५ वैशाख २०८३, शनिवार

सहकारी बैंकद्वारा क्षमता अभिवृद्धि तालिम

२०७६ फागुन १२, सोमबार
सहकारी बैंकद्वारा क्षमता अभिवृद्धि तालिम

राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाको आयोजनामा सहकारी संघ सस्थाका सञ्चालकहरुका लागि आयोजित एक दिने क्षमता अभिवृद्धि तालिम सोमतबार सम्पन्न भएको छ ।

म्याग्दी, १२ फागुन

म्याग्दीमा क्रियाशिल विभिन्न विषयका सहकारीका सञ्चालकहरुलाई विद्यमान ऐन कानुन लगायत सहकारीको व्यवसायिक सफलताका लागि सञ्चालकहरुको काम कर्तव्य अधिकारका विषयमा जानकारी गराउने उदेश्यका साथ तालिमका आयोजना गरिएको बैंकले जनाएको छ ।

तालिममा सहजीकरण गर्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारी ऐन नियमको पालना गर्दै व्यवसायिक कार्यमा लाग्न सञ्चालकहरुलाई आग्रह गर्नु भयो । व्यवहारिकताका नाममा ऐन नियम विपरित गरिने कार्यले सहकारीहरुलाई समस्यामा पार्ने भन्दै उहाँले सहकारी ऐन नियमको पालना तथा सहकारी क्षेत्रमा आएका प्रविधिहरुको उपयोग गरेर अगाडि बढ्न सुझाव दिनुभयो । सहकारीको पहिलो काम सदस्यहरुको सेवा हो भन्दै उहाँले सहकारीहरुले योजना बनाउदा सदस्यको हितमा हुने कार्यक्रमहरुलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट पश्चिम नेपाल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रराज शर्मा र लोकदिप वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष प्रमिला जोशीले तालिमले सहकारीलाई अगाडि बढाउन मद्दत गरेको बताउनु भएको थियो ।

तालिमका सहभागीहरुले बेनी बजारमा सहकारी बैंकको शाखा स्थापना गर्न माग गरेका छन् । शाखा नभएका कारण सहकारीको वचत अन्यत्र राख्दा सहकारीलाई समस्या भएको भन्दै म्याग्दीका सहकारीकर्मीहरुले बैंकको शाखा बेनीमा स्थापना गर्न माग गरेका हुन् । कार्यक्रममा शाखाको अवस्थाका बारेमा शाखा कार्यालय बागलुङका प्रमुख युवराज त्रिपाठीले जानकारी गराउनु भएको थियो ।

अभिलेख

लोकप्रिय