१७ भदौ २०८३, बुधबार

नाफाको पछि नकुद्न राष्ट्रिय सहकारी बैंकलाई अर्थमन्त्रीको आग्रह

२०७८ साउन १९, मङ्गलबार
नाफाको पछि नकुद्न राष्ट्रिय सहकारी बैंकलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले अन्य बैंक जस्तै नाफाको पछाडि नकुद्न राष्ट्रिय सहकारी बैंकलाई आग्रह गर्नुभएको छ । रोजगारी सिर्जना, गरिबी निवारण, उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने कुरामा सहकारी बैंकको भूमिका बढाउन आग्रह गर्नुभएको हो ।

राष्ट्रिय सहकारी बैंकको १९औं स्थापना दिवसको अवसरमा आयोजित ‘लघुवित्तमा सहकारी सम्मेलन’ मा बोल्नुहुँदै अर्थमन्त्री शर्माले भन्नुभयो, ‘गरिबहरुले पाउने ऋणको ब्याज महँगो छ भने, घरगाडी किन्ने ऋणको ब्याज सस्तो छ । यो मुलुकका लागि विडम्बना हो । यसलाई सच्याउनुपर्छ ।’

सहकारी र लघुवित्त संस्थाहरुले सुलभ र सस्तो ब्याजदरमा ऋण लगानी गर्नुपर्ने समेत बताउनुभयो । गरिबी न्यूनिकरणका लागि हुँदै आएका अभियानलाई अझ व्यवस्थित रुपमा अघि लैजानुपर्ने उहाँको भनाई थियो । उत्पादनमुखी अर्थतन्त्रको विकास अहिलेको आवश्यकता भएकाले सहकारी बैंक, सहकारी संस्था र लघुवित्तहरु त्यसतर्फ केन्द्रित हुनुपर्नेमा उहाँको जोड थियो ।

अर्थतन्त्रका तीनमध्ये एक खम्बाको रुपमा सहकारीलाई लिएको र समुदायसमेतलाई साथ लिएर अघि बढेमात्र अर्थतन्त्रले पूर्णता पाउने उहाँको भनाइ छ । सहकारी अभियानले ६ दशकको अवधिमा विविध क्षेत्रमा राम्रो उपस्थिति जनाउन सकेको भएपनि यसलाई व्यवस्थित ढंगले नियमन र सहजिकरण गर्ने सवालमा एउटा बलियो निकायको उपस्थितिको आवश्यकता भएको आफुले महशुस गरेको उहाँले बताउनुभयो ।

सहकारी क्षेत्रमा आउने विभिन्न समस्या र बचतकर्ताको रकमलाई सुरक्षित बनाउने सन्दर्भमा एउटा दरिलो सरकारी संयन्त्र आवश्यक रहेको उहाँको भनाई थियो ।

अभिलेख

लोकप्रिय