१८ भदौ २०८३, बिहिबार

इफ्कोले उत्पादन गरेको झोल युरिया मल ल्याउन सरकारको अनुमती

२०७८ फागुन २५, बुधबार
इफ्कोले उत्पादन गरेको झोल युरिया मल ल्याउन सरकारको अनुमती

काठमाडौं : नेपाल सरकारले इन्डियन फारमर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड (इफ्को)ले उत्पादन गरेको नानो युरिया झोल मल बिक्री वितरणका लागि अनुमति दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको समस्या कम गर्न झोल मल बिक्री वितरणका लागि अनुमति दिएको हो।

यसअघि दानादार युरिया मल मात्र आयात गर्न पाइने कानुनी व्यवस्था थियो । अब झोल युरिया मल पनि ल्याउन पाइने भएको छ । दाना युरिया मलभन्दा सस्तो र सजिलो तरिकाले उपलब्ध हुने भएकाले त्यसको विकल्पमा किसानले नानो युरिया मल प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ ।

नानो युरिया मललाई नेपालमा आयात र प्रयोग गर्न अनुमति दिइएको र सूचीकृत गरिएको सूचना सोमबार राजपत्रमा प्रकाशित भएको छ । नेपालमा पहिलो पटक रासायनिक मल पनि झोलका रूपमा पाउने भएको हो । भारतमा सहकारीले उत्पादन गर्ने उक्त मल सजिलै खरिद गरेर ल्याउन सकिन्छ ।

नानो युरिया मल नेपालका लागि उपयुक्त छ कि छैन भनी परीक्षण गर्दा सकारात्मक परिणाम आएपछि सरकारले बिक्री वितरणका लागि अनुमति दिएको हो ।

काउली तरकारीमा गरेको परीक्षणबाट नानो युरिया मल सस्तो पर्ने देखिएको छ । दाना युरिया मलको तुलनामा यो नानो युरिया मल प्रयोग गर्दा प्रतिहेक्टर आठ हजार १ सय ५० रुपियाँ कम खर्च लाग्ने समेत अध्ययनले देखिएको छ ।

एक बोरा (५० केजी) दानादार युरिया मल बराबर पाँच सय एमएल नानो झोल मल हुने गरेको छ । पाँच सय एमएल झोल युरिया मलको ३८० रुपियाँ मात्र पर्छ जब की एक बोरा दाना युरिया मलको मूल्य अनुदानसहित ७ सय ५० रुपियाँ पर्छ ।

अभिलेख

लोकप्रिय