३० असार २०८३, मङ्गलबार

नेफ्स्कूनले बनायो साधारण सभा नमूना कार्यविधि, लेखापरिक्षण गर्दै गर्नुहोस् उपयुक्त निर्देशन जारी गर्छौं : रजिष्ट्रार

२०७७ भदौ २५, बिहिबार
नेफ्स्कूनले बनायो साधारण सभा नमूना कार्यविधि, लेखापरिक्षण गर्दै गर्नुहोस् उपयुक्त निर्देशन जारी गर्छौं : रजिष्ट्रार

काठमाडौं, भदौ २५

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले कोभिड महामारीको अवस्थामा सहकारीहरुको बार्षिक साधारण सभा आयोजना सम्बन्धी मस्यौदा कार्यविधि आज सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघलाई बुझाएको छ ।

नेफ्स्कूनले सबैको चासोको विषयमा सघन गृहकार्यसहित तयार पारेको ‘महामारीमा साधारण सभा सञ्चालन सम्बन्धी नमूना कार्यविधि–२०७७’ हस्तान्तरण गरेको हो ।
नेफ्स्कूनका अध्यक्ष परितोष् पौड्यालले विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे र महासंघका अध्यक्ष मीनराज कंडेललाई मस्यौदा कार्यविधि बुझाउनुभएको हो ।

यसअघि सहकारी विभागले भदौ ५ गते परिपत्रमार्फत सहकारी संघ संस्थाहरुमा अन्तिम वार्षिक लेखा परिक्षण र साधारण सभा आयोजनाको विधि र उपायका सम्बन्धमा सरोकारवालाहरुसँग नियमित अन्तरक्रिया भइरहेको भन्दै उपयुक्त निकास सहितको निचोड सार्वजनिक गर्ने जनाएको थियो ।

कार्यपत्र बुझ्दै सहकारी विभागका रजिष्ट्रार डा. पाण्डेले साधारणसभा आयोजनाको अन्योल चिर्ने विषयमा अन्तिम निष्कर्ष निकाल्न नेफ्स्कूनले तयार पारेको कार्यविधिले सहजता हुने दाबी गनुभयो ।

‘संघ संस्थाहरुलाई असोज २ गतेसम्म लेखापरिक्षण सक्नुस, त्यस बेलासम्म साधारण सभाका लागि उपयुक्त निर्देशन जारी गर्छौं, भनेका छौं’, रजिष्ट्रार पाण्डेले भन्नुभयो, ‘संस्थाले साधारण सभा नगरेपनि दण्डित नहुने अवस्था आउनुप¥यो अन्यथा जसरी पनि साधारणसभा सम्पन्न गरेको गर्नुप¥यो । महासंघबाट पनि लिखित सुझाव प्राप्त भएको छ, दुवै अध्ययन गरेर विभाग अन्तिम टुङ्गोमा पुग्छ ।’

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारी अभियानको भावना प्रतिबिम्बित हुने गरी भर्चुअल सर्वेक्षणका साथै संघको ३३ औं स्थापना दिवसको अवसरमा सदस्य संघ संस्थालाई जारी गरिएको एकीकृत मार्गनिर्देशन २०७७ मा समावेश बुँदाहरु समेतलाई मिलाएर कार्यविधि तयार पारिएको जानकारी गराउनुभयो ।

कोभिड १९ को महामारीसँगै संक्रमणको दर फराकिलो भइरहेको परिप्रेक्ष्यमा सहकारीहले सदस्यहरुको भौतिक सहभागितामा वार्षिक साधारण सभा आयोजनाका गर्न सम्भव नभएको सन्दर्भमा नियामक निकायको निर्देशन व्यग्रतापूर्वक पर्खेर बसेका छन् । यसैलाई ध्यानमा राखेर वित्तीय सहकारीहरुको छाता संगठनले सहजिकरण गर्ने उद्देश्यले नमूना कार्यविधि निर्माण गरी हस्तान्तरण गरेको हो ।

यसअघि सहकारी अभियानको छाता संगठन महासंघले पनि विभागलाई साधारण सभा आयोजना सम्बन्धी आफ्ना सुझावहरु बुझाइसकेको बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले जानकारी दिनुभयो ।

सहकारी ऐन २०७४ अनुसार सहकारी संघ संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने छ ।

 

अभिलेख

लोकप्रिय