९ असोज २०८३, शुक्रबार

महिला कल्याण नवलपरासीको टोली आदर्श सहकारीमा

२०७० चैत २४, सोमबार
महिला कल्याण नवलपरासीको टोली आदर्श सहकारीमा

बागलुङ, २४ चैत । महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्रगतिनगर नवलपरासीको एक टोलीले सोमबार आदर्श सञ्चार सहकारी संस्थाको अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष विमला अधिकारी, सल्लाहकार खिमानन्द भुषाल, प्रगति नगर गाविसका सचिव जीववाल श्रेष्ठ सहितको टोलीले धौलागिरिको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाको बारेमा जानकारी लिएको हो । अध्ययन अवलोकन गरेर विभिन्न क्षेत्रमा रहेका सहकारीका सकारात्मक पक्षको अनुशरण गर्न भ्रमण सहयोगी हुने अध्यक्ष बिमला अधिकारीले बताए ।

आदर्श सञ्चार सहकारी संस्थाका बारेमा सचिव रामबहादुर जिसीले जानकारी गराएका थिए । संस्थामा हाल ७ सय २० जना शेयर सदस्य, १ करोड ५० लाख शेयर रकम र ५ करोड लगानी रहेको उनले जानकारी दिए । सञ्चार क्षेत्रमा सहकारीको योगदान बढाउन, सञ्चारमाध्यमको संस्थागत विकासका साथै बचत तथा ऋणको कारोबार लगायत सामाजिक कार्यमा आदर्श सञ्चार सहकारीले गरेका कार्यहरुको बारेमा सो अवसरमा जानकारी गराइएको थियो ।

यस्तै महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाका बारेमा अध्यक्ष विमला अधिकारीले जानकारी गराइन । २०५६ सालमा स्थापना भएको संस्थामा हाल १ हजार २४ जना शेयर सदस्य, १ करोड ७२ लाख शेयर रकम, आफ्नै भवन रहेको उहाले जानकारी दिइन । संस्थाका सल्लाहकार खिमानन्द भुषालले प्रगति नगर गाविसलाई मुलुककै नमुना गाविस बनाउन महिला कल्याण सहकारीको महत्वपूर्ण भूमिका रहेको बताए । संस्थाले शिक्षा, स्वास्थ्य, महिला शसक्तिकरण लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको उनले जानकारी दिए ।

अभिलेख

लोकप्रिय