१७ भदौ २०८३, बुधबार

देउखुरी साकाेस घाेटला प्रकरण : साढे दुई लाख धरौटीमा छुटे गाउँपालिका अध्यक्ष सुवेदी

२०७८ साउन १९, मङ्गलबार
देउखुरी साकाेस घाेटला प्रकरण : साढे दुई लाख धरौटीमा छुटे गाउँपालिका अध्यक्ष सुवेदी

दाङ : दाङ जिल्लाको देउखुरी बचत तथा ऋण सहकारी संस्थाकाे रकम हिनामिना प्रकरणमा मुछिएका राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी साढे दुई लाख धरौटी बुझाएर तारेखमा छुटेका छन्।

अदालतले साढे दुई लाख धरौटी मागेपछि अध्यक्ष स्वयम् उपस्थित भई रकम बुझाएर छुटेका हुन् ।

राप्ती गाउँपालिका- ८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्था (तत्कालिन महाप्रभु साकाेस) का सदस्यहरूले पाँच करोड बढी रकम हिनामिना गरेको आरोपसहित गाउँपालिकाका अध्यक्ष सुवेदीसहित २५ जनाविरूद्ध मुद्दा हालेका थिए। सुवेदी सहकारी एकीकरण अघि लेखा सुपरीवेक्षण समितिमा रहँदै आएका थिए । एकीकरणपछि सहकारीमा कुनै पनि प्रकारको संलग्नता नरहेको दाबी अध्यक्ष सुवेदीले गर्दै आएका थिए।

जिल्ला अदालत दाङले गाउँपालिकाका अध्यक्षसहित २० जनाविरूद्ध ३५ दिने म्यादसहित पक्राउ पुर्जी जारी गरेको थियो ।

उक्त घटनामा संस्थाका सह–लेखापाल २९ वर्षीय विक्रम राना, उनकी २७ वर्षीया श्रीमती उषा राना थापा, ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी र लेखापाल ३७ वर्षीय विकास न्यौपाने पक्राउ परेका थिए। अन्य सबै हालसम्म पुर्पक्षका लागि थुनामा रहे पनि उषा राना थापालाई भने अदालतले साधारण तारेखमा रिहा गर्न यसअघि नै आदेश दिइसकेको थियो । रकम हिनामिनाको आरोपितमध्ये कमला पौडेल, युवराज भुसाल, राम पोखरेललगायत सहकारी संस्थाका पदाधिकारी, लेखा परीक्षक, सञ्चालक समितिका पदाधिकारीसहित १९ जना अझै अदालतमा उपस्थित भएका छैनन्।

अभिलेख

लोकप्रिय