पैसा तिर्दा पनि नउठ्ने फोहोर किन्दै सहकारी
पोखरा : पोखरामा ६ दिनदेखि फोहोर उठेको छैन । ल्यान्डफिल साइट क्षेत्रका प्रभावित नागरिकले आफ्ना माग सम्बोधन नगरेको आरोपसहित सडक बन्द गरिदिएपछि पोखरा दुर्गन्धित बनेको छ । महानगर पटक पटक वार्तामा बस्ने, सम्झौता गर्ने तर कार्यान्वयन गर्न नसकेको भन्दै स्थानीय आन्दाेलित भएका हुन् ।
आफ्नो क्षेत्रमा सडक राम्रो नबनाएको, स्वास्थ्यचौकी नबनाएकोलगायत समस्या उनीहरूले राख्ने गरेका छन् । आफ्नो घरको फोहोर फाल्न पोखरेलीले सरकारलाई पैसा पनि तिर्छन् । व्यवसाय र घरको कोठा हेरेर फोहोर शुल्क लिने गरेको पोखराले राम्रो सेवा भने दिन सकेको छैन । सातामा मुस्किलले एकपटक फोहोर लिने गाडी पठाइन्छ । त्यसमाथि धेरै जागिरे भएका कारण महानगरले पठाएको गाडी भेट्न सकिँदैन ।
पोखराको फोहोर १४ नम्बर वडामा रहेको ल्यान्डफिल साइटमा लगेर थुपारिन्छ । कुहिने नकुहिने सबै फोहोर एकै ठाउँमा राख्दा ल्यान्डफिलको आयु लगभग सकिएको छ । ‘ल्यान्डफिल करिब करिब भरिएको छ । अब नयाँ ठाउँको खोजी गर्नुपर्छ,’ ल्यान्डफिल साइट इन्चार्ज नेत्र तिमल्सिना भन्छन्, ‘फोहोर वर्गीकरण गरेको भए केही वर्ष अझै चल्न सक्थ्यो ।’
पोखरेलीले कुहिने र नकुहिने सबै फोहोर एउटै पोको बनाएर कन्टेनरमा पठाउँछन् । कहिलेकाहीँ यहाँको फोहोरबाट बिजुली निकाल्नेदेखि ब्रिक बनाउनेसम्मका योजना पोखरा महानगरले बनायो । तर कुनै पनि योजना टुंगोमा पुगेन र फोहोरको दीर्घकालीन व्यवस्थापन अघि बढ्न सकेन । बरु पोखरामै केही सहकारीले नकुहिने फोहोरको व्यवस्थापनमा नयाँ प्रयोग सुरु गरेका छन् ।
पोखरा-१६ अर्मलामा रहेको ग्रीन भ्याली सहकारीले नागरिकसँग फोहोर किनेर बेच्न थालेको हो । ‘सडकका छेउछेउमा फोहोर छ । तीमध्ये ७० प्रतिशत फोहोर नकुहिने खालको छ,’ सहकारीका अध्यक्ष प्रकाश आचार्यले भने, ‘नकुहिने फोहोर छुट्याइदिएको भए हामी लिन्थ्यौं ।’
उनले सबैका घरघरै पुगेर नकुहिने फोहोर संकलन गर्न सकिने बताए । ‘हामीसँग दैनिक तीन टन फोहोर उठाउन सक्ने क्षमता छ । तर फोहोर छुट्याइदिनुपर्छ,’ उनले भने, ‘पैसा तिरेर पनि सफासँग बस्न नपाएको पोखरेलीको फोहोर हामी पैसा दिएर किन्छौं ।’
सहकारीले गएको एक वर्षदेखि फोहोर संकलन गर्न थालेको हो । दैनिक एक टन फोहोर संकलन गर्दै आएको उनले बताए । सहकारीले प्लास्टिक प्रतिकेजी ८ रुपैयाँ, कागज प्रतिकेजी १० रुपैयाँ, फलाम प्रति केजी ४० रुपैयाँ, कपडा प्रति केजी ४, तामा प्रति केजी ६ सय ५० रुपैयाँ र वियरको बोतल प्रतिगोटा ५० पैसामा खरिद गर्ने गरेको छ ।
सहकारीमा एक सय ४३ जना सेयर सदस्य छन् भने ५० लाख पुँजी संकलन भएको छ । पोखराबाट मासिक ४० करोडको कवाडीजन्य वस्तुको ब्यापार भइरहेको छ । मेटलबाहेक कवाडीजन्य सामग्रीबाट आठ करोडको ब्यापार हुने गरेको छ । अहिलेको फोहोर संकलन प्रणालीलाई सुधार गर्न सके अझै धेरै कारोबार हुने बताइएको छ ।
ग्रीन भ्यालीजस्तै फोहोरको कारोबारका लागि पोखरामा थप दुईवटा सहकारी पनि स्थापना गरिएका छन् । शीतलादेवी र रामबजारमा नयाँ सहकारी दर्ता भएर कवाडी संकलनको काम सुरु गर्ने तयारी थालेका हुन् । केही समयअघि प्लाष्टिकबाट सडक पिच गर्ने अभ्याससमेत पोखरामै भएको थियो ।
अहिले पोखराको टाउको दुखाईको विषय बनेको छ ‘फोहोर’ । पाेखराबाट दैनिक एक सय १० टन फाेहाेर उत्पादन हुन्छ । त्यसकाे सबैजसाे ल्यान्डफिलमा लगिन्छ । पाेखराले फाेहाेर व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रमअनुसार निजी क्षेत्रलाइ ठेक्कामा दिएकाे छ । उक्त कम्पनीहरूले नगरवासीबाट उठाएकाे रकममध्ये ८० प्रतिशत आफू राखेर २० प्रतिशत मात्रै नगरपालिकालाई दिन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
