३० असार २०८३, मङ्गलबार

विशिष्टीकृत संघमा लगानी नगर्न सहकारीलाई निर्देशन

२०७७ चैत ५, बिहिबार
विशिष्टीकृत संघमा लगानी नगर्न सहकारीलाई निर्देशन

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सदस्य संस्थालाई विशिष्टीकृत सहकारी संघमा जथाभाबी लगानी गर्न बन्देज लगाएको छ । संघले आफ्ना सदस्यलाई बाहेक अन्य गैर वित्तीय क्षेत्रमा लगानी नगर्न निर्देशन जारी गरेको हो ।

सहकारी ऐन २०७४ मा विशिष्टीकृत संघमार्फत सहकारीलाई लगानी गर्ने ढोका खुला गरेको भएपनि नेफ्स्कूनले भने लगानी नगर्न निर्देशन दिएको हो । ऐन अनुसार बचत तथा ऋण सहकारीले पनि लगानी गर्न पाउँछन् । उक्त प्रावधान कै कारण धमाधम विशिष्टीकृत संघ स्थापना हुन थालेका छन् ।

सहकारी ऐन २०७४ को दफा १२५ मा भएको व्यवस्था अनुसार सहकारी संस्थाले कार्यक्षेत्र बाहिर गई कारोबार गरेमा वा गैर सदस्य कारोबार गरेमा तथा सहकारी संस्थाले ऐन विपरीत कृत्रिम व्यक्तिलाई सदस्यता दिएमा ५ लाखसम्म जरिवाना हुने व्यवस्था छ । नेफ्स्कूनले विशिष्टीकृत संघमा लगानी गर्दा उक्त प्रावधान अनुसार जरिवाना नहुने कानुनी वातावरण तयार भएपछि लगानी गर्नुपर्ने बताएको छ ।

दूध उत्पादन तथा प्रशोधन, तरकारी तथा फलफूल, आवास विशिष्टीकृत सहकारी संघलगायत स्थापना भएका छन् । उपभोक्ता, शिक्षालगायत अन्य विशिष्टीकृत सहकारी सङ्घ पनि प्रक्रियामा छन् ।

नेफ्स्कूनले जारी गरेको निर्देशन अनुसार बचत सहकारीले विशिष्टीकृत संघमा लगानी गर्नुअघि साधारण सभाबाट स्वीकृति योजना अनुसार मात्र गर्नुपर्ने छ । अब बचत तथा ऋण सहकारीले घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्न पाउने छैनन् । आफ्ना सदस्यहरूको आवश्यकतामा आधारित भई उपयोग, उत्पादन र रोजगारीमा योगदान पुग्ने क्षेत्रमा मात्रै लगानी गर्न नेफ्स्कुनले निर्देशन जारी गरेको छ । सहकारीका २५ प्रतिशत संलग्न हुन सक्ने उद्योग र व्यवसायलाई मात्रै साझा आवश्यकताका रूपमा अर्थ्याइएको छ ।

वित्तीय क्षेत्र बाहेकका क्षेत्रमा लगानी गर्दा एक वर्षभित्र प्रतिफल नआएमा अनिवार्य जोखिम खर्च व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ । स्वरोजगारी तथा मूल्य श्रृखलामा योगदान पुर्याउने वस्तुको सञ्चय, प्रशोधन, बजारीकरण र निर्यातमूलक कार्यका लागि दर्ता भएका विशिष्टीकृत सङ्घमा मात्र लगानी गर्नुपर्ने भनिएको छ ।

संस्थाको प्राथमिक पुँजी कोष र बचत अनुपात कम्तीमा एक बराबर १५ कायम गरी जगेडा कोष सेयरबाट मात्र लगानी गर्नुपर्ने छ । विशिष्टीकृत सङ्घमा लगानी गर्दा जगेडा कोषको ०.५ प्रतिशत भन्दा बढी लगानी गर्न नपाइने व्यवस्था गरिएको छ ।

अभिलेख

लोकप्रिय