१७ भदौ २०८३, बुधबार

सिवाईसी सहकारीले थाल्यो लघु उद्यम कार्यक्रम

२०७८ भदौ २०, आईतवार
सिवाईसी सहकारीले थाल्यो लघु उद्यम कार्यक्रम

बाग्लुङ : ‘हुँदा खानेलाई हुने खाने बनाउने लक्ष्य’का साथ स्थापित सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले लघु उद्यम कार्यक्रमको सुरुवात गरेको छ ।

न्यून आय भएका महिलाहरुलाई सशक्तिकरण गर्दै आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले सहकारीले लघुउद्यम कार्यक्रम सुरु गरेको हो । बागलुङमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य प्रकाश शर्मा पौडेलले कार्यक्रमको शुभारम्भ भएको घोषणा गर्नुभएको थियो । पहिलो लघुउद्यम विकास केन्द्रको रुपमा मालिका सदस्य सेवा केन्द्र बाग्लुङ अन्तर्गत बेनी नगरपालिका–२ विमिराबोट केन्द्रलाई प्रदान गरिएको छ ।

सहकारीले लघुउद्यम कार्यक्रममार्फत जागरण, प्रवद्र्धन, विकास र सञ्जालीकरण गरी महिलाहरुको आयआर्जन वृद्धि गर्नुका साथै सम्पत्तिमा महिलाको पहुँच स्थापित गर्ने लक्ष्य राखेको छ ।

सदस्यहरुलाई अधिकार, आवाज, छनौट र सल्लाहबाट सशक्तिकरण गर्ने रणनीति अवलम्वन गरेको छ । संस्थाको कार्यक्षेत्र रहेका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका उद्यमी बन्न इच्छुक महिलाहरुमा बचत गर्ने बानीको विकास, क्षमता अभिवृद्धि, वित्तीय व्यवस्थापन सम्बन्धी तालिम मार्फत उद्यमशिलता विकास गरी महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने लक्ष्य रहेको छ ।

चालु आर्थिक वर्षमा लघुउद्यम कार्यक्रममा ३ हजार महिला सदस्यहरुलाई आवद्ध गराई पहिलो चरणमा ११ वटा सेवा केन्द्रमार्फत १२० वटा लघुउद्यम केन्द्रमा ३६ करोड पुँजी परिचालन गरिने सिवाईसी साकोसका लघुउद्यम विभाग प्रमुख विष्णु पौडेलले बताउनुभयो ।

अभिलेख

लोकप्रिय