सहकारी प्रति विश्वास गुमेकोमा राष्ट्रपति चिन्तित
काठमाडौं । राष्ट्रपति रामवरण यादवले केही सहकारीले गरेको गलत कार्यका कारण यसप्रति सर्वसाधरणको विश्वास गुमेको बताएका छन्।
‘केही सहकारीको गलत कार्यका कारण सहकारीको विश्वास गुमेको छ,’ सहकारी महासम्मेलनको मंगलबार उद्घाटन गर्दै उनले भने, ‘अव सहकारीको गुणात्मक विकास गर्नेतर्फ लाग्नुपर्छ।’ उनले सहकारी क्षेत्रले उत्पादनशील क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउँदै यस्ता क्षेत्रले मुलुकको अर्थतन्त्रलाई सबल बनाउने बताए।
‘सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्न जरुरी भइसकेको छ’ राष्ट्रपति यादवले भने, ‘कृषि र पर्यटन क्षेत्रमा सहकारीले लगानी गर्न सके देशको अर्थतन्त्र सबल हुन्छ।’
निजी क्षेत्रसँग सहकार्य गरी गरिबी न्यूनिकरण गर्न सहकारीले भूमिका खेल्नुपर्ने राष्ट्रपति बताए। सामाजिक अर्थव्यवस्थामा सहकारीको महत्वपूर्ण हुन भएकाले त्यसतर्फ सहकारी लाग्नुपर्ने उनले बताए।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताए। सहकारीक्षेत्रमार्फत देशको अर्थ व्यवस्थामा कायपलट गर्न सकिने बताउँदै उनले समानुपातिक अर्थव्यवस्थामा सहकारीले रचानात्मक काम गर्न सक्ने बताए। सहकारीमा निम्न वर्गको प्रतिनिधित्व हुनुपर्ने भएपनि उच्च र मध्यमवर्गको हालीमुहाली भएको भट्टराईले बताए। पछिल्लो समयमा सहकारीको विकास भइरहेकोमा प्रशंसा गर्दै उनले भने, ‘सहकारी अब उत्पादन र वितरणमा केन्द्रित हुन आवश्यक छ।’
भट्टराईले सहकारीको समस्या पहिचान गर्दै समस्या समाधान गर्न सहकारी अभियान र सरकार सक्रिय हुनुपर्ने बताए।
अर्थमन्त्री रामशरण महतले सहकारी ग्रामीण क्षेत्रमा पुग्न नसकेको बताए। सहकारी ऐन २०४८ अनुरुप सहकारी स्थापना हुनुपर्ने भएपनि अधिकांश सहकारी कम्पनीअनुरुप सञ्चालन भइरहेको उनले बताए। ठूलो पुँजी हुनेले उद्योग खोल्नुपर्ने र सानो पुँजी हुनेले सहकारी खोल्नुपर्ने उनको सुझाव छ। ‘सहकारी स्वतस्फूर्त तरिकाले अगाडि आउन सक्नुपर्दछ, अनुदानको भरमा चल्न हुन्न,’ उनले भने।
सहकारी पारदर्शी हुन नसकेका कारण सहकारीमा दिनप्रतिदिन समस्या देखिदै गएको बताए। ‘सहकारी पारदर्शी हुन चाहन्न, त्यसकारण पनि समस्या बढ्दै छ,’ उनले भने, ‘सहकारीलाई सही बाटोमा ल्याउन अनुगमनलाई प्रभावकारी ढंगले सञ्चालन गरिनुपर्छ।’
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सहकारीमार्फत प्रशस्त उत्पादन वृद्धि गर्न सकिने बताए। ‘देशको व्यापार घाटा कम गर्न सहकारीले लगानी बढाउन जरुरी छ,’ उनले भने, ‘कृषिमा लगानी गर्न सके सहकारीले छिट्टै गति लिन्छ।’
मुख्य सचिव लीलामणि पौड्यालले छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सहकारी उपयुक्त माध्यम भएको बताए। ‘सहकारीमार्फत रचनात्मक क्षेत्रमा लगानी गर्न सके स्वालम्बन अर्थतन्त्रको विकास हुन सक्छ,’ उनले भने, ‘उत्पादन र उत्पादकत्व वृद्वि गर्न सहकारीले विशेष चासो दिनुपर्छ।’
अन्तराष्ट्रिय सहकारी महासंघका अध्यक्ष डेम पाउलिन ग्रीनले यो शताब्दी महिलाहरुको शताब्दी भएको भन्दै सहकारीमार्फत उनीहरुको आर्थिक विकासमा जोड दिनुपर्ने बताए। उनले विश्वका अधिकांश देशमा सहकारीले उल्लेख्य काम गरेको र नेपालमा पनि त्यसको शुरुवात भएकोमा खुसी व्यक्त गरे। महासम्मेलनको उद्घाटन गरी हजारौं सहकारी कर्मीले विभिन्न क्षेत्र परिक्रमा गरीय र्याली गरेका थिए। महासम्मेलनको दोस्रो र तेस्रो दिन विभिन्न व्यक्तिको कार्यपत्र प्रस्तुत हुने छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार