अन्तर्राष्ट्रिय श्रमिक दिवस र सहकारी
सन्जय तिमिल्सीना
आज विश्वभरीका कामदार (मजदुर)हरुको पर्व अर्थात अधिकार प्राप्तिको विशेष दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस । विश्वमा विभिन्न नामले मनाइने यो उत्सव नेपालमा श्रमिक दिवसको रुपमा मनाइन्छ । सन् १८८६ मा अमेरिकाको सिकागो सहरमा भएको मजदुरहरुको भेलाबाट यसको सुरुवात भएको पाइन्छ जसलाई सन् १८९० देखि मे १ का दिन मनाउने गरिँदै आएको छ । यद्यपी अमेरिका र क्यानाडा जस्ता देशमा भने यो दिवस सेप्टेम्बर महिनाको पहिलो सोमबार मनाउने गरिन्छ । नेपालमा मजदुर दिवसको नाममा वि.सं.२०२० साल देखि यो दिवस मनाउन थालिएको भएतापनि लोकतन्त्र स्थापना पश्चात २०६४ सालदेखि सरकारी तहबाट नै विदा सहित मनाउने गरिएको पाइन्छ ।
जहाँसुकै जेसुकै नामले मनाइएता पनि यो मजदुरहरुले सुरक्षित कार्य वातावरणमा दैनिक ८ घण्टा काम गर्न पाउने व्यवस्थाको स्वागत, स्मरण र उक्त अधिकारको लागि सहादत प्राप्त गरेका मजदुरहरुको सम्मानमा मनाउने गरिएको हो भन्दा अत्युक्ति नहोला । कामदार अर्थात मजदुरहरुले दैनिक सुरक्षित कार्य वातावरणमा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन उनीहरुको अधिकार हो यद्यपी यो कुरा व्यावहारतः सहज छैन । विश्वका अधिकांश मुलुकमा कामदार (श्रमिक) मजदुरहरुलाई सार्वजनिक विदा दिएर र विभिन्न कार्यक्रम आयोजना गरेर यो दिवस मनाउने गरिन्छ । मजदुर संगठनका नेता, राजनीतिक दलका नेताहरुले ठुला ठुला भाषणवाजी गर्छन् र सकिन्छ दिवस । तर यस वर्ष विश्वका अधिकांश मुलुकमा श्रमिक दिवस औपचारिक कार्यक्रम, भेला, सभा, सम्मेलन, जुलुस गरेर मनाउने अवस्था छैन । त्यति मात्र होइन विश्वका अधिकांश श्रमिकहरुले यसै दिवसको दिन रोजगारी गुमाउन सक्ने अवस्था छ ।
यतिबेला विश्व कोरोनाको सन्त्रासमा लकडाउन (बन्दाबन्दी) को अवस्थामा छ । अधिकांश मुलुकका उद्योग प्रतिष्ठान र कारखानाहरु बन्दप्रायः अवस्थामा छन् । अन्तर्राष्ट्रिय श्रम संगठनले अनौपचारिक क्षेत्रका धेरै श्रमिकहरुले रोजगारी गुमाउन सक्ने प्रक्षेपण गरेको छ । संगठनको आंकडा अनुसार विनाशकारी संक्रमणका कारण ४ करोड तीस लाख व्यावसायहरु सहित अनौपचारिक आर्थिक क्षेत्रका १ अर्ब ६० करोड श्रमिक प्रभावित हुनेछन् । यसको प्रभाव कुल रोजगारीमा १० प्रतिशत भन्दा बढी क्षेत्र ओगटेको सहकारी क्षेत्र पनि कोरोना महामारीबाट प्रभावित हुने निश्चित छ । तर अन्य क्षेत्रको तुलनामा सहकारी क्षेत्रमा यस्ता बाह्य आर्थिक प्रभावहरु न्युन हुने इतिहासका घटनाक्रमबाट बुझ्न सकिन्छ । यद्यपी सन् १९३० पछिको ठुलो आर्थिक मन्दीमा विश्व अर्थतन्त्र जाँदैगर्दा यो महामारी जति लम्बिन्छ त्यतिनै आर्थिक मन्दी गहिरिने सम्भावना छ । आर्थिक मन्दी लम्बिदै गर्दा रोजगारी गुमाउनेको संख्या समेत बढ्ने छ । सहकारी विभागले आ.व. २०७३/०७४ मा नेपालमा झण्डै ३५ हजार सहकारी संस्थाहरुमा ६० हजार ५१७ जना कर्मचारीहरु प्रत्यक्ष रोजगारीमा रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । तर त्यसमा कमसेकम ५० प्रतिशत संख्या थप हुन सक्दछ । कतिपय संस्थामा बजार प्रतिनिधि (बचत संकलक), सुरक्षा गार्ड, कार्यालय सहयोगी जस्ता काममा कार्यरत कर्मचारीहरुलाई नियुक्ति पनि नदिने र कर्मचारीको रुपमा अभिलेख नगर्ने गरेको पाइन्छ । हुनत कतिपय संस्थामा छद्म कर्मचारी तयार गरेर तलब खर्च लेख्ने अभ्यास पनि यदाकदा हुने गरेको भेटिन्छ । यी दुबै अभ्यासहरु शहरी क्षेत्रमा सञ्चालित संस्थामा बढी पाइन्छ र सहकारी संस्था संख्यात्मकरुपमा शहर भित्रै बढी भएको हुनाले सहकारी संस्थामा प्रत्यक्ष रोजगारीमा रहेका कर्मचारीको संख्या यकीन हुन सकेको छैन ।
६७ लाख भन्दा बढी व्यक्तिहरु आवद्ध भएको (यसमा दोहोरो सदस्यताको कारण हुन सक्ने न्युनिकरणलाई मापन गरिएको छैन) सहकारी क्षेत्रमा अनौपचारिक श्रम गर्ने संख्या हेर्ने हो भने अधिकांश सदस्यहरु सहकारीसँग सम्बद्ध कुनै न कुनै किसिमका श्रममा संगठित छन् । हाल बजार, यातायात, उद्योगहरु ठप्प हुँदा सहकारी संस्था विशेष गरी वित्तीय कारोबार गर्ने सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको रोजगारी सुरक्षा के हुने भन्ने अनिश्चित भइरहँदा सहकारीले आफ्ना कर्मचारीहरुको रोजगारी सुरक्षाको लागि के गर्न सकिन्छ त ? सञ्चालक र कर्मचारीहरुका भूमिका के हुने भन्ने योजना बनाउन जरुरी छ । यस्तो योजना बनाउँदा देहायका विषयहरुलाई मुख्यरुपमा बिचार गरी कर्मचारीहरुको रोजगारीको सुनिश्चितता गर्नु जरुरी छ ।
१. तत्कालिक व्यावसाय निरन्तरता योजना विकास गर्ने,
२. सेवामा विविधिकरण गर्ने,
३. कार्यक्रमिक खर्चहरुको कटौती गर्ने,
४. कर्मचारीका नियमित तलब सुविधा बाहेकका सुविधाहरु पुनरावलोकन गर्ने,
५. संस्थाहरुको एकीकरण मार्फत सक्षमता वृद्धि गर्ने,
६. सदस्य विस्तार गर्ने,
७. दीर्घकालिन वित्तीय श्रोतहरुको व्यवस्थापन गर्ने,
जय सहकारी !
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार