२३ कात्तिक २०८३, सोमबार

यहाँ गल्ती गर्ने सहकारीलाई गलत भन्न पाईदैन: नेफ्स्कून कोषाध्यक्ष पनेरु

२०८० वैशाख ११, सोमबार
यहाँ गल्ती गर्ने सहकारीलाई गलत भन्न पाईदैन: नेफ्स्कून कोषाध्यक्ष पनेरु

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का कोषाध्यक्ष दीपक पनेरुले केही नराम्रा सहकारीले गरेको बद्मासीका कारण सिंगो सहकारी अभियानको शीर निहुरिएको बताएका छन् ।

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)का अध्यक्ष समेत रहेका पनेरुले काठमाडौं जिल्ला भित्र हजारौं सहकारीले राम्रो काम गरिरहेको भएपनि केही नराम्राले गरेको गलत कामको असर अन्य संस्थामा परेको बताए ।

‘सबै सहकारीलाई एउटै दृष्टिकोणबाट हेर्न हुँदैन । सहकारीमा देखिएका समस्या समाधान गर्न सबै पक्षबीच सहकार्यको आवश्यकता छ’, उनले भने ‘यहाँ गल्ती गर्ने सहकारीलाई गलत भन्न पाईंदैन । गलत काम गर्ने सहकारीलाई गलत भनौं । राम्रा काम गर्ने सहकारीलाई संरक्षण र प्रवद्र्धन गरौं ।’

सहकारी हकहित राष्ट्रिय समाजले आयोजना गरेको सहकारी सम्बन्धी तालिम कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पनेरुले मुलुकमा सांसद, मन्त्री, प्रोफेसर, ईन्जिनियर लगायतका विभिन्न पेशा, व्यवसाय र जिम्मेवारीमा गरेका व्यक्तिहरुले घरजग्गाको कारोबार गरेर देखेर केही सहकारी संस्थाका संचालकहरु पनि घरजग्गाको कारोबार गर्ने नशामा लागेकाले सहकारीमा समस्या उत्पन्न भएको बताए ।

यस्ता सहकारीका सदस्यहरुले ठूलो मात्रामा बचत फिर्ता माग्न थालेपछि त्यसको असर अन्य सहकारीमा पनि परेको उनले बताए । अध्यक्ष पनेरुले सहकारी संस्थाका संचालकहरुलाई समस्या पहिचान गरेर सुधारका लागि प्रभावकारी योजना तर्जुमा गरेर लागू गर्न आग्रह गरे । साथै सञ्चालकहरुले शेयर सदस्यहरुलाई नडराई संस्थाका समस्याबारे वास्तविक जानकारी दिएर उनीहरुको विश्वास जित्नुपर्ने भनाई राखेका थिए । ‘अरुको चियो चर्चा गर्नुभन्दा पहिले आफ्नो संस्थाको बारे चिन्ता गरौं । आफ्ना सदस्यहरुतर्फ फर्कौं’, उनले भने ।

यसैगरी उनले सेयर सदस्यहरुले वास्तविकता नबुझी हल्लाको पछाडि लागेर सहकारीबाट निक्षेप निकालेर अन्यत्र लानु गलत भएको बताए ।
‘सहकारीलाई अप्ठ्यारो बेलामा सदस्यले काँध थाप्नुपर्छ । संस्थालाई विश्वास गर्नुपर्छ । हिजो दशतिर भौंतारिँदा पनि ऋण नपाउँदा सहकारीले सहयोग गरेको थियो । हिजो सहकारीले विश्वास गरेर सारा ब्यवहार फुकाईदिएको थियो । उसको वित्तीय आवश्यकता पुरा गरिरिदिएर समाजमा हिँड्न सक्ने बनाईदिएको थियो’ उनले प्रश्न गर्दै भने, ‘अहिले आएर उसले हल्लाका पछाडि लागेर शंकाको भरमा सहकारीबाट पैसा निकालेर लान मिल्छ ? यस्ता सदस्य पनि अपराधी हुन् ।’

अभिलेख

लोकप्रिय