२४ कात्तिक २०८३, मङ्गलबार

अनियमित र पारिवारिक रुपले चलेका सहकारीमा मात्रै वित्तीय संकट : अध्यक्ष कडेल

२०७९ कात्तिक ४, शुक्रबार
अनियमित र पारिवारिक रुपले चलेका सहकारीमा मात्रै वित्तीय संकट : अध्यक्ष कडेल

ललितपुर : जिल्ला कृषि सहकारी संघ, ललितपुरको वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

संघका अध्यक्ष ओमदेवी मल्लको सभापतित्वमा सम्पन्न साधारण सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको प्रमुख आतिथ्यतामा रहेको थियो ।

साधारण सभाको उद्घाटन समारोहमा बोल्दै महासंघका अध्यक्ष कंडेलले अनियमित र पारिवारिक रुपले सहकारी संस्थाहरु चलाउनाले बित्तीय संकट आएको बताउँदै सहकारी सिद्धान्त, मूल्य, मान्यता प्रचलित ऐन कानून अनुसार सुशासित सहकारी संस्थाको छवि बनाएर सञ्चालन हुन आग्रह गरे ।

साथै उनले सहकारी संघ/संस्थाहरु व्यवसायिक बन्नुपर्ने बताउँदै सरकारले उपलब्ध गराउँदै आइरहेको सहुलियतपूर्ण कृषि कर्जा लिएर भए पनि सवल संस्थाको रुपमा सञ्चालन हुनुपर्ने कुरामा जोड दिए ।

सोही अवसरमा संविधानसभा सदस्य समेत रहनु भएका संघका अध्यक्ष ओमदेवी मल्लले ललितपुरका कृषि सहकारी संघ/संस्थाहरुको अवस्थामाथि प्रकाश पार्दै कृषि सहकारीलाई पनि प्रविधिमैत्री बनाउँदै लगिएको जानकारी दिए । उनले सहकारी संघ/संस्थाहरु दीगो र व्यवसायिक बनेर गुणात्मक विकासमा लाग्न जरुरी भएको बताउँदै सवल हुनका लागि सहकारी संघ/संस्थाहरुले एकीकरणमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा दुग्ध केन्द्रीय सहकारी संघका कोषाध्यक्ष कृष्ण प्रसाद सापकोटा, बागमति प्रदेश सहकारी संघका अध्यक्ष रामशरण मिघिरे शर्मा, राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक रामहरि बजगाई लगायतका वक्तहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सोही अवसरमा जिल्ला कृषि सहकारी संघ लि. ललितपुरलाई भवन निर्माणका लागि ५ आना जग्गा दान गर्नुहुने स्थानीय नारायण प्रसाद दाहाललाई महासंघका अध्यक्ष कंडेलले प्रमाण पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

No description available.

साधारण सभाले अध्यक्ष मल्लले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष चित्रराज तिमल्सिनाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक बद्री प्रसाद घिमिरेले प्रस्तुत गरेको लेखा सुपरीवेक्षण प्रतिवेदन लगायतका विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

 

अभिलेख

लोकप्रिय