२३ कात्तिक २०८३, सोमबार

बचत फिर्ता गर्न नसक्ने सहकारीको अनुगमन गर्दै महानगर

२०७९ माघ १, आईतवार
बचत फिर्ता गर्न नसक्ने सहकारीको अनुगमन गर्दै महानगर

काठमाडौं : काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको नियमितरुपमा अनुगमन गर्ने भएको छ ।

महानगरले वडा गत रुपमा सहकारीको संख्याको आधारमा अनुगमन गर्न लागेको हो । केही समय अघि कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह (बालेन)ले सहकारीको अनुगमन गर्न समिति बनाउने निर्णय गरेको थियो । सोही समितिमार्फ अब नियमित अनुगमन गर्न लागिएको हो ।

अनियमितता गर्ने सहकारीको संख्या दैनिकरुपमा बढिरहेको गुनासो आएपछि महानगरले एक्सनको रुपमा अनुगमन गर्न लागेको हो । नागरिकलाई ठगी गर्ने सहकारीको संख्या धेरै रहेको उजुरी आएकाले अनुगमन गर्न लागिएको कामपाका सहकारी विभाग प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिए ।

‘पहिलो चरणमा नियम बाहिर रही सञ्चालन भएका र बचतकर्ताको रकम फिर्ता गर्न आनाकानी गरिरहेका सहकारीको अनुगमन गरिनेछ’, उनले भने । दोस्रो चरणमा अन्यलाई अनुगमन गरी आवश्यकताअनुरुप निर्देशन दिइने विभागका प्रमुख पोखरेलले बताए ।

अनुगमनका क्रममा कामपाले दिएको निर्देशन पालना नगरे सहकारी ऐनअनुरुप कारवाहीको प्रक्रिया अघि बढाउने कामपाको तयारी छ । सबै सहकारी काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ अनुसार सञ्चालन भएका छन् ।

पछिल्लो २० दिनयता रकम ठगी गरेको भन्दै उजुरी गर्नेको संख्यामा कमी आए पनि विगतका वर्षको तुलनामा यस वर्ष अत्यधिकमात्रामा ठगीका उजुरी परेकाले कामपाले अनुगमन गर्ने तयारी गरेको हो । कामपामा एक महिनाअघि दैनिक १५ वटासम्म उजुरी आउने गरेको थियो । अहिले दैनिक तीन/चार वटा उजुरी आउने गरेको बताइएको छ ।

अभिलेख

लोकप्रिय