२४ कात्तिक २०८३, मङ्गलबार

नुवाकोटको संगम साकोसद्वारा त्रिशुली अस्पताललाई आइसीयू बेड तथा मनिटर सहयोग

२०७८ जेठ १७, सोमबार
नुवाकोटको संगम साकोसद्वारा त्रिशुली अस्पताललाई आइसीयू बेड तथा मनिटर सहयोग

नुवाकोट : बिदुर नगरपालिका-४, बट्टारस्थित संगम बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोटको त्रिशुली अस्पताललाई आइसीयु बेड तथा मनिटर हस्तान्तरण गरेको छ । बिश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस उपचारका लागि आइसियु बेड अभाव भइरहेको बेला सहकारीद्वारा बेड तथा मनिटर हस्तान्तरण गरिएको हो ।

हिजो साकोसका अध्यक्ष नारायण श्रेष्ठले अस्पतालका व्यवस्थापक रिकेस रानालाई आईसीयू बेड र मनिटर हस्तान्तरण गर्नुभयो । यस्तै, विदुर नगरपालिका ९ कोलेनी निवासी तथा ओकेयामा इन जापानका संयोजक नवराज बस्नेतद्वारा प्राप्त अर्को बेड र मनिटर विदुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शनि चित्रकार मार्फत अस्पतालका व्यवस्थापक रानालाई हस्तान्तरण गरिएको हो ।

कोरोना भाइरसविरुद्ध लड्न सरकार मात्रै नभएर समाजका सबै अंगको उत्तिकै भूमिका रहने भएकोले सहकारी र सहकारीको समन्वयमा ओकेयामा इन जापानका संयोजक बस्नेतको सहयोगमा उक्त सामाग्री सहयोग गरिएको सहकारीका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

हस्तान्तरण गरिएको आईसियु बेड र मनिटरको मूल्य करिब ३/३ लाख रहेको सहकारीका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । अस्पताल व्यवस्थापक रिकेश रानाले दिएको जानकारी अनुसार हाल ६ आईसियु र ४ भेन्टिलेटर गरि १० बेड रहेकोमा नयाँ प्राप्त सहयोगसहित अब आईसियु बेड संख्या १२ पुगेको छ । यस प्रकारको सहयोगले नुवाकोट, रसुवा र धादिङको नागरिकले थप राहत पाउने सहकारीले विश्वास लिएको छ ।

अभिलेख

लोकप्रिय