२४ कात्तिक २०८३, मङ्गलबार

बिर्तामोडको शिखर साकोस अब आफ्नै भवनमा, सदस्यलाई लकरको सुविधा समेत

२०७८ कात्तिक १७, बुधबार
बिर्तामोडको शिखर साकोस अब आफ्नै भवनमा, सदस्यलाई लकरको सुविधा समेत

बिर्तामोड : झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारीले आफ्नै भवनबाट कारोबार सुरु गर्ने भएको छ । कात्तिक १८ गते लक्ष्मी पुजाको दिनदेखि संस्थाले आफ्नै भवनबाट कारोबार सुरु गर्ने बुधबार आफ्नै भवनमा पत्रकार सम्मेलन गरी संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिनुभयो ।

भोली प्रदेश नं. १ सहकारी रजिष्ट्रार कार्यालय प्रमुख बलराम निरौलाले संस्थाको भवनको उद्घाटन गर्ने उहाँले जानकारी दिनुभयो । बिर्तामोडको भद्रपुर रोडमा २०७७ साल असोज १ गते २९२.२० वर्गमिटर क्षेत्रफलमा साढे तीन तलासहितको भवन २ करोड १८लाख ४० हजार एक रुपैयाँमा संस्थाले खरिद गरेको थियो । आफ्नै भवनबाट सदस्यहरुलाई अझ बढी सेवा दिने बताउनुहुँदै स्थानीय युवाबाट संचालित यस संस्था सुरुवातबाट नै बिर्तामोड क्षेत्रमा अलग पहिचानका साथ सदस्यहरुको सेवा तत्पर रहँदै आएको जानकारी दिनुभयो । २०६७ साल असोज २२ गतेका दिन औपचारिक उद्घाटन गरी शिखर साकोस संचालनमा आएको हो । ४४ जना शेयर सदस्यको ४४ हजारबाट साविक गाविसहरु अर्जुनधारा, गरामनी, शनिश्चरे, चारपाने र अनारमनीसहित ५ गाविस कार्यक्षेत्र रहेर सुरुवात गरिएको शिखर साकोसलाई अहिले जिल्लाकै ठूलो सहकारीको रुपमा लिने गरिन्छ । तीन जना कर्मचारीबाट सुरुवात भएको यस संस्थामा हाल ३५ जना कर्मचारी कार्यरत रहेका छन् । झापा जिल्लाको माई खोलापूर्व कार्यक्षेत्र रहेको यस संस्थामा असोज मसान्तसम्मको तथ्यांक अनुसार कूल सदस्य ७ हजार ८ सय ४६ जना रहेका छन् ।

संस्थाको जम्मा शेयर रकम ५ करोड ४५ लाख ६९ हजार ५ सय रुपैयाँ रहेको छ भने कूल बचत ६५ करोड १५ लाख ९ हजार ७ सय ८७ रुपैयाँ रहेको छ । त्यस्तै कूल ऋण लगानी ६९ करोड ५५ लाख २० हजार ५ सय २६ रुपैयाँ रहेको छ भने खुद नाफा १ करोड ४२ लाख ३३ हजार १सय ९ रुपैयाँ रहेको छ ।

‘प्रविधिमा हामी एक कदम अगाडी’ भन्ने नारासहित संस्थाले प्रविधिलाई समयसापेक्ष अपडेट गर्दै सदस्यहरुलाई मोवाईल बैकिङ्गमा प्रोत्साहन गर्न एक महिनाका लागि कार्तिक १८ गते लक्ष्मी पुजाको दिनबाट बैक ट्रान्सफरमा लाग्ने शुल्क फ्रि गरिएको समेत राउतले जानकारी दिनुभयो । शिखर एम बैंकबाट प्रतिकारोबार १ लाख गर्न सकिने र दैनिक २ लाखसम्म मोवाईलबाट रकम बैंकक ट्रान्सफर गर्न सकिने उहाँको भनाइ छ । साथै उहाँले अत्याधिक सुविधासम्पन्न भवन बनाएसंगै सदस्यहरुको मागलाई ध्यानमा राखेर नेपालमा नै पहिलो पटक सहकारीमा लकर सुविधा ल्याएको बताउनुभयो ।

सामाजिक कार्यमा पनि अग्रणी रहेको संस्थाले स्थापना दिवसको अवसरमा राजगढ सेवा केन्द्रमा १ सय जना विपन्न परिवारका बालबालिकालाई दशैंको लुगा वितरण गरेको थियो । त्यस्तै सदस्यहरुलाई कोरोनाको समयमा १३ लाख ६७ हजार ४३३ व्याज छुट गरेको जनाएको छ ।

कोरोना महामारीको कारण देशैभरि भएको अक्सिजन सिलिन्डरको अभाव भइरहेकाले यसै बर्षदेखि सदस्य तथा सदस्यका परिवारलाई अक्सिजन सिलिन्डर निशुल्क उपलव्ध गराइने संस्थाका सचिव हिमालय प्रसाईले जानकारी दिनुभयो । सदस्यहरुको मृत्यु भएमा ५० हजार, परिवार मृत्यु राहत २५ हजार र घातक रोगको उपचार राहत १० हजार सदस्यलाई उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा संस्थाका सह सचिव तारा खतिवडा, संचालक विज्ञान खड्का, व्यवस्थापक लीला रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

अभिलेख

लोकप्रिय