२४ कात्तिक २०८३, मङ्गलबार

सहकारी आफैंमा उद्यमी होइनन्: डा. देवराज रोका

२०७८ चैत २६, शनिवार
सहकारी आफैंमा उद्यमी होइनन्: डा. देवराज रोका

काठमाडौं : युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोकाले मुलुकको अर्थतन्त्र सक्षम र उत्पादनमुखी बनाउन सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेशनल युथ फोरममा कार्यपत्र प्रस्तुत गर्दै डा. रोकाले राजश्व र रेमिट्यान्सलाई मात्र अर्थतन्त्रको आधार मान्दा उल्लेख्य प्रगति हुन नसकेकाले अब सहकारीहरु उत्पादनशील बनेर सुधारमुखी अर्थतन्त्रमा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

‘सहकारी संस्थाहरु गाउँ शहरमा क्रियाशील छन् । सुत्केरी र क्रियापुत्री उतार्नेदेखि विहेबटुलु सफल बनाउन क्रियाशील छन् । सहकारीहरुमा एकता देखिन्छ । तर अब सहकारीहरु उत्पादनमुलक क्षेत्रमा लगाएर उद्यमशील बन्नुपर्छ,’ उहाँले भन्नुभयो ,‘देशका ३२ हजार सहकारी संस्थाहरुलाई राज्यका महत्वपूर्ण माध्यम हुन । ती सहकारीहरुलाई समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा केन्दीत गराउन सही परामर्श, विषयगत अवसर र नीतिगत रुपमा सहज बनाइनुपर्छ ।’

देशमा जस्तोसुकै योजना वा बजेट निर्माण भए पनि ति परम्परागत रहेकाले अबका दिनमा सहकारीलाई राज्यले सहजीकरण गर्दै विषयगत क्षेत्रमा लगानी जरुरी रहेको उहाँको भनाइ थियो ।

‘सहकारी आफैंमा उद्यमी होइनन् । उद्यमशीलता गर्न कुरामा मानिसको सोच बदल्नुपर्छ । सोही अनुसारको सोच बनाउनु पर्छ । हाम्रा उत्पादन महत्वपूर्ण छन तर त्यसको बजारीकरण हुनुपर्छ,’ उहाँले भन्नुभयो,‘ संसारमा हरेक मान्छेको इच्छा भनेको सुखी हुने छ । हरेक मानिस सुखी हुन संघर्ष गरिरहेका छन् । त्यसका लागि उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ ।’

देशलाई समृद्धि र सुखी बनाउने कुरा विश्वको वाद नै भएको उल्लेख गर्दै डा. रोकाले श्रम र उत्पादन नगरी मानिसहरु धनी बन्ने कल्पना गर्नु गलत भएको उहाँले बताउनुभयो । नेपालको मौद्रिक नीति बदल्न नसक्दा मानिसहरुबीच विभेद कायम रहने भएकाले त्यसलाई परिवर्तन आवश्यक रहेको उहाँले बताउनुभयो ।

अभिलेख

लोकप्रिय