२४ कात्तिक २०८३, मङ्गलबार

एक्सनमा बालेन : लामो अवधिको निक्षेप संकलन नगर्न सहकारीलाई उर्दी

२०७९ मंसिर ९, शुक्रबार
एक्सनमा बालेन : लामो अवधिको निक्षेप संकलन नगर्न सहकारीलाई उर्दी

काठमाडौं : काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुलाई निर्देशन जारी गरेको छ ।

सहकारी संस्थाहरुमा समस्या बढ्दै गएपछि महानगरमा लिखित र मौखिक उजुरीको चाप बढेपछि निर्देशन जारी गरेको हो । सहकारी संस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न निर्देशन जारी गरेको हो ।

सहकारी क्षेत्रमा सुशासन कायम गराउन नगर प्रमुख बालेन्द्र शाह (बालेन)ले विशेष चासो देखाएका छन् । उनले सहकारी संस्थाको अनुगमन गराउन समिति समेत गठनको तयारी गरेका छन् ।

महानगरले १२ बुँदाको निर्देशन जारी गरेको छ । तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्ने निर्देशन दिएको छ । त्यस्तै वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्न, परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्न, सेयर सदस्यहरुलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्न निर्देशन दिएको छ ।

यस्ता छन् सहकारी संस्थाहरुलाई १२ बुँदाको निर्देशन

सहकारी संस्थाहरुले यथाशीघ्र सबै सेयर सदस्यहरुलाई उपस्थित गराई साधारणसभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउने । विश्वसनीयता र अपनत्व ग्रहण गराउनका लागि नियमित रूपले सेयर सदस्यहरुसँग सम्पर्क र संवाद बढाउने ।

तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्ने ।

वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्ने ।

परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्ने ।

सेयर सदस्यहरुलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्ने ।

सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रूपले संस्थासँग कारोबार भएको व्यक्तिहरुलाई मात्र संस्थाको जिम्मेवारी दिने ।

कानुनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कु पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्ने ।
कार्यपद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेस गर्ने ।

ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्ने ।

जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्ने र जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्ने ।

राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरुबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्ने ।

आफ्ना सेयर सदस्य र बचतकर्ताहरुलाई नियमित सहकारी शिक्षा प्रदान गर्ने ।

अभिलेख

लोकप्रिय