२३ कात्तिक २०८३, सोमबार

फेवा बचतको २४औं स्थापना दिवसमा स्वास्थ्य शिविर, ७५ जना महिला लाभांवित

२०७९ पुष ११, सोमबार
फेवा बचतको २४औं स्थापना दिवसमा स्वास्थ्य शिविर, ७५ जना महिला लाभांवित

पोखरा : फेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको २४ औं वर्ष प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा संस्थाले महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सहकारीको प्रधान कार्यालय जिरो किमिमा सम्पन्न शिविरमा ७५ जना महिलाहरुले लाभ लिएका छन् ।

स्वास्थ्य शिविर उद्घाटन गर्दैै पोखरा महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णु प्रसाद बरालले आफ्नो वडा भित्र रहेको सहकारी मध्ये उत्कृष्ट सहकारी रहेको बताउँदै आफ्नै भवनमा सञ्चालित सहकारीले वडा नम्बर ५ भित्र रहेका महिला दिदीबहिनीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरेकोमा धन्यवाद ब्यक्त गरे ।

वडाअध्यक्ष बरालले आफुले २१ वर्ष पहिला फेवा सहकारीबाट कर्जा लिएर आफ्नो व्यवसाय समेत सञ्चालन गरेको स्मरण गर्दै बैंकिङ कारोबारसँगे सामाजिजक उत्तरदायित्व बहन गरी विभिन्न कामहरु गर्दै आएको बताए । त्यस्तै वडा नं ५ भित्र रहेका १० वटा सहकारीलाई समेटेर समाज र सामाजिक कार्य र वडा बिकासमा सहकारीको भुमिका बिषयमा अन्तरक्रिया गर्ने समेत बताए ।

शिविरमा रिजनल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. तारा गुरुङ्गले महिलाहरुको संवेदनशील अंगहरु मध्ये स्तन र पाठेघरको मुखमा हुन सक्ने क्यान्सर सम्बन्धी सम्पूर्ण महिलाहरु संवेदनशील बन्नुपर्ने बताए । महिलाहरुले विवाह गरेको ३ वर्षपछि स्तन र पाठेघरको मुखको चेकजाँज गर्नुपर्ने र त्यसपछि हरेक ५ वर्षमा पाठेघरको चेकअप गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै पोखरा महानगर पालिका स्वास्थ्य महाशाखाका सिनियर अहेब अधिकृत हरिलाल आचार्यले सहकारी संस्थाले महिलाहरूको पाठेघरको मुखमा हुनसक्ने क्यान्सरको समयमै पहिचान गरेमा पाठेघरको समस्या केही मात्रमा समाधान हुने र हरेक महिलाहरू ३० देखी ६० बर्ष उमेरमा चेकअप गराउनु पर्ने बताए । यस्ता सचेतना कार्यक्रमबाट सिकेका सचेतना कार्यलाई कार्यालयबाट घर घर र टोलहुँदै वडासम्म जानकारी गराएको खण्डमा पाठेघरको मुखको क्यान्सरमा कमी आउने बताए ।

फेवा सहकारीका प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेलले सहकारीको बित्तिय कारोबार, आर्थिक गतिविधि र हालको अवस्थाका बारेमा जानकारी समेत गराएका थिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष शेर काजी गुरुङ्ग, भद्रकाली सेवा केन्द्र व्यबस्थापन उप समितिका संयोजक क्या. श्याम गुरुङ्ग, सदस्यहरु योगराज पौडेल, महेश गुरुङ्ग, रूपक गुरुङ्ग र प्रबन्धक जगन तिमल्सिना लगायतका बक्तहरुले विचार व्यक्त गरेका थिए ।

सो अवसरमा पोखरा महानगरपालिकाका वडा सदस्य एवं कार्यपालिका सदस्य हरिमाया बिक, वडा सदस्यहरूमा कल्पना क्षेत्री, मणिराम बराल, गोविन्द पराजुली र रिजनल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. तारा गुरुङ्ग समेतलाई खादा, दोसल्ला र मायाको चिनोबाट सम्मान समेत गरिएको थियो ।

स्वास्थ्य शिविरमा रिजनल अस्पताल जिरो किमिका स्त्रीरोग विशेषज्ञ डा. तारा गुरुङ्ग, मेट्रोन प्रमिला श्रेष्ठ, अयब सूर्य कुमारी घर्र्ती, पोखरा महानगर शहरी स्वास्थ्य केन्द्र वडा नं ५ का ईन्चार्ज आशिष सुवेदी, स्टाफ नर्स शान्ति पौडेल, मनिता शाही, देबी पौडेल, जया अधिकारी लगायतले सहजीकरण गरेका थिए ।

शिविरमा ६ जना महिलाहरूको पाठेघरको मुखमा केही खराबी देखिएको हुँदा उपचारमा लाग्ने खर्च सहकारीले ब्यबस्थापन गर्ने संस्थाका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक सम्मर बहादुर श्रेष्ठले जानकारी दिए । सहकारीका अध्यक्ष क्या.चन्द्र प्रसाद गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव दिल बहादुर भट्टराइले सञ्चालन गरेका थिए ।

अभिलेख

लोकप्रिय