२४ कात्तिक २०८३, मङ्गलबार

सहकारीको नियत नै सदस्य ठग्ने भएपछि !

२०७९ असार ३, शुक्रबार
सहकारीको नियत नै सदस्य ठग्ने भएपछि !

काठमाडौं : पछिल्लो समय एकपछि अर्को गर्दै सहकारी संस्थाबाट सदस्य ठगिएका घटनाहरु सार्वजनिक भएका छन् । सहकारीहरुले बढी ब्याजको प्रलोभल देखाएर बचत संकलन गर्ने तर सदस्यले मागेको समयमा फिर्ता गर्न नसक्ने अप्रिय कामकारवाहीहरु भएका समाचारहरु सञ्चारमाध्यममा स्थान पाइरहेका छन् ।

सार्वजनिक सूचना नै प्रकाशित गरेर कारोबार बन्द गरेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाको समाचार सार्वजनिक भए लगत्तै अन्य सहकारीहरुले पनि बचत फिर्ता नदिएको सूचना सहकारीखबरलाई प्राप्त भएको छ ।
काठमाडौंको महाबौद्ध स्थित उच्च शिखर बहुउद्देश्यीय सहकारी संस्था लि. (दर्ता नं. ४३१२/०७१/०७२) ले पनि लामो समयदेखि सदस्यको बचत फिर्ता गर्न सकेको छैन । केही समय कार्यालय समेत बन्द गरेर संस्थाका सञ्चालन र कर्मचारी सम्पर्कविहीन भएका थिए । प्राविधिक कारण देखाएर संस्थाले कार्यालय बन्द गरेको थियो ।

बचत रकम फिर्ता नगरेको भन्दै सदस्यहरुले चर्को दबाब दिन थालेपछि कार्यालय भने केही समय खुला हुन्छ तर बचत रकम भने फिर्ता गर्न सकेको छैन । संस्थाले विभिन्न बैंक तथा वित्तीय संस्था र नेपाल बहुउद्देश्यीय केन्द्रीय संघको चेक दिएर सदस्यहरुलाई झुलाई रहेका छन् । तर, यसरी झुलाउन थालेको करिब १ वर्ष हुँदा पनि सदस्यहरुले पैसा भने फिर्ता पाउन सकेको छैन ।

‘तपाईको भविष्यको बलियो आधार, उच्च शिखरले बनाउँछ सपना साकार’ भन्ने नाराका साथ संचालित सहकारी हाल सदस्यलाई घरको न घाटको बनाएको छ । भविष्यको लागि भनेर खाई नखाई गरेको बचत अहिले न भविष्यको बलियो आधार भयो न सपना नै साकार बनायो ।

संस्थाले बचत फिर्ता गर्न नसकेपछि विभिन्न बहाना बनाएर सदस्यलाई चेक दिएको थियो । संस्थाका कर्मचारीले आफ्नै चेक सदस्यलाई वितरण गरे पनि साटिएको छैन । त्यस्तै नेपाल बहुउद्देश्यीय केन्द्रीय संघको चेक दिएपनि साटिएको छैन । संघमा संस्थाको नाममा रहेको खातामा ३ हजार रुपैयाँ पनि पैसा नभएको स्रोतले जानकारी दियो ।

संस्थाले रकम फिर्ता नगरेको गुनासो केन्द्रीय संघमा पनि नपुगेको छैन । संस्थाको नाममा चेक आएको र खातामा पैसा नभएपछि केन्द्रीय संघका प्रतिनिधिले सञ्चालक तथा कर्मचारीलाई सम्पर्कको धेरै प्रयास गर्यो तर सम्पर्क नभएपछि संघका प्रतिनिधि कार्यालयमै गएको थियो । तर, कार्यालय भने बन्द थियो । कार्यालयमा सूचना टाँस गरी कार्यालय बन्द गरेको जानकारी गराएको थियो ।

संस्थाका म्यानेजर हृदय नारायण गणेश संस्था समस्यामा रहेको र बचत फिर्ता गर्न नसकेको स्विकार गरे । ‘अहिले कार्यालय खुला नै छ । दैनिक ५/१० हजारका दरले मात्र रकम फिर्ता गर्दै आएका छौं’, उहाँले भने । एक हप्तादेखि कार्यालय भने खुला गरेको उहाँको भनाई छ ।

अभिलेख

लोकप्रिय