२३ कात्तिक २०८३, सोमबार

सहकारीको बचत सुरक्षा गर्न मन्त्रालयको सकारात्मक पहल

२०७९ फागुन १४, आईतवार
सहकारीको बचत सुरक्षा गर्न मन्त्रालयको सकारात्मक पहल

काठमाडौं : सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले आवश्यक पहल सुरु गरेको छ ।

सहकारी क्षेत्रमा देखिएका विकृतिहरु र बचतकर्ताहरुको बचत सुरक्षित गरिदिन आवश्यक व्यवस्था मिलाइदिन सरोकारवालाहरुको आग्रहमा मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बचत सुक्षा गर्न पहल सुरु गरिसकेको बताए।

मन्त्रालयले बचतकर्ताको बचत सुरक्षा र सहकारी अभियानको मूल्य मान्यतामा आंचमा आउन नदिन सम्बन्धीत निकायमा समन्वयात्मक रुपमा काम गर्न निर्देशन दिएको सचिव रेग्मीले बताए ।

मन्त्रालयले सहकारी विभाग, सहकारी व्यवस्थापन समिति, राष्ट्रिय सहकारी महासंघ, सहकारीका केन्द्रीय, प्रदेश, जिल्ला संघहरुले समन्वयात्मक रुपमा काम गर्न निर्देशन दिएको र मन्त्रालयले यसको नियमित अनुगमन गरिरहेको समेत बताए । यी निकायहरुको निस्कृयता वा गलत प्रवृत्तिलाई प्रोत्साहन दिने कार्य हुन नदिन समेत मन्त्रालयले सचेत गराएको छ ।

सचिव रेग्मीले हालसम्म बचतकर्ताले मागदाबी गरेको १ अर्ब ४४ करोड रकम मध्ये ४५ करोड रकम फिर्ता भैसकेको बताए । बाँकी रकम फिर्ता गर्न समितिबाट पहल भैरहेको बताए ।

साथै समस्याग्रस्त सहकारीहरुका १ हजार भन्दा बढी श्रेस्ता माग गरी अनुसन्धान भैरहेको, एक सयभन्दा बढी चल अचल सम्पत्ति रोक्का राखिएको, समस्याग्रस्त सहकारीहरुका संचालकहरुको राहदानी तथा बैंक खाता रोक्का र विदेश जान रोक्का गरिएको उनले बताए ।

कानूनको परिपालना नगर्ने र बचतकर्ताको बचत सुरक्षा नगर्ने सहकारीहरुको विवरण मन्त्रालय अन्तरगत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति, सहकारी विभाग तथा प्रदेश स्थित सहकारीका कार्यालयमा पठाउन आग्रह गरे ।

असल सहकारीलाई प्रोत्साहन र गलत कार्य गर्ने सहकारीलाई कानूनको दायरामा ल्याउन सहकारी संघ र महासंघहरु अब निष्कृय रहेर बस्न नमिल्ने कुरा उनले बताए । यस कार्यमा विभाग सक्रिय भएर लाग्न र नियमित रुपमा प्रगति उपलब्ध गराउन सहकारी विभागका रजिष्ट्रार निर्देशन समेत दिएका छन् ।

अभिलेख

लोकप्रिय