२२ भदौ २०८३, सोमबार

नारी जागृती महिला सहकारीका सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम

२०७९ असोज १३, बिहिबार
नारी जागृती महिला सहकारीका सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम

बागलुङ : नारी जागृती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेनी म्याग्दीले सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोगमा संस्थाका सञ्चालकहरुका लागि एक दिने क्षमता अभिवृद्धि तालिम बुधवार सम्पन्न गरेको छ ।

सहकारीका सञ्चालकहरुलाई सहकारी व्यवस्थापन, वित्तीय सुशासन, सहकारी सञ्चालनका लागि सञ्चालक र लेखा तथा सुपरीवेक्षण समितिको भूमिका लगायतका विषयमा जानकारी गराउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष चिना बाँनियाले जानकारी दिईन ।

कार्यक्रमको उदघटन जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले गरेका थिए । सो अवसरमा बोल्दै उनले सहकारीलाई वित्तीय रुपमा सक्षम र सुशासनका हिसावले प्रभावकारी रुपमा सञ्चालनका लागि सहकारी सचेतना आवश्यक रहेको बताए ।

कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश कुमार थापाले सहकारी र सामाजिक विकास कार्यालयको सम्बन्ध लगायतका विषयमा सहजीकरण गरेका थिए । उनले सहकारीलाई वित्तीय रुपमा सक्षम बनाउनुका साथै सामाजिक रुपमा सदस्यहरुलाई सचेत र सक्षम बनाउन सहयोगी बनाउनु पर्नेमा जोड दिए ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले तालिममा सहजीकरण गर्दै सहकारी व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सदस्यहरुलाई सहकारीका बारेमा धेरै भन्दा धेरै जानकारी दिनु पर्ने बताए ।

‘सहकारी सदस्यहरुको सहभागितामा सञ्चालन हुने व्यवसाय हो, सदस्यले नै यसलाई प्रवद्र्धन र नियन्त्रण गर्न सक्ने भएकाले सहकारीका सदस्यहरुका लागि फाइदा हुने खालका योजना र कार्यक्रमहरु बनाएर काम गर्नु पर्छ’, बैंकका सञ्चालक जिसीले भने, ‘सहकारीलाई नाफामा भन्दा पनि सदस्यहरुको सेवामा बढी केन्द्रीत गर्नु पर्दछ ।’

तालिमका सहभागीहरुको तर्फबाट बोल्दै संस्थाका लेखा समितिका संयोजक पशुपति शाहीले तालिमले सहकारीलाई थप प्रभावकारी रुपमा सञ्चालनका लागि सहयोग पुग्ने बताए ।

कार्यक्रम नारी जागृती महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिना बाँनियाको अध्यक्षता र उपाध्यक्ष दिल माया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो ।

अभिलेख

लोकप्रिय