३० असार २०८३, मङ्गलबार

सदस्यहरुको बिमा गर्न गाउँपालिकाको सहयोग

२०७७ भदौ २८, आईतवार
सदस्यहरुको बिमा गर्न गाउँपालिकाको सहयोग

दोलखा, २८ भदौं

तामाकोशी गाउँपालिकाका सम्पूर्ण सहकारीका सदस्यहरुको कोरोना बिमा कार्यक्रममा गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।

सहकारीहरुले गाउँपालिकाको सहयोगमा आफ्ना सम्पूर्ण सेयर सदस्यहरुको १ लाखको कोरोना बिमा गर्ने भएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ का कारण सदस्यमा पर्न सक्ने स्वास्थ्य जोखिम कम गर्न सहकारीहरुले सदस्यसँगै तामाकोशी गाउँपालिकाको सहयोगमा कोरोना बिमा गर्न लागेका हुन् ।

सहकारी सदस्य बिमा कार्यक्रममा गाँउपालिका, संस्था र सदस्यहरुको सयुक्त आर्थिक सहभागितामा रहने छ । कार्यक्रममा प्रत्येक सदस्यले १ सय, गाउँपालिकाले १ सय र संस्थाले १ सय रुपैयाँको योगदान गर्नेछन् । कार्यक्रममा सबै सदस्यको सहभागिताका लागि गाउँपालिकास्थित सहकारीहरुले संयुक्त पहलकदमी गर्ने छन् ।

भदौ २६ गते तामाकोशी गाँउपालिकामा रहेका सहकारी संस्थाका प्रतिनिधिहरुको बैठक बसी उक्त बीमा योजना तत्काल सुरु गर्ने निर्णय भएको छ । तामाकोशी गाउँपालिकका सहकारी संस्था एवम् स्थानीय सहकारीकर्मीहरुको संयुक्त पहलमा गाउँपालिकाको सहयोग सहित सहकारी सदस्यहरुको बिमा कार्यक्रम लागू गर्न लागिएको हो ।

१ लाख रुपैयाँको बिमा वापतको प्रिमियममा सरकारले बेहोर्ने ३ सय रुपैयाँ बाहेक बाँकी ३ सय तिनै पक्षले तिर्ने सहमति जुटेको हो । सहकारीका सदस्य नभएकाहरुले भने २ सय लगानी गर्नु पर्ने छ । गाउँपालिकाको उक्त निर्णयको स्थानीय सबै सहकारीकर्मीहरुले प्रशंसा गर्दै अन्य स्थानीय निकायको लागि पनि उदाहरणीय हुने दाबी गर्नुभएको छ ।

अभिलेख

लोकप्रिय