१८ भदौ २०८३, बिहिबार

बागमती प्रदेश सहकारी संघको प्रथम साधारण सभा सम्पन्न

२०७८ पुष २९, बिहिबार
बागमती प्रदेश सहकारी संघको प्रथम साधारण सभा सम्पन्न

काठमाडौं : बागमती प्रदेश सहकारी संघको प्रथम वार्षिक साधारण सभा आज (पौष २९ गते) सम्पन्न भएको छ । संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको सभापतित्व एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभामा अध्यक्ष कँडेलले बागमती प्रदेशमा रहेका केहि सहकारीमा समस्या रहेकाले त्यसलाई समाधान गर्न प्रदेश संघले पनि भूमिका खेल्नुपर्ने बताउनुभयो । आफुहरुले पहिलादेखि नै सहकारी विभागमा संयुक्त अनुगमनका लागि आवाज उठाउँदै आएकोमा प्रदेश रजिष्ट्रार कार्यालयले त्यसप्रकारका योजना ल्याउनु सकारात्मक भएको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि एवं राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दीपकप्रसाद बाँस्कोटाले संघहरु आफ्नो सदस्य संस्थालाई स्वायत्त र आत्मनिर्भर बनाउन अग्रसर हुनुपर्ने बताउनुभयो। सरकार र सहकारीबीचको दूरी कायम गर्नसके सहकारीको भविष्य उज्ज्वल रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा सहकारी महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटाले पुँजी, सहभागिता र सक्रियताको हिसाबले सहकारी जनताको सञ्जाल बनेकाले यसलाई अनुशासित रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा संघका अध्यक्ष शर्माले मुलुकभरका सहकारीमध्ये करिब ३५ प्रतिशत सहकारी बागमती प्रदेशमा रहेको र कुल कारोबारको करिब ६० प्रतिशत हिस्सा यही प्रदेशले ओगटेको बताउनुभयो । प्रदेशको सहकारी अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारका सबै नियामक, केन्द्रिय र विषयगत संघहरुसँग समन्वय गरेर अगाडि बढ्ने उहाँको भनाई थियो ।

कार्यक्रममा संस्थाका महासचिव भीमप्रसाद दाहाललले वार्षिक प्रतिवेदन र तथा कार्यक्रम प्रस्तुत गर्दै चालु आवमा ४०० संस्थालाई सदस्य बनाउने लक्ष्य लिएको बताउनुभयो । शिक्षा तथा तालिम, समन्वय र सहकार्य, साझेदारी कार्यक्रम संघसंस्थाको प्रवद्र्धन तथा अनुगमन, ऐन नियमको संशोधन लगायतका विषयमा संघले भूमिका खेल्ने उहाँको भनाई छ ।

कार्यक्रममा कोषाध्यक्ष टिकाराम भट्टराईले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक नेत्रराज पौडेलले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संघका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले स्वागत मन्तब्य र सचिव देवराज न्यौपानेले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय