शुक्रपथ बहुउद्देश्यीयको १२औं साधारण सभा सम्पन्न, सञ्चालन मुनाफा २ करोड ५ लाख
काठमाडौं : शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष नरेन्द्र बिष्टको अध्यक्षता एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीको प्रमुख आतिथ्यता सभा सम्पन्न भएको हो ।
सभाले चालु वर्षका लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, विनियम संशोधन, संस्था एकिकरण, संस्थाको नाममा रहेको अचल सम्पति विक्री वितरण, संस्थाको लागि जग्गा तथा भवन खरिद तथा सदस्य सेवा केन्द्रहरूको विभाजन जस्ता विषयहरू पारित गरेको छ ।
सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विष्टले ‘आर्थिक क्रान्तिका लागि सहकारी, हटाऔं गरिबी र बेरोजगारी’ भन्ने नारालाई आत्मसात गर्दै संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक उत्थानका लागि कार्य गर्दै आएको बताए । संस्थाले १ हजार ८ सय भन्दा बढी सदस्यहरुलाई ऋण प्रवाह गरी स्वरोजगार बनाउन सफल भएको उनले सो अवसरमा जानकारी दिए ।
त्यसैगरी संस्थाले १ सय ५० जना भन्दा बढीलाई कर्मचारीलाई प्रत्यक्ष रोजगार उपलब्ध गराएको बताउँदै विष्टले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि समयसमयमा तालिम, पुरस्कार तथा सम्मान जस्ता गतिविधि गर्ने गरेको जनाए । विगत ३ वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण मुलुकको अर्थतन्त्रमा संकट ल्याइरहेका बेला पछिल्लो समय युक्रेन र रसिया बीचको युद्धले विश्व अर्थतन्त्र नै मन्दीमा धकेलिँदा मुलुकमा समेत त्यसको असर परेको र सहकारी क्षेत्रमा पनि प्रभाव देखिएको सभामा उनले बताए ।

संस्थालाई दिगो र बलियो बनाउनका लागि आफुहरु लागि परेको जनाउँदै उनले उद्देश्य मिल्ने र समान प्रकारका सहकारी संस्थाबीच एकिकरणको प्रक्रियामा समेत अघि बढाइएको जानकारी दिए । बजारमा एकाध सहकारीमा आएको समस्याका कारण वित्तीय अवस्था राम्रो भएका सहकारीमा समेत त्यसको प्रभाव पर्दा पछिल्लो समय तरलता व्यवस्थापनमा केहि कठिनाइ भएको उनले बताए ।
संस्थाले गत आर्थिक वर्ष २०७८/०७९ लाई प्रविधि विकास वर्षको रुपमा लिएको र सदस्यहरुलाई प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल बैंकिङ, बैंक ट्रन्सफर, कनेक्ट आइपीएस, फोन पे, क्यु आर पेमेन्ट जस्ता सुविधा सुरुवात गरिएको उनले जनाए ।
संस्थाका लेखा समिति संयोजक लक्ष्मण शर्माले समितिको प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुको सुविधाका लागि व्यवसायिक, व्यक्तिगत, लघु, हायरपर्चेज, वैदेशिक, कृषि र सहुलियत आदि शीर्षकमा ऋण प्रवाह गर्दै आएको जनाए । सभामा प्रबन्ध निर्देशक जीवनराज ओझाले आ।व। २०७८/०७९ को वार्षिक बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका थिए । शुक्रपथ काठमाण्डौ उपत्यकाकै एक अग्रणी संस्था रहेको र यसलाई थप परिष्कृत, विस्तारित र नयाँ उचाइमा पुर्याउन आफुहरु अनवरत लागिपरेको उनले जनाए ।
संस्थाले आ.व. २०७८/0७९ को अन्त्यसम्म २० करोड ४५ लाख शेयरपुँजी, कोषहरुमा ४ करोड ६९ लाख, बचत संकलन १ अर्ब ९५ करोड ६८ लाख गरी कुल १ अर्ब ९३ करोड ९० लाख ऋण लगानी गरेको छ । संस्थाले त्यस अवधिमा २ करोड ५ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।
संस्थाले लघुउद्यम कार्यक्रममार्फत ग्रामीण उद्यमशीलता विकास र महिला सशक्तिकरणका लागि विभिन कार्यक्रम गर्दै आएको छ । त्यसैगरी सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले सदस्यहरुको जन्मदेखि मृत्यु संस्कार सम्मका कार्यक्रममा सहभागिता जनाउनुका साथै रक्तदान, सम्पदा सरसफाई र अन्य विविध गतिविधि गर्दै आएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार