१७ भदौ २०८३, बुधबार

करुणामय साकोसको ८औं साधारण सभा सम्पन्न, सदस्यलाई १८ प्रतिशत लाभांश दिने

२०७८ असोज ३, आईतवार
करुणामय साकोसको ८औं साधारण सभा सम्पन्न, सदस्यलाई १८ प्रतिशत लाभांश दिने

ललितपुर : ललितपुरको मंगलबजार स्थित श्री करुणामय बचत तथा ऋण सहकारी संस्थाको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ, ललितपुरका सञ्चालक विनोद डंगोलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

‘व्यक्ति, समूह र समाज–एक अर्काको निम्ति सहकारी’ भन्ने मुल नारा रहेको संस्थाको सेयर पुँजी ५० लाख ८५ हजार ८ सय ५० रुपैयाँ रहेको छ । संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ करोड ५६ लाख ५३ हजार ५ सय ५० रुपैयाँ निक्षेप संकलन गरी ३ करोड ७० लाख ७ सय ३६ रुपैयाँ कर्जा लगानी गर्न सफल भएको थियो ।

साधारण सभामा संस्थाका अध्यक्ष उदय ताम्राकारको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक सुरेन्द्र ताम्राकारको लेखा प्रतिवेदन र कोषाध्यक्ष राजेश ताम्रकारले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।

साधारण सभाले सदस्यलाई १८ प्रतिशत लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ ।

कार्यक्रममा ललितपुर जिल्ला बचत संघका निवर्तमान लेखा सुपरिवेक्षण समितिका संयोजक तथा संस्थाका उपाध्यक्ष राजु ताम्राकारले स्वागत मन्तव्यको क्रममा सञ्चालक समिति संस्थाको निर्दिष्ट उद्देश्य प्राप्त गर्न गरेको निश्वार्थ लगाव नै संस्थाको शक्ति भएको बताउनुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार महेन्द्र बहादुर चित्रकार, राजेश अवाले र रविन्द्र राज ताम्राकारले नीति, विधि र प्रवृधिमा सहकारीलाई डोहो¥याउनु पर्ने बताउनुभएको थियो ।

कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार, राष्ट्रिय सहकारी बैंकका संस्थापक अध्यक्ष तथा सहकारी अभियन्ता राजेशहरी जोशी एवं उप समितिका सदस्य ध्रुर्व मान ताम्राकारको असामयिक निधन प्रति दुखः प्रकट गर्दै एक मिनेट मौन धारण सहित शोक प्रस्ताव पारित गरेको थियो ।

अभिलेख

लोकप्रिय