२३ कात्तिक २०८३, सोमबार

कृषकमैत्री कार्यक्रममा जोड दिने किसान कल्याणको योजना

२०७९ फागुन २१, आईतवार
कृषकमैत्री कार्यक्रममा जोड दिने किसान कल्याणको योजना

प्रकाश बन्जारा

इटहरी : सुनसरी जिल्लाको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले किसान मैत्री कार्यक्रम ल्याउने योजनाका साथ सदस्यहरुलाई कृषि अवलोकन भ्रमण गराएको छ । बचत तथा ऋण कारोबारमा सक्रिय सहकारीले अब भने किसान मैत्री कार्यक्रम ल्याउने र किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने नीति अघि सार्न लागेको हो ।

शनिबार किसान कल्याणले एकैदिन आफ्ना सदस्यलाई कृषि तथा पशुपालन फर्मको अध्ययन अवलोकन भ्रमण गराएको छ । संस्थाले सदस्यलाई कृषि प्रणालीमा कसरी जोड्ने भन्ने हिसाबले नमुना कृषि फर्महरुको अवलोकन गराएको संस्थाका अध्यक्ष शालिकराम ढकाल बताउँछन् । एक अर्ब भन्दा बढी वालसात रहेको प्रदेश एककै एक सवल सहकारीको रुपमा चिनिएको किसान कल्याणले किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउन कृषि फर्म अवलोकमा लगिएको र त्यसबाट सिकेर केही व्यावहारिक ज्ञानलाई प्रयोगमा ल्याउन सहज हुने संस्थाको अपेक्षा छ ।

सहकारीले शनिबार ३९ जना सदस्यलाई झापाको गौरादह स्थित महारानी झोडामा रहेको नमुना कृषि खेती र महारानीझोडा साना किसान कृषि सहकारीले सन्चालन गरेको विउ प्रसोधन केन्द्रका साथै साइलेस उत्पादन उद्योगको अवलोकन गराएको छ । अध्ययन अवलोकन भ्रमणपछि सदस्यहरुले कृषिमा चासो देखाउँदै असल मलविउको चयनदेखि लघु उद्योग र नमुना साहुहिक कृषि खेतीको अनुभव दिएको किसान कल्याणका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले बताए ।

त्यसैगरी संस्थाले शनिबारै ४० जना सदस्यलाई सुनसरीबाट सप्तरीको माहुलीमा रहेको पशुपालन फर्मको समेत अवलोकन गराएको छ । संस्थाले निःशुल्क रुपमा आफ्ना सदस्यलाई अध्ययन अवलोकन भ्रमण गराएको बताईएको छ । अवलोकन भ्रमणबाट आफ्नो चालु अवस्थामा रहेको कृषि खेतीलाई थप सवलीकरण गर्न सहयोग पुग्ने सदस्य बराहाक्षेत्र ८ का देव नारायण झागड बताउँछन् ।

चाँडै किसानलाई लक्षित गर्दै उत्पादन मैत्री कार्यक्रम ल्याउनेतर्फ संस्था अग्रसर हुने संस्थाका अध्यक्ष ढकालको भनाई छ । उत्पादन बिना देशलाई सवल बनाउन नसकिने भएकाले पनि किसान मैत्री कार्यक्रमको खाँचो रहेको उनको भनाई छ।

No description available.

अभिलेख

लोकप्रिय