सकस, सफलता अनि स्थायित्वको साधार (प्रकाशकीय)
नेचुरल मिडियाद्वारा सञ्चालित सहकारीखबर डटकम आजबाट औपचारिक रुपमा ९औं वर्ष प्रवेश गरेको छ । संविधानतः आर्थिक उन्नतिको महत्वपूर्ण खम्बा स्थापित सहकारी क्षेत्रमा निष्पक्ष र व्यावसायिक पत्रकारिताको स्वतन्त्र र बिशिष्ट अभ्यासको उद्देश्यसहित न्यू मिडियाको रुपमा सहकारीखबरको पर्दापण भएको समादरणीय पाठक र दर्शकहरुलाई अवगत नै छ । आज गर्वका साथ भन्न सक्छौं हाम्रो उपस्थिति सहकारी क्षेत्रका सकारात्मक गतिविधिहरुको प्रचारप्रसार र कमीकमजोरीहरु औल्याउने काममा सन्तुलित र न्यायपूर्ण रहेको छ । प्रमाण यसको बढ्दो लोकप्रियता, विश्वसनीयता र प्रभावकारीता सिवाय अरु केही होइन । मूलधारका सञ्चारमाध्यममा नअटाएका अनि ओझेलमा परेका सहकारी गतिविधिहरु हाम्रा महत्वपूर्ण खुराक हुन् । सहकारीमार्फत समाज रुपान्तरण सम्भव छ, सदस्य र समुदायसँगै समग्र मुुलुकको विकास सम्भव छ तर यसको पूर्व सर्त सुशासन, पारदर्शिता, सदस्य केन्द्रीयता र निष्पक्षता अनि विवेकपूर्ण प्रजातान्त्रिक आचरण र अभ्यास हो भन्नेमा दुई मत छैन । यस अर्थमा सहकारी र पत्रकारिताबीच समानताका सम्बन्धहरु छन् । २१ औं शताब्दीको पत्रकारिताले पनि हिजो भन्दा बढी विवेक, सुशासन र पारदर्शिता अनि प्रजातन्त्रको माग गर्दछ । सहकारीखबर यस विषयमा बढी नै सचेत रहेको अवगत गराउन चाहन्छ ।
सहकारीखबर डटकमले अनलाइन मिडियामार्फत सहकारी क्षेत्रमा देखिएका विकृति–विसंगति, त्यस क्षेत्रमा प्राप्त सफलता, सफलताका कथा, उत्प्रेरणाका कथा, राज्यलाई गरेको योगदान, नीतिगत क्षेत्रमा देखिएका कमजोरी र सुधारका पक्ष लगायत गहकिला विषय उठान गर्दै आएका छौँ । सहकारी क्षत्रको सर्वाधिक लोकप्रिय मिडिया र सहकारीकर्मीको ढुकढुकी बन्न सफल भएकोमा हामी गर्व गछौँ । यो सबै सफलता यहाँहरुजस्तै प्रबुद्ध पाठक वर्गकै कारण सम्भव भएको हो । यो सफलतासँगै चुनौती पनि छन् । आजसम्मको सफलतालाई थप मजबुत र विश्वासिलो बनाइरहनु हाम्रो कर्तव्य र धर्म हुनेछ ।
नेपालको सहकारी अभियानमा सञ्चारमाध्यमको तर्फबाट एक अभियन्ताका रुपमा सहकारीखबर डटकम उभिएको छ । नेपालको सहकारी आन्दोलनलाई द्रुत गतिमा अगाडि बढाउन सञ्चार क्षेत्रको भूमिका अब निर्णायक भइसकेको छ । यस कुरालाई मनन गरेर हामीले सहकारी क्षेत्रका सफलताका कथा र यसभित्रका अनियमितता, समस्यालाई मात्र उजागर गरेका छैनौं, सहकारीमा आउनसक्ने सम्भावित संकटका विषयमा समेत सजग गराउने प्रयास गरेका छौं ।
यो यात्रा सहज बनाउन हामी एक्लैको प्रयास कदापि प्रयाप्त थिएन र हुने छैन । हाम्रो सुरुवात कम सकसपूर्ण रहेन र आजका दिनमा पनि व्यावसायिक पत्रकारिताको धर्म निर्वाह गर्न र दिगोपनाका निम्ति चुनौतीहरुका चाङ छन् । त्यसमाथि कोभिडले पत्रकारितालाई पनि अप्रभावित बनाउन सकेन । हामीले यस अवधिमा धेरै संघर्ष, चुनौती, व्यवधानसँगै हौसला र अनुपम अनुभव संगालेका छौं । हामी अझै परिपक्व भएको दाबी गर्दैनौं, सत्य यत्ति हो कि सहकारीको क्षेत्रमा हामी पहिलो सन्तानका रूपमा स्थापित हुन सकेका छौं । र, यो अवसरमा हामीले पाएको स्थानलाई अझै उचाइँमा पुर्याउने दृढता समेत व्यक्त गर्दछौं ।
आमपाठकलाई सुसूचित गराउने मूल दायित्वबाट हामी कहिल्यै बिमुख हुने छैनौं । सहकारीखबरले विगतमा निष्पक्ष कभरेजको आमरूपमा जुन प्रशंसा पाएको छ, त्यसले हामीलाई जिम्मेवारपूर्ण र व्यवसायिक भएर अघि बढ्न थप ऊर्जा दिएको छ ।
सहकारी क्षेत्रलाई संस्थागत गर्न सहकारीकर्मीलाई घचघच्याउनुका साथै सहकारी क्षेत्रका विकृतिलाई निरुत्साहित गर्न हामी कटिवद्ध छौं । यति भनिरहँदा सहकारी मूल्य र मान्यताका पक्षमा हाम्रो पहरेदारी अझ बलियो गरी हुने प्रण पनि यही अवसरमा पुनः दोहोर्याउन चाहन्छौं ।
अन्त्यमा, सहकारीखबर डटकम ९औं वर्ष प्रवेशको यो खुसीमा विशेषतः हाम्रो आरम्भका सहयात्री लगायत सबै शुभेच्छुक, सहयोगी हात र हौसलाप्रति आभार प्रकट गर्न चाहन्छ । विशेषगरी श्रद्धेय पाठक, सिर्जनशील पत्रकार, लगनशील कर्मचारी, सहयोगी सहकारी संघ संस्था, विज्ञापनदाता र एजेन्सीलगायतमा हामी कृतज्ञ छौं । आशा छ, यहाँहरुको सहयोग विगतमाझैँ निरन्तर हुनेछ ।
यसैबीच, २०१३ साल चैत २० गते बाट सुरु भएको नेपालको सहकारी आन्दोलन ६४ औं वर्ष प्रवेश गरेको अवसरमा सम्पूर्ण सहकारीकर्मीमा हार्दिक शुभकामना समेत दिन चाहन्छौं ।
जय सहकारी !
सम्पादक, काजी श्रेष्ठ
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार