पोखराका सहकारीहरुमा क्रमशः तरलतामा सुधार
पोखरा : पोखरामा रहेका सहकारी संस्थाहरुमा क्रमशः तरलतामा सुधार हुँदै गएको छ । शनिबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र राष्ट्रिय सहकारी बैंकको संयुक्त आयोजनामा भएको सहकारीको समसामयिक विषयमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सहकारीकर्मीले विगतको तुलनामा सहकारी संस्थाहरुमा तरलता वृद्धि हुदै गएको बताएका हुन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)का अध्यक्ष काजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका के.बी. उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोईरालाले विगत केहि समययता सहकारी संंस्थाहरुमा तरलता क्रमशः वृद्धि हुँदै आएको बताइन् । सहकारी संस्थाहरुमा तरलतामा कमी भन्दा पनि व्यवस्थापन गर्न नजान्दा समस्या आएको उनको भनाई छ । संघमा ४१३ सहकारी संस्था आवद्ध रहेको जानकारी दिँदै उनले संस्थाहरुलाई २० प्रतिशत होईन ३० प्रतिशत तरलता कायम गर्न सुझाइएको जनाइन् । सदस्यहरुसँग नियमित अन्तरक्रिया गरी विश्वासको वातावरण बनाउन सके सहकारीमा तरलता अभाव नहुने कोइरालाको भनाई छ । संघले सदस्य संस्थाहरुलाई सबल बनाउन विभिन्न समयमा तालिम तथा गोष्ठी समेत गर्दै आएको छ । संघले आफ्नै बहुउदेश्यीय भवन निमार्ण गरी सदस्य संस्थाले उत्पादन गरेका वस्तुहरुको बजारिकरणमा सघाउने भएको छ भने पोखरा भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरि कोसेली घर समेत सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
त्यसैगरी अन्तरक्रिया कार्यक्रम बोल्दै सिएमसी कास्कीका अध्यक्ष अपिल कोइरालाले केही सहकारीमा तरलता समस्या देखिएको भए पनि समस्या समाधानमा पहल भइरहेको बताए । कास्कीको सहकारी अभियानभन्दा बाहिर रहेका सहकारीमा तरलता समस्या रहेको उनले जानकारी दिए । पछिल्लो समय संस्थाहरुमा तरलता अवस्थामा सुधार हुँदै गएको समेत उनले बताए । सहकारीहरुमा तरलता बढेको भन्दै उनले ६–७ प्रतिशत तरलता रहेका संस्थाहरुमा समेत अहिले तरलता वृद्धि भएर १० प्रतिशत माथि पुगेको जानकारी दिए । राष्ट्र बैंकको गर्भनर जस्तै सहकारी विभागमा रजिष्ट्रार नियुक्ति नगरेसम्म सहकारी क्षेत्रमा सुधार नआउने उनको भनाई छ । सहकारी प्रवद्र्धन कोषको पैसा सहकारी महासंघ मार्फत परिचालन गर्नुपर्ने माग गर्दै कोईरालाले त्यसको सहि ढंगले परिचालन भएको छ छैन भनि विभागका रजिष्ट्रारले अनुगमन गर्नु पर्ने बताए । सिएमसी कास्कीमा १५० भन्दा बढी संस्थाहरुका व्यवस्थापकहरु आवद्ध रहेको र उनीहरुको क्षमता अभिवृद्धिका लागि हरेक महिना तालिम तथा गोष्ठीको आयोजना गर्दै आएको उनले बताए ।

त्यसैगरी सहकारी अध्यक्ष समाजका अध्यक्ष डिल्लीराम बरालले केहि सहकारीमा समस्या आएको तर त्यसको हल्लाखल्ला बढी हुँदा समुदायमा आधारित र सदस्यकेन्द्रित संस्थामा पनि त्यसको सामान्य प्रभाव देखिएको बताए । सहकारीका सदस्यमा संस्थाहरु भाग्छन् वा डुब्छन् कि भन्ने जस्ता मनोवैज्ञानिक असर परेकाले उनीहरुलाई काउन्सिलिङि आवश्यकता परेको उल्लेख गरे । पारिवारिक रुपमा चलेका सहकारी समस्या भए पनि सदस्यकेन्द्रीत संस्थामा तरलता समस्या नरहेको उनको भनाई छ । विगतमा संस्थामा अधिक तरलता हुँदा संस्थाहरुले लगानी गरे, उनले थपे, ‘अहिले असुलीमा समस्या आउँदा अप्ठ्यारोमा परे । अन्तर सहकारी कारोबारको व्यवस्था भएको भए सहकारीलाई तरलता व्यवस्थापनमा सहज हुन्थ्यो ।’ आयातलाई प्रतिस्थापन र निर्यातलाई प्राथामिकतामा राख्नु पर्ने बताउँदै उनले सहकारीले अब साझेदारीमा उत्पादनमा जोडिनु पर्ने बेला आएको बताए ।

पोखरा रोयल साकोसका सिइओ भिम गुरुङले विगतको तुलनामा अहिले सहकारीमा तरलता वृद्धि हुँदै गएको बताए । केही समय अघि संस्थाको तरलता १०–१२ प्रतिशत रहेको भए पनि अहिले वृद्धि भएर ३० प्रतिशतको हाराहारीमा पुगेको बताए । सहकारी स्वतन्त्र र स्वायत संस्था भए पनि राज्यले थोरै भए पनि अनुगमन गर्नुपर्नेमा उनले जोड दिए । सदस्यले समयमा ऋण नतिरिदिँदा र सहकारीका सञ्चालकले सुशासनमा ध्यान नदिँदा समस्या आएको भन्दै वित्तीय सुशासनमा ध्यान दिनुपर्नेमा उनको जोड छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारीमा विश्वासको वातावरण बनाउन राज्यले भूमिका खेल्नु पर्ने बताए । राजनीतिक आस्थाका आधारमा सहकारी संघ संस्थाको नेतृत्वमा पुगेको भएपनि अब त्यसलाई त्यागेर सहकारी बचाउन र सुशासनमा लैजान लाग्नु पर्नेमा उप्रेतीले जोड दिए । ऐनमा भएका कर्जा सूचना केन्द्र, ऋण असूली न्याधिकरण सन्दर्भ व्याजदरलाई परिमार्जन गरी स्वचालित बनाउने जस्ता कार्य राज्यले तत्काल अगाडि बढाउनु पर्ने उनले बताए ।
सहकारीलाई बचाउन राज्यले १० अर्ब सहयोग गर्नुपर्ने र अभियानको तर्फबाट ५ अर्ब संकलन गरी १५ अर्ब रुपैयाको कोष खडा गर्न आफुले पहल गर्दै आएको उनको भनाई छ । सहकारीले बचत फिर्ता दिन थाले भन्ने सन्देश बजारमा गएपछि सदस्यहरु बचत फिर्ताका लागि लाइन नबस्ने र नयाँ बचत पनि आउने उनको विश्वास छ । कार्यक्रममा नेफ्स्कुनकी सञ्चालक कमलादेवी गिरी, बैंकका सञ्चालक राम बहादुर जिसी, बैंककी लेखा सुपरिवेक्षण समिति सदस्य चन्द्रकुमारी पराजुली लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले उपस्थिति रहेको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
