२४ कात्तिक २०८३, मङ्गलबार

कान्तिपुर सहकारी पनि धराशायी, कारोबार पूर्ण रुपमा बन्द

२०७९ मंसिर १८, आईतवार
कान्तिपुर सहकारी पनि धराशायी, कारोबार पूर्ण रुपमा बन्द

काठमाडौं : काठमाडौंको मिनभवनमा केन्द्रीय कार्यालय रहेको कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड पनि संकटग्रस्त अवस्थामा पुगेको छ ।

गत सातादेखि संस्थाले वित्तीय कारोबार पूर्ण रुपमा बन्द गरेको छ । संस्थाले विगत केही महिनादेखि तरलता अभाव झेलिरहेको थियो । अहिले संस्थाको केन्द्रीय कार्यालय र सेवा केन्द्रहरुले रकम भुक्तानी गर्न सकेको छैन । तर, कार्यालय भने खुला नै राखेको छ । हरेक दिन सयौंको संख्यामा सदस्यहरु कार्यालय आएर रित्तो हात फर्किने गरेका छन् । संस्था संकटग्रस्त अवस्थामा पुगेसँगै सदस्यहरुको अरबौं रुपैयाँ जोखिममा परेको छ । पैसा फिर्ता नपाएपछि केही सदस्यहरु नियामक निकायको ढोका सम्म पुग्ने गरेका छन् ।

केन्द्रीय कार्यालय सहित केही सेवा केन्द्रमा बुझ्दा कारोबार पूर्ण रुपमा बन्द रहेको त्यहाँ कार्यरक कर्मचारीले बताए । ‘अहिले एक रुपैयाँ पनि बचत फिर्ता गर्न सकेका छैनौं’, संस्थाका कर्मचारीले भने, ‘सञ्चालकहरुले पैसा म्यानेज गर्दै हुनुहुन्छ । अहिले नाम टिपाउनु पैसा आएपनि हामी आफै खबर गर्छौं ।’

सदस्यहरुबाट उठाएको बचतलाई सञ्चालकहरुले सही ढंगबाट परिचालन गर्न नसक्दा कान्तिपुरमा समस्या उत्पन्न भएको हो । संस्थाले गैर वित्तीय सम्पत्तीमा लगानी गर्दा समस्यामा आएको संस्थाका एक उच्च अधिकारीले बताए ।

संस्थाले सदस्यको बचत फिर्ता गर्न नसकेको स्विकार गर्दै संस्थाका कोषाध्यक्ष तथा प्रबन्ध सञ्चालक प्रेमध्वज लामाले भने, ‘हामी फण्ड म्यानेजमा छौं । हामीसँग भएको गैर वित्तीय सम्पत्ती विक्रि गरेर सदस्यहरुको बचत फिर्ता गर्ने छौं ।’

संस्थाले भदौ १६ गते प्रतिवद्धता पत्र जारी गर्दै गैरवित्तीय सम्पत्ती विक्रि गरेर निक्षेप फिता गर्ने जनाएको थियो । तर हालसम्म आईपुग्दा पनि संस्थाको समस्या झन् झन् बढ्दै गएको छ ।

२०७७ अषाढ मसान्तको वित्तीय विवरण अनुसार संस्थाको कुल वासलात करिब ५ अर्ब रुपैयाँ रहेको छ । संस्थाले सदस्यबाट ३ अर्ब ५६ करोड निक्षेप संकलन गरेको थियो ।

अभिलेख

लोकप्रिय