२३ कात्तिक २०८३, सोमबार

१६% लाभांश र ४% संरक्षित पुँजी काेषकाे रकम वितरण गर्दै समृद्ध आवास सहकारी संघ

२०७९ पुष २३, शनिवार
१६% लाभांश र ४% संरक्षित पुँजी काेषकाे रकम वितरण गर्दै समृद्ध आवास सहकारी संघ

काठमाडौं : राष्ट्रिय समृद्ध आवास विशिष्टिकृत सहकारी संघ लि. काे दाेस्राे वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

ललितपुरकाे गाेदावरीमा शुक्रबार सम्पन्न साधारण सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलकाे प्रमुख आतिथ्यता सम्पन्न साधारण सभामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीको विशेष आतिथ्यता रहेकाे थियाे ।

संघका अध्यक्ष प्रदिप थापाकाे सभापतित्वमा सम्पन्न साधारण सभामा महासचिव विकल्प पाठकले वार्षिक प्रतिवेदन तथा आ. व. २०७९/८० काे प्रस्तावित कार्यक्रम, काेषाध्यक्ष राज कुमार लामाले आर्थिक प्रतिवेदन तथा चालू आ.व. २०७९/८० काे प्रस्तावित बजेट तथा कार्यक्रम, लेखा सुपरिवेक्षण समितिका संयाेजक सुशील कुमार बस्न्यातले लेखा सुपरिवेक्षण समितिकाे प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर छलफल गरि सभाले पारित गरेकाे छ ।

`सुलभ, सुरक्षित र व्यवस्थित वासस्थानका लागि अवास सहकारी´ भन्ने परिकल्पना सहित २०७७ फागुन १८ गते स्थापना भएकाे संघकाे सेयर पुँजी ११ कराेड ३० लाख रूपैयाँ रहेकाे छ । ५० कराेड सेयर पुँजी बनाउने लक्ष्य लिएकाे संघले आवास परियाेजना अघि बढाउने प्रस्ताव साधारण सभाबाट अघि सारेकाे छ । संघले आ.व. २०७८/७९ मा ५ कराेड २१ लाख मुनाफा आर्जन गरेकाे छ ।

साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ काे आम्दानीबाट सदस्यलाई १६ प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव समेत पारित गरेकाे छ । त्यस्तै संरक्षित पुँजी फिर्ता काेषबाट ४ प्रतिशतका दरले रकम बाँडफाँड गर्ने समेत साधारण सभाले निर्णय गरेकाे संघका महासचिव विकल्प पाठकले जानकारी दिए । संघकाे जगेडा काेषमा १ कराेड ३२ लाख र अन्य काेषमा ९३ लाख रुपैयाँ रहेकाे समेत पाठकले बताए ।

संघले सामुहिक आवास परियाेजनाहरु सुरु गरि सुलभ दरमा सदस्यहरूलाई हस्तान्तरण गर्ने याेजना अघि सारेकाे अध्यक्ष प्रदिप थापाले बताए । संघले वस्ती विकास कार्यक्रम, आवास निर्माणका लागि प्राविधिक सहयाेग, सुरक्षित आवास विकास कार्यक्रम, कृषि बजार व्यवस्थापन, सामुहित तरकारी खेती प्रवर्द्धनका कामहरु समेत अघि बढाउने अध्यक्ष थापाले बताए ।

संघका लेखा सुपरीवेक्षण समितिका संयाेजक सुशील कुमार बस्न्यातले नमुना सहकारी बस्ती विकास कार्यक्रम सञ्चालन गर्न पुँजी कम भएकाे बताउँदै पुँजी वृद्धि गरि बस्ती विकासकाे काम तत्काल सुरु गर्नुपर्ने बताए । संघमा जगेडा काेष, अन्यकाेष बलियाे हुँदै गएकाे बताउँदै संघ स्थायित्व तर्फ अग्रसर भएकाे बताए ।

 

अभिलेख

लोकप्रिय