१९ भदौ २०८३, शुक्रबार

समयमै लेखापरिक्षण नगर्ने सहकारीमा विभागले लेखापरिक्षक खटाउने

२०७९ वैशाख १२, सोमबार
समयमै लेखापरिक्षण नगर्ने सहकारीमा विभागले लेखापरिक्षक खटाउने

काठमाडौं : अब समयमै लेखापरिक्षण नगर्ने सहकारी संघ संस्थामा सहकारी विभागले लेखापरिक्षक खटाउने भएको छ ।

सहकारी ऐन २०७४ को दफा ७५ बमोजिम सहकारी संस्थाले प्रत्येक आर्थिक वर्षको लेखापरिक्षण सो आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र गर्नुपर्ने व्यवस्था छ । तीन महिना भित्र लेखापरिक्षण गर्ने सहकारीमा रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त व्यक्तीले त्यस्तो सहकारीको लेखापरिक्षण गराउन सक्ने व्यवस्था रहेको छ ।

सोही कानुनी आधारमा टेकेर सहकारी विभागले सहकारीको लेखापरिक्षण गर्न परामर्शदाता (लेखा परिक्षक) लाई सूचिकृत हुन सूचना समेत जारी गरेको छ । बैशाख ७ गते १५ दिने सूचना जारी गरी लेखा परिक्षकलाई सूचिकृत हुन आव्हान गरेको हो । सहकारी विभागले यस कामको लागि क्षेत्रगत शर्त समेत तयार पारेको छ ।

यसरी विभागमा सुचिकृत भएका लेखा परिक्षकलाई सहकारी विभागले सहकारीको लेखापरिक्षण गर्न खटाउने छ । विभागले खटाएको लेखापरिक्षको पारिश्रमीक भने स्वंय संस्थाले व्यहोर्नु पर्ने विभागले जनाएको छ ।

सहकारी विभागले खटाई पठाएको सहकारी संघ संस्थाहरुको आर्थिक कारोबार नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारीता तथा औचित्य समेतको जाँच गरी स्वतन्त्र, निर्भीक एवं पेशागत अनुशासनका अधिनमा रहेर प्रचलित कानून बमोजिम विस्तृत प्रतिवेदन पेश गर्ने प्रमुख उद्देश्य रहेको छ ।

सहकारी विभाबाट भएका नियमित अनुगमनका क्रममा केही सहकारीले तोकिएको समयमा लेखापरिक्षण नगर्ने गरेको पाएपछि विभागले यस्तो व्यवस्था गरिएको सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।
विभागले खटाएको लेखापरिक्षकले तोकिएको कार्य सम्झौता तोकिएकै अवधिमा तोकिए बमोजिम पुरा गरी तोकिएको ढाँचामा प्रतिवेदनको मस्यौदा विभागमा पेश गर्नेछ ।

उक्त पेश गरिएको प्रतिवेलनको सम्बन्धमा विभागबाट प्राप्त सुझाव, प्रतिक्रिया र टिप्पणीहरुको आधारमा अन्तिम प्रतिवेदन सहकारी विभागलाई बुझाउनु पर्नेछ ।

अभिलेख

लोकप्रिय