२३ कात्तिक २०८३, सोमबार

समस्यामा परेका सहकारीले श्वेतपत्र जारी गरी बचत फिर्ताकाे समय ताेक्न पाउने

२०८० जेठ १२, शुक्रबार
समस्यामा परेका सहकारीले श्वेतपत्र जारी गरी बचत फिर्ताकाे समय ताेक्न पाउने

काठमाडौं : समस्यामा परेर सदस्यहरूको बचत समयमै फिर्ता गर्न नसकेका सहकारी संस्था श्वेतपत्र जारी गरी समय सिमा ताेक्न पाउने भएकाे छ ।

संघीय सहकारी विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै सहकारीका सञ्चालकले सदस्यलाई विश्वास दिलाएर बचत फिर्ताकाे समय ताेक्न पाउने बताएकाे हाे । विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीले सदस्यलाई विश्वास दिलाउन स्वेतपत्र जारी गर्नुपर्ने समेत बताए ।

सहकारी संस्थाले याे सुविधाको उपभाेग गर्न दायित्वको कानुनी ग्रहण पनि अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ । कानुनी रुपमा दायित्व ग्रहण गरेपछि सञ्चालक भाग्ने सम्भावना नहुने हुँदा सहमतिमा बचत फिर्ताकाे समय ताेक्न सक्ने रजिस्ट्रार घिमिरेले बताए । ‘बचतकर्ता र सञ्चालकको आपसी समझदारीले मात्रै समय पाइन्छ, सञ्चालकले बचतकर्ताको बचतको ग्यारेन्टी दिनुपर्छ´, उनले भने । यस्तै, उनले अहिले सहकारी बारे आइरहेकाे विषयवस्तुप्रति सरकारकाे गम्भिर ध्यानाकर्षण भएकाे र यसकाे लागि कार्यदल बनेकाे जानकारी दिए ।

यस्तै, सहकारीका सञ्चालकहरुले घरजग्गा लगायत व्यवसायमा लगानी गरेकाे र घरजग्गामा दबाब आउँदा यो अवस्था आएकाे उनले बताए । सञ्चालकले  बदनियतले कारोबार गर्दा र आफ्नाे वा आफ्न्तकाे कम्पनीमा लगानी गर्दा समस्या देखिएकाे उनी बताउँछन् ।

समस्यामा आएका सहकारीलाई बचत फिर्ताका लागि समय दिने, घरजग्गामा लगानी गरेकालाई स्वतन्त्र छोड्नुको सट्टा सञ्चालकहरुले संस्थाको दायित्व ग्रहण गर्नु पर्ने र बदनियत भएका सहकारीका सञ्चालकलाई कानुनी दायरामा ल्याएर बचत फिर्ता गराउने उनले बताए ।

अभिलेख

लोकप्रिय