२४ कात्तिक २०८३, मङ्गलबार

ललितपुर बचत संघमा जुटेन सहमती, अध्यक्षमा रामहरि र नरेन्द्र भिड्दै

२०७९ भदौ २५, शनिवार
ललितपुर बचत संघमा जुटेन सहमती, अध्यक्षमा रामहरि र नरेन्द्र भिड्दै

काठमाडौं : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको नयाँ नेतृत्व चयनको लागि मनोनय दर्ता सकिएको छ ।

संघको २८ औं वार्षिक साधारण सभा २७ गते हुने भएपनि निर्वाचन प्रक्रिया भने आज (भाद्र २५) बाट सुरु भएको हो । नयाँ नेतृत्वका लागि मनोनयको तालिका आजको थियो । अधिवक्ता लक्ष्मण महर्जन संयोजक रहेको निर्वाचन समितिले आजबाट निर्वाचन प्रक्रिया सुरु गरेको हो ।
निर्वाचन समितिले उम्मेदवारी मनोनयन दर्ता गर्ने उम्मेदवारहरुको नामावली समेत प्रकाशन गरिसकेको छ । तर उम्मेदवारको नाम फिर्ता लिने समय भने भोली (भाद्र २६) १०ः४५ देखि १ः३० बजेसम्म रहेको छ ।

संघको नेतृत्वका लागि अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा उम्मेदवारी दिनेहरुमा वर्तमान अध्यक्ष रामहरि बजगाई र सदस्य नरेन्द्र महर्जन रहेका छन् । बजगाई हेलो साकोसबाट प्रतिनिधित्व गरेका हुन् भने महर्जन पेनोरमा साकोसबाट ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा करुणारत्न बज्राचार्य र कर्ण देसार रहेका छन् । उपाध्यक्षमा लक्ष्मी शाक्य र उज्वला बज्राचार्य शाक्यको उम्मेदवारी परेको छ ।

सचिवमा तीन जनाको उम्मेदवारी परेका हो । सचिवमा श्याम कृष्ण महर्जन, राजु ताम्राकार र दिपक घिमिरेको उम्मेदवारी परेको छ । त्यसैगरी कोषाध्यक्षमा वसन्त माली र विभुशोन शाक्यको उम्मेदवारी परेको छ ।

उम्मेदवारको नाम हेर्दा दुई प्यानल देखिएका छन् । विशेष गरी मुख्य राजनीतिक दल निकट सहकारीकर्मीहरु बाँडिएका छन् । राजनीतिक दलहरु नेकपा एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) निकट सहकारीकर्मीहरुको संयुक्त प्यानल र नेपाली कांग्रेस निकट सहकारीकर्मीहरु प्यानल बनेको छ ।

सहमतीमै नयाँ नेतृत्व चयन गर्ने पटक पटकको प्रयास असफलपछि मनोनय दर्ता भएको हो ।

अभिलेख

लोकप्रिय