१८ भदौ २०८३, बिहिबार

नयाँ सञ्चालक समितिको जिम्मामा समस्याग्रस्त नयाँ सन्देश सहकारी

२०७८ फागुन २३, सोमबार
नयाँ सञ्चालक समितिको जिम्मामा समस्याग्रस्त नयाँ सन्देश सहकारी

काठमाडौं : बुढानिलकण्ठ नगरपालिकाले समस्याग्रस्त नयाँ सन्देश बचत तथा ऋण सहकारी संस्थाको ब्यवस्थापन नयाँ संचालक समितिलाई सुम्पिएको छ ।

नगरपालिकाले फागुन २० गते संस्थाका शेयर सदस्यहरुको भेला आयोजना गरेर हित बहादुर मोक्तानको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरेको हो । भेलाले संचालक समितिको उपाध्यक्षमा प्रदिप क्षेत्री, सचिवमा पुन्य प्रसाद स्नेही र कोषाध्यक्षमा सिद्धी साहीलाई चयन गरेको छ ।

यसैगरी भेलाले राम बहादुर श्रेष्ठ (सुनकाजी), माया तामाङ र विष्णु शाह ठकुरीलाई सदस्यको जिम्मेवारी दिएको छ । यस्तै राम कुमार सुवेदीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन भएको छ । समितिमा राजकुमारी श्रेष्ठ र उर्मिला तामाङ सदस्य रहनुभएको छ ।

बुढानीलकण्ठ नगरपालिका-५, मा संचालित उक्त सहकारीले सदस्यको करिब २५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको उजुरी परेको थियो । नगरपालिकाले २०७७ असोजमा उच्च अदालतका पूर्व न्यायाधीश भोला चौलागाईंको अध्यक्षतामा ७ सदस्यीय समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेर संस्थालाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापनको जिम्मा लिएको थियो ।

समितिले यस अवधिमा संस्थाको प्रतिवेदन तयार पारेर लेखापरीक्षण समेत सम्पन्न गरेको जनाएको छ । समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले नगरपालिकालाई उक्त सहकारी पुनः संचालन गर्न सुझाव दिएपछि नगरपालिकाले सदस्यहरुको भेला डाकेर संस्थामा नयाँ संचालक समिति गठन गरेको हो ।

नगरपालिकाले नव गठिन संचालक समितिलाई संस्थाको आर्थिक तथा संस्थागत प्रतिवेदन हस्तान्तरण गरेको छ ।

अभिलेख

लोकप्रिय