२४ कात्तिक २०८३, मङ्गलबार

गाैतमश्री सहकारीलाई समस्याग्रस्त घाेषणा गर्दै सरकार

२०७९ साउन १९, बिहिबार
गाैतमश्री सहकारीलाई समस्याग्रस्त घाेषणा गर्दै सरकार

काठमाडौं : कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा गर्न सहकारी विभागले सरकारलाई सिफारिस गरेकाे छ ।

सहकारी विभागले गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरेको हो ।

सहकारी ऐनको दफा १०४ (१) काे प्राबधान बमाेजिम विभागले समस्याग्रस्त घोषणा गर्नका लागि सिफारिस गरेकाे सहकारी विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल संस्थाका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्टलगायत अन्य सञ्चालक तथा उच्चपदस्थ कर्मचारीहरु फरार छन् ।

संस्थाको साढे ५ अर्ब भन्दा बढी रकम जोखिममा रहेकाे प्रारम्भिक अनुमान गरिएको छ । निक्षेप फिर्ता नपाएको भन्दै ११ सय भन्दा बढी सदस्यले विभागमा उजुरी दिएका छन् ।

विभागका अनुसार गौतम सहित सन्चालक तथा व्यवस्थापक कर्मचारीहरुलाई सोधपुछ गर्न विभागमा उपस्थित गराइदिनुहुन भनी लिखित रुपमा अनुरोध गरी पठाइएकोमा उक्त संस्थाका कुनैपनि संचालक तथा कर्मचारीहरुलाई हालसम्म पनि विभागको सम्पर्कमा नल्याईएको तथा संस्थाको अध्यक्ष, सन्चालक र कर्मचारीहरु कुनैपनि सम्पर्कमा नआएको बताएको छ ।

सहकारी संस्था, संस्थाका अध्यक्ष राम बहादुर गौतम एवं निजको पत्नी निर्मला खत्री गौतमको नाममा नेपालभर रहेको घर/जग्गा यथासिघ्र रोक्का राखी सहयोग गरिदिन हुन भनी भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई साउन १७ गते अनुरोध गरी पठाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

विभागका अनुसार १७ गतेसम्म १ अर्ब ७५ करोड भन्दा बढिको माग दावी सहित विभागमा उजुरी परेकाे छ । विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले बचतकर्ताको बचत फिर्ताका लागि पहल भइरहेको बताउनुभयाे ।

अभिलेख

लोकप्रिय