१६ जेठ २०८३, शनिवार

युवा उद्यमशीलता र सहकारी

२०७८ चैत २४, बिहिबार
युवा उद्यमशीलता र सहकारी

– सागर ढकाल

‘युवामा सौन्र्दय हेर्ने क्षमता भएकाले नै उनीहरु खुसी हुन्छन् । जसले सुन्दरता देख्ने क्षमता राख्छ उ कहिल्यै बृद्ध हुदैन ।’– फ्रान्ज काफ्का

फ्रान्सका १९ औं शताब्दीका चर्चित साहित्यकार फ्रान्स काफ्काको यो अभिव्यक्तीले युवा अवस्थाको सुन्दर पक्षलाई गहन र मनोवैज्ञानिक रुपमा चित्रण गरेको छ । युवा अवस्था मानिसको सबैभन्दा बहुमुल्य गुण भएको अवस्था भएकाले नै उसले आफूलाई मात्र होइन, समुदाय र विश्वलाई नै आफ्नो रचनात्मक क्षमताबाट खुसी बनाउन सक्छ । सुन्दर बनाउन सक्छ । त्यसका लागि अब युवालाई रोजगारीको खोजीमा नभई रोजगारी सिर्जनाकर्ता बन्न तयार गर्नुपर्छ । हामीले हाम्रो व्यावसायिक र सीप सञ्जाललाई महत्वकांक्षी बनाउन आवश्यक छ । यदि धेरै युवा कर्मचारी बन्न चाहन्छन् भने त्यसले देशमा रचनात्मक रुपमा फरक पार्दैन । यसबाट त उपभोग्य अर्थतन्त्र बन्छ । आज नेपालको आवश्यकता हो रोजगारदाता अर्थतन्त्र बनाउनु, उद्यमशील अर्थतन्त्र बनाउनु । समृद्ध नेपाल निर्माणका लागि युवालाई नेतृत्व गर्न सक्षम, उद्यमी बनाउनै पर्छ । सामूहिक रुपमा काम गर्दा यो सम्भव छ । सामुहिक भावना जागरुक गर्न आवश्यक छ । त्यो सहकारीमार्फत सम्भव छ । त्यो आज र अहिलेबाट नै शुरु गर्न सकिन्छ ।

२०३० एजेण्डाको रुपमा रहेको दीगो विकास लक्ष्यका १७ वटा एजेण्डा हासिल गर्नका लागि हामीले युवा जनशक्तिको परिचालन गरी उद्यमशीलतालाई ध्यान दिएनौं भने हामीले सोचे जस्तो रुपान्तरण गर्न सकिँदैन । नीतिगत रुपान्तरण मात्र होइन, हाम्रो आचरण र व्यवहारमा समेत परितर्वन आवश्यक छ । युवामैत्री वातावरणका लागि सबैको सामुहिक प्रतिबद्धता र कार्यन्वयनको आवश्यकता छ । गरिबीको अन्त्य गर्न, असमानतालाई सम्बोधन गर्न र जलवायु परिवर्तनसँग लड्न युवाहरुको जोश, आवाज र सीपहरु पहिले भन्दा आज धेरै महत्वपूर्ण बनेर आएको छ । सावर्जनिक, निजी र सहकारी अर्थतन्त्रका तीनवटै खम्बाले यो विषयलाई बुझ्नुपर्छ । युवालाई नेतृत्व तहमा रहेर महत्वपूर्ण योगदान गर्ने यो उपयुक्त अवसर पनि हो । त्यसका लागि युवालाई जिम्मेवारी दिने, विश्वास गर्ने वातावरण तय गर्नुपर्ने हुन्छ । युवालाई समर्थन गर्ने र ठाउँ दिने विषयमा हिचकिचाउनु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हाल्नु सरह हो ।

प्रायः जसो गरिवी एक पुस्ताबाट अर्काे पुस्तामा सरेको पाइन्छ । गरिबीको यो चक्र तोड्दा मात्र हामीले गरिबी अन्त्य गर्न सक्छौं । यसका लागि बालबालिका र युवाहरुलाई उनीहरुको पूर्ण क्षमतामा पुग्न अर्थतन्त्रका तीनवटै खम्बाले मद्दत गर्नु पर्छ । त्यसमा पनि सहकारीले पुँजी, सीप, क्षमता र स्थान समेत दिन सक्ने भएकाले युवा सशक्तिकरणमा सहकारी पहिलो औजारका रुपमा रहनसक्छ । नेपाल सरकारले नीति कार्यक्रम तथा बजेटको तयारी गरिरहेको यो समयमा युवालाई सम्बोधन गर्न र सहकारीमार्फत युवा परिचालन गर्नका लागि फोकस हुनसकेको खण्डमा हामीले बर्षाैदेखि भोगिरहेका चुनौतीहरुको समाधानका उपायहरु समेत प्राप्त गर्न सक्छौ ।

गुणस्तरीय शिक्षा, स्वास्थ्यका साथै जलवायु परिवर्तन विश्वव्यापी समस्या हो । विश्वभरका युवाहरु वातावरण र आफ्नो भविष्यको रक्षाका लागि बोलिरहेका छन् । विशेष गरी एसिया प्रशान्त देशहरुमा बसोबास गर्ने युवाहरु सबैभन्दा प्राकृतिक प्रकोपको जोखिममा छन् । समुदायलाई जलवायु परिवर्तबाट सचेत गराउँदै जोखिम न्यूनिकरणका लागि युवालाई सामुहिक रुपमा सक्रिय गराउन सहकारी मोडेलमार्फत कार्यक्रमहरु ल्याउनुपर्ने आजको आवश्यकता हो । यस विषयमा पनि सरकारको विशेष ध्यान जान जरुरी छ । युवाहरु मडारिरहेको अनिश्चितताको डरलार्ई आशा, शान्ति र न्यायमा बदल्नुपर्ने चुनौती छ । जुन नेपालको सन्दर्भमा अझ विकराल बन्दै गएको छ ।

नेपालमा कुल जनसख्याको एक तिहाई युवा छन् । सन् २०३० मा नेपाललाई कहाँ पु¥याउने भन्ने विषय आज हामीले युवामा गरेको लगानी र योगदानले भर पर्छ । अहिले पनि युवा श्रम बेच्न विदेशीेने लहर रोकिएको छैन । युवा विदेश नजाँने हो भने नेपालमा रेमिट्यान्ट भित्रिदैन र नेपालको अर्थतन्त्रमा ठूलो असर पर्दछ । तर यसले देशलाई आत्मनिर्भर बनाउन र समृद्ध हासिल गर्न सम्भव छैन । त्यसका लागि युवा उद्यमशिलताका लागि राष्ट्रको युवा मैत्री नीति हुनु आवश्यक छ । सहकारीले ठूलो पँुजी निर्माण गर्न सफल भएका छन् । सहकारीमा ७३ लाख बढी मानिस आवद्ध पनि छन् । यो देशकै ठूलो नेटवर्क भएको अभियानलाई युवामैत्री अभियानका रुपमा अगाडि बढाउनका लागि सहकारीमा अब बृहत युवा सञ्जालहरु निर्माण गर्नुपर्दछ । सहकारीमा अब युवाहरूको संलग्नतालाई नीति निर्माण तहदेखि कार्यन्वयन तहसम्म बृद्धि गर्दै अन्य सार्जजनिक र निजी क्षेत्रलाई पनि युवा मैत्री वातावरण निर्माणका लागि हामीले मागदर्शन गर्न सक्छौं ।
जसरी महिला नेतृत्वमा सहकारीको भूमिका रह्यो त्यसैगरी समुदायहरूमा युवा नेतृत्व बृद्धि गर्नका लागि पनि सहकारीको योगदान रहन्छ । युवाका कार्यलाई प्रोत्साहन र समर्थन गर्ने, साझेदारीर्लाै बढवा दिने र युवाहरुको पहिचानको सुनिश्चिता गर्ने उद्देश्यले युवाको भूमिकालाई प्रोत्साहित गर्न सकिन्छ ।

नेपालको सहकारी अभियानले युवाको एउटा राष्ट्रिय प्लेटफर्म बनाएर युवा परिचालन गर्ने, युवाको आवाजलाई बुलन्द गर्ने देखि युवादेखि युवासम्म सहकार्य र अन्तर पुस्ताबिचको अन्तरसम्बन्धलाई बढवा दिने कार्य गर्ने गरी जानुपर्छ । ६५ औं राष्ट्रिय सहकारी दिवसको थीम मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने रहेको छ । यो थिमलाई सार्थक बनाउनका लागि पनि सहकारीको नीति निर्माण तहदेखि कार्यन्वयन तहसम्म युवाको भूमिका बृद्धि गर्नु अपरिहार्य छ । सहकारी सामुहिक मोडेल हो । सहकारी मोडेलमार्फत उद्यमशीलता बृद्धि हुँदा जोखिम न्यून हुने भएकाले पनि युवाको आकर्षण हुनुपर्ने हो । तर त्यो सोच जस्तो हुन नसक्नुको पछाडिको विषयलाई पनि हामीले विश्लेषण गर्नुपर्छ ।

ऊर्जावान युवा जनसंख्याबाट लाभ उठाउँदै आर्थिक र सामाजिक प्रगतिको लागि यो अभुतपुर्व सम्भावनाहरु सिर्जना भएको समयलाई हामी समृद्ध मुलुक निर्माणका लागि प्रण गर्नुपर्छ । युवाका ठोस कार्यक्रमहरु नहुँदा ऊर्जावान शक्ती विदेशीएका छन् । बेरोजगार छन् । उद्यम गर्न चाहानेलाई पनि निराश बनाउने कार्य भइरहेको छ भन्ने गुनासाहरुबिच पनि चुनौतीपूर्ण अवस्थाबाट माथि उठेर नेपाली युवाहरुले प्रेरणादायी कार्य गरेर उदाहरण प्रस्तुत गरेका पनि छन् ।

ललितपुरकी ओजस्वी बैद्य र लुनिभा मानन्धरले पुराना टायरबाट पनि आत्मनिर्भर बन्न सकिन्छ भनेर उदाहरण दिए । ३२ बर्षिय आयुषा श्रेष्ठको आमो ब्रान्डको गहना अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल छ । त्यसैगरी युवा उद्यमी सन्तोष पाण्डे, जीवन उप्रेती, निकेश ताम्राकार, आयुषि केसी लाखौं युवाको प्रेरणाको स्रोत बन्न पुगेका छन् । सिर्जनशिल युवाहरुलाई सहकारीले पुँजी, सिप र ठाउँ दिन सकेको खण्डमा नेपालमा उद्यमी युवाको संख्या बढ्ने थियो । शहरदेखि गाउँसम्मका युवाहरु उत्पादनमा जोडिने थिए । युवा भविश्य मात्र होइन । युवा वर्तमान र भविश्य दुवैका लिडर हुन् । हामीले यसरी सोच्नु पर्छ । अनि मात्र अहिले र आजै युवाले नेतृत्व र भूमिका पाउने छन् ।

अब पनि हामी युवामैत्री भएर सोच्न सकेनौं भने ठूलो संकटमा पर्न सक्छौं । आज संसारकै ठूलो समस्याका रुपमा बेरोजगारी बन्दै गएको छ । अझ कोभिड १९को महामारीपछि हामीले पुरानै अवस्थामा विश्वलाई पाउने छैनौं । नयाँ अवसरहरु सिर्जना गर्नुपर्ने चुनौतीहरु छन् । त्यसका लागि हामीले युवालाई तयार गर्नुपर्ने हुन्छ । त्यो विषयमा त हामी प्रवेश नै गरेका छैनौं । अबको केहि समयमा नै मेसिन लनिङ्ग र रोबोटिकको असर प्रत्येक क्षेत्रमा देखिनेवाला छ । बैकिङ, पोष्टल, रेटिङ, शिक्षण, ग्राहक सेवाजस्ता रोजगारलाई मानिसको स्थानमा रोबटले स्थान बनाउन सक्ने देखिन्छ । प्रविधिको यति दु्रत गतिमा परिवर्तन भैरहेको समयमा हामीले यो समस्या समाधानका लागि पनि युवालाई उद्यमी बनाउनुको विकल्प रहँदैन । हामीले फरक सामाजिक व्यवसाय र सामाजिक प्रणाली भएको सहकारी उद्यमलाई बढवा दिनुको अब विकल्प छैन भन्ने लाग्छ ।

(लेखक राष्ट्रिय सहकारी महासंघका संचालक तथा युवा समन्वय उपसमितिका संयोजक हुनुहुन्छ ।)

अभिलेख

लोकप्रिय