२७ असोज २०८३, मङ्गलबार

सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा

२०८३ असोज २७, मङ्गलबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा

काठमाडौं : सहकारीका सदस्यले अब एटीएम कार्डबिनै मोबाइल एपको सहायताले एटीएम मेसिनबाट नगद निकाल्न सक्ने भएका छन्। सहकारी मोबाइल बैंकिङ एप आईस्मार्टले सुरु गरेको कार्डलेस नगद झिक्ने सुविधाले सदस्यलाई मोबाइलबाटै एटीएम कारोबार गर्ने विकल्प उपलब्ध गराएको छ। यो सुविधाले सहकाहरुले एटीएम कार्ड जारी गर्नुपर्ने, मेसिन राख्नुपर्ने बाध्यता हटाएको छ।

आईस्मार्टका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनका अनुसार हाल यो सुविधा ग्लोबल आइएमई बैंकका देशभर रहेका एटीएमबाट प्रयोग गर्न सकिन्छ। ग्लोबल आइएमई बैंकका देशभर ३६६ वटा एटीएम मेसिन रहेको छ। आगामी दिनमा अन्य बैंक तथा वित्तीय संस्थाका एटीएमबाट समेत रकम निकाल्न सकिने गरी सेवा विस्तारको काम भइरहेको उहाँले बताउनुभयो । केही समय भित्रै अन्य बैंक तथा वित्तीय संस्थाहरुको एटीएम मेसिनबाट पनि रकम निकाल्न मिल्ने उहाँले बताउनुभयो ।

अब आई स्मार्ट डिजिटल बैंकिङ प्रयोग गर्ने ८०० भन्दा बढी सहकारी संस्थाका ३ लाख ५० हजारभन्दा बढी सदस्य तथा सेवाग्राहीहरूलाई यो सुविधा दशैं लगत्तै उपलब्ध हुने महर्जनले बताउनुभयो।

यो वर्ष आधा दर्जन बैंक तथा वित्तीय संस्थाका नेपालभर रहेका हजारभन्दा बढी एटीएम मेसिनबाट सेवा उपलब्ध गराउने लक्ष्य कम्पनीले लिएको छ।

कार्ड होइन, क्यूआर र ओटीपीबाट नगद
आईस्मार्टको कार्डलेस सेवामा भौतिक एटीएम कार्डको सट्टा मोबाइल एप, क्यूआर कोड र ओटीपी प्रयोग गरिन्छ। यसका लागि एटीएम मेसिनमा रहेको ‘कार्डलेस’ विकल्प छनोट गरी निकाल्न चाहेको रकम प्रविष्ट गर्नुपर्छ।

त्यसपछि मेसिनको स्क्रिनमा देखिने क्यूआर कोड आईस्मार्ट एपबाट स्क्यान गर्नुपर्छ। स्क्यानपछि मोबाइलमा प्राप्त हुने ओटीपी एटीएम मेसिनमा प्रविष्ट गरेपछि नगद निकाल्न सकिन्छ।

सहकारीको डिजिटल सेवामा थप विस्तार
सहकारी क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढेसँगै सदस्यलाई उपलब्ध गराइने वित्तीय सेवासमेत विस्तार हुँदै गएका छन्। मोबाइल बैंकिङ, डिजिटल भुक्तानी र एपमार्फत वित्तीय कारोबार गर्ने अभ्यासलाई थप सहज बनाउने क्रममा कार्डबिनै एटीएमबाट नगद निकाल्न सकिने सुविधा थपिएको हो।

 

नेपालमै पहिलो पटक सहकारी सदस्यलाई इन्टरनेटबिनै डिजिटल बैंकिङ, iSmart को निःशुल्क USSD सेवा

अभिलेख

लोकप्रिय