स्थानीय तहमा सहकारी भद्रगोल : जनप्रतिनिधि
काभ्रे, २५ फागुन
स्थानीय तहले नियमन गर्न नसकेका कारण सहकारी भद्रगोल अवस्थामा पुगेको स्थानीय तहका अगुवाहरुले नै बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागले काभ्रेका स्थानीय तहसँग गरेको धुलिखेलमा आयोजना गरेको ‘स्थानीय तहमा सहकारी’ विषयक छलफल कार्यक्रममा बोल्ने जनप्रतिनिधि तथा कर्मचारीले सहकारीलाई प्राथमिकता दिन नसकेको स्वीकारको हुन् । सहकारी क्षेत्रको प्रशासनिक व्यवस्थापन गर्न असहज भएको काभ्रेका स्थानीय तहको अनुभव छ ।
देश संघीयतामा गएसँगै सहकारी दर्ता, नियमन र खारेज गर्ने अधिकार स्थानीय तहलाई छ । स्थानीय तहको मातहतमा २९ हजार, प्रदेश मातहतमा ६ हजार र एक सय १८ वटा सहकारी सहकारी विभाग अन्र्तगत छन् । स्थानीय तहले सहकारीमा ध्यान दिन नसक्दा विकृति बढ्न थालेको छ । कर्मचारी अभाव हुनुका साथै स्थानीय तहमा सहकारी उपेक्षामा पर्दा वित्तीय जोखिम बढ्दै गएको सरोकारवालाहरु बताँछन् ।
काभ्रेपलाञ्चोक जिल्ला सहकारी संघका सचिव दिलीप शर्माले तत्कालिन समयमा डिभिजन कार्यालयले एक हजार चार सय ९७ सहकारीको पोको हस्तान्तरण गरेपनि स्थानीय तहले अद्यावधिक गर्न नसकेको बताउनुभयो । काभ्रेका एक लाख ३० हजार मानिस सहकारीमा आबद्व छन् । शर्माका अनुसार फिल्डमा गएर कुन सहकारी सक्रिय छ र कुन निश्क्रिय छ भन्ने छुट्याउन समस्या भइरहेको छ । जिल्ला कृषि सहकारी संघका अध्यक्ष सुमन नेपाल र जिल्ला बहुउद्देश्यीय सहकारी संघका उपाध्यक्ष कृष्णभक्त थापाले स्थानीय सरकारले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न नसक्दा सहकारीमा समस्या बढ्दै गएको बताउनुभयो ।
मण्डनदेउपुर नगरपालिका उपप्रमुख निर्मला शाही स्थानीय सरकार आफैं अलमलमा परेका कारण सहाकारी क्षेत्रलाई व्यवस्थित गर्न नसकेको स्वीकार गर्नुहुन्छ । ‘सहकारी मात्र होइन, हामीले स्थानीय सरकार संचालन सम्बन्धी कानुनका आधार निर्माण र कार्यान्वयन गर्नुपर्ने भएकाले धेरै कुरामा अफ्ठेरो छ’ उहाँले भन्नुभयो । स्थानिय तहमा कर्मचारी अभावका कारण सबै क्षेत्रलाई महत्व दिन नसकेको उहाँको भनाइ छ ।

पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवारले सहकारी क्षेत्र उत्पादन र बजारीकरणलगायत ग्रामीण अर्थतन्त्रसँग जोडिएको भएपनि प्राथमिकतामा पर्न नसकेको बताउनुभयो । ‘सहकारी क्षेत्रका बजेट र कर्मचारी व्यवस्था गर्न सकेका छैनौं’ उहाँले भन्नुभयो, ‘पछिल्लो समयमा हामीले प्राथमिकताका आधारमा बजेट र कर्मचारी व्यवस्थापन गर्दै छौं ।’

पनौती नगरपालिकाका सहकारी रजिस्ट्रार इन्द्रप्रसाद अधिकारीले सहकारी स्थानीय तहको पहिलो प्राथमिकता बन्नुपर्ने बताउनुभयो । ‘धेरै तहमा सहकारी क्षेत्रको अनुगमन तथा निरीक्षणका लागि कार्यििध बन्ने क्रममा छ’, उहाँले भन्नुभयो । सहकारी व्यवस्थापन गर्न स्थानीय तह पूर्णरुपमा सक्षम भएको भन्दै उनले केही तहले भने वेवास्ता गरेको बताउनुभयो ।
नमोबुद्ध नगरपालिकाका सहकारी शाखा अधिकृत विमल कोइराला दर्र्ता भएका एक सय चार सहकारी मध्ये आधा मात्रै संचालनमा रहेको बताउनुभयो । ‘बाँकी सहकारी कस्तो अवस्थामा छन भन्ने जानकारी छैन’ उहाँले भन्नुभयो । कानुनी अस्पष्टता र जटिलताका कारण सहकारी क्षेत्रलाई व्यवस्थित गर्न नसकिएको उहाँको भनाइ छ ।
पाँचखाल नगरपालिका कृषि तथा सहकारी शाखा प्रमुख ईश्वरप्रसाद अधिकारीले तत्कालीन डिभिजन सहकारी कार्यालयबाट नगरपालिकाले एक सय ३७ वटा सहकारीका फाइल बुझेको भएपनि सामान्य कागजात बाहेक थप कागजात नरहेको र संस्थाको वार्षिक प्रगति विवरणलगायत तथ्यांक नगरपालिकासँग नआउने गरेको उनको गुनासो गर्नुभयो । ‘बजेट अभावका कारण अनुगमनमा समस्या छ’, उहाँले भन्नुभयो, ‘शून्य बजेटमै काम गरिरहेका छौं ।’ सहकारी क्षेत्रका लागि नगरपालिकाले बजेट नै नछुट्याइएका कारण नियमन गर्न समस्या भएको उहाँको भनाइ छ ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले योजना बिनै स्थानीय तहमा सहकारी हस्तान्तरण गर्दा भद्रगोल अवस्था आएको बताउनुभयो । समस्या समाधानका लागि सहकारी अभियान हरेक स्थानीय तहसँग समन्वय गर्न तयार रहेको उहाँको भनाइ छ ।

पत्रकारिता तालिम सम्पन्न

यसैबीच नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा दुई दिने सहकारी पत्रकारिता तालिम शनिबार धुलिखेलमा सम्पन्न भएको छ ।
तालिममा सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डे, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाई, नेपाल सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाई, समस्याग्रस्त सहकारी छानबिन समितिका पूर्व सदस्य दिपकप्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार