

यो पनि पढ्नुहोस्

अध्यक्ष र व्यवस्थापक मिलेर एकता बुद्ध सहकारीमा करोडौं हिनामिना

अभिलेख

लोकप्रिय