२४ कात्तिक २०८३, मङ्गलबार

किसान बचतको एकाई ३ को साधारण सभा सम्पन्न, माईन्यूट प्रमाणित सभा २४ गते

२०७९ मंसिर १७, शनिवार
किसान बचतको एकाई ३ को साधारण सभा सम्पन्न, माईन्यूट प्रमाणित सभा २४ गते

गैंडाकोट : किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं साधारणसभा अन्तर्गत एकाई ३ को सभा सम्पन्न भएको छ ।

देवचुली १७, वरचुली माविको खेलमैदानमा शनिबार भएको साधारण सभामा संस्थाका अध्यक्ष श्रीहरि चालिसेले २४ वटा सहकारी संस्थाहरुलाई एकीकरण गरी सहकारी अभियानलाई नै मार्गदर्शक रूपमा चिनाउन किसान सहकारी सफल भएको बताए । उनले संस्थामार्फत ३ प्रदेशका ४ वटा जिल्लाहरुमा ८२ हजार सेयर सदस्यहरु मार्फत करिब ४ अर्व पूँजी परिचान गर्न सफल भएको बताए ।

सभामा सहसचिव सरस्वती कँडेलले आर्थिक वर्ष २०७८/०७९ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । संस्थाका सञ्चालक सदस्य राजेन्द्र गौतमले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन एवं २०७९/०८० को प्रस्तावित लक्ष्य तथा बजेट प्रस्तुत गरेका थिए । गौतमले चालु आर्थिक वर्षको कुल सम्पत्ती ३ अर्व ४४ करोड ७९ लाख ५६ हजार ८ सय ४९ रुपैयाँ रहेको जानकारी गराए ।

संस्थाका निर्वतमान अध्यक्ष एवं सञ्चालक सदस्य गोपाल प्रसाद गौतमले बर्तमान संस्थागत अवस्था, विगत २ वर्षदेखि कोभिड–१९ को प्रभाव तथा हाल देखा परेको आर्थिक संकुचनका वावजुद पनि संस्थामा तरलताको अवस्था अत्यन्तै मजबुत रहेको बताए ।

साधारण सभामा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक चिन्तामणी कँडेलले प्रस्तुत गरेका थिए ।

एकाइ नम्बर ३ को साधरण सभाबाट ८ वटा विविध प्रस्ताव पारित गर्दै माइन्यूट प्रमाणीतका लागि प्रतिनिधि चयन गरिएको छ । स्वागत मन्तव्य व्यक्त गर्दै उपाध्यक्ष भोजराज पौडेलले यही मंसिर २४ गते साधारण सभा माईन्यूट प्रमाणित कार्यक्रम गैंडाकोट स्थित द नारायणी होटलमा सम्पन्न हुने जानकारी गराए ।

 

अभिलेख

लोकप्रिय